काठमाडौं- चीनको तिब्बतबाट स्याउ बोकेर आएको कन्टेनरमा १० करोड रुपैयाँ बराबरको २३ किलो सुन फेला परेको छ। सिन्धुपाल्चोकको तातोपानीबाट आएको ना३ख ५०५८ नम्बरको कन्टेनर नेपाल प्रहरी र सशस्त्र प्रहरीका दर्जनौं चेकप्वाइन्ट छलेर भक्तपुरको जगाती आइपुगेपछि चालक सिटनजिकै प्लास्टिकमा बेरेर राखेको अवस्थामा सुन फेला परेको हो।
चालक सिटको दाहिनेतिर फ्लस बटम (लुकाउने गोप्य स्थान) मा राखिएको अवस्थामा एक किलो दरका २३ वटा सुनका बिस्कुट फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख विकास श्रेष्ठले बताए।
उनका अनुसार भन्सारले जाँच गरी लाहाछाप लगाएकाले कन्टेनरको भित्री भाग प्रहरीले खोल्न सकेको छैन। प्रहरीले राजस्व अनुसन्धान विभागलाई जगाती प्रहरी वृत्तमै बोलाए पनि उनीहरू नआएपछि मंगलबार बेलुका लाहाछापसहितको कन्टेनर नै बुझाएको छ।
प्रहरीले कन्टेनर चालक बुद्धिबहादुर श्रेष्ठ, सहयोगी अमीत श्रेष्ठ र कन्टेनरमा रहेका राजबहादुर कार्कीलाई पक्राउ गरेको छ। सुनधनी भने खुलाउन सकेको छैन। प्रहरी हिरासतमा रहेका तीनै जनाले 'एक चिनियाँ नागरिकले एक लाख रुपैयाँ दिने भन्दै तिब्बतको खासामै आएर सुन दिएको' बयानमा बताएका छन्। ती चिनियाँ नागरिकको नाम खुल्न सकेको छैन।
'ती चिनियाँले कोटेश्वर पुगेपछि सुन लिन आउने व्यक्तिले आफैं फोन गर्छ भनेका थिए,' पक्राउ परेकाहरूको बयान उद्धृत गर्दै प्रहरी अधिकारीले भने, 'उनीहरूले सुन पठाउने चिनियाँ र सुन लिन आउने नेपाली दुवैको नाम खुलाएका छैनन्।'
स्याउ मगाउने भन्सार प्रज्ञानपत्रमा व्यापारीको नामसमेत उल्लेख छैन। पक्राउ परेकाहरूले फुल्देन नाम गरेका व्यक्तिले स्याउ मगाएको बताएका छन्। गाडीको ब्लुबुक फेला नपरेकाले प्रहरीले अहिलेसम्म गाडीधनी पनि खुलाउन सकेको छैन।
कन्टेनरको स्याउ कालिमाटी बजारमा जाने गरी तातोपानी भन्सारले प्रज्ञापनपत्र दिएको छ, तर सम्बन्धित आयातकर्ताको नाम उल्लेख नहुनुले उक्त सुन सेटिङमै काठमाडौं ल्याउने प्रयास भएको प्रहरी निष्कर्ष छ।
सुनको बजार माग सरकारी कोटाभन्दा दोब्बर हुँदा पनि तस्करीकै कारण सरकारी कोटा बिक्री हुन सकेको छैन। सरकारले दैनिक १५ किलो सुन बिक्री गर्न पाउँछ। उक्त सुन बिक्री नभई विभिन्न वाणिज्य बैंकमा ४ सय किलोभन्दा बढी थन्किएको अवस्थामा छ। यसले दैनिक ४० किलो माग भएको बजारमा अभावको स्थिति भने देखिएको छैन। प्रहरीले यही मंसिरभित्रै ४२ किलो तस्करीको सुनसहित कारोबारी पक्राउ गरिसकेको छ। तर, ती सबै तस्करीका सहयोगी मात्र हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाले मंसिर १४ मा दुई किलो अवैध सुनसहित आरके ज्वेलर्सका कामदार सन्नी श्रेष्ठलाई पक्राउ गरेको थियो। यो अनुसन्धान अहिलेसम्म सन्नीमै सीमित छ।
मंसिर १६ मा केन्द्रीय अनुसन्धान ब्युरोले बौद्ध, फूलबारीको एक किराना पसलमा छापा मारेर दुई किलो सुनसहित दालाक्पा शेर्पालाई पक्राउ गरेको थियो। उक्त सुन प्रकरणको अनुसन्धान पनि शेर्पाभन्दा अगाडि बढ्न सकेन।
अपराध महाशाखाले नै मंसिर २० मा १५ किलो सुनसहित नक्साल भगवतीबहालबाट पाछेङ खाम्बालाई पक्राउ गरेको थियो। खाम्बा तस्करीको सुन काठमाडौंमा स्टोर गरेर बिक्रेतासम्म पुर्याउन सक्रिय दोस्रो तहका कारोबारी रहेकोसम्म खुलाउन सके पनि प्रहरी अनुसन्धान खाम्बाबाट अगाडि बढ्न सकेन।
त्यस्तै, खासा हुँदै काठमाडौं भिœयाएको ३६ किलो सुन बाटैमा लुटिएको सूचना पनि प्रहरीसम्म आइपुगेको छ। उक्त घटनामा प्रभावकारी अनुसन्धान हुन सकेको छैन।