डडेल्धुरा– चुरे क्षेत्रमा भइरहेको वन तस्करीलाई सघाएको भन्दै जिल्ला वन कार्यालय डडेल्धुराले दुई सहायक वन अधिकृतलाई निलम्बन गरेको छ। सेक्टर वन कार्यालय जोगबुढामा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसी र आलिताल इकाला वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत दानबहादुर श्रेष्ठलाई निलम्बन गरिएको वन अधिकृत कृष्ण भट्टले बताए।
‘तस्करीमा संलग्न रहेको आशंका छ,' भट्टले भने, ‘दुवै जनाले प्रमाण लुकाउन र नष्ट गर्न सक्ने भएका कारण छानबिन हुँदासम्मका लागि निलम्बन गरिएको हो।' दुई साताअघि अख्तियार दुरुपयोग अनुसंधानको टोलीले तस्करी हुन लागेको अवस्थामा आलिताल इलाका वन कार्यालयनजिक ठूलो मात्रामा सालको काठ बरामद गरेको थियो।
चुरे क्षेत्रबाट हुने तस्करीमा यी दुई कर्मचारीको मिलोमतो रहेको आरोप स्थानीयले समेत लगाउँदै आएका छन्।