विना कार्कीले वसन्तपुर क्षेत्रमा क्यूरीयो सामान बेच्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो। गुडलकको संकेत मानिने मण्डला, कंकाल, सिङगिङ बल लगायतका थुप्रै सामग्री बेच्दै आएकी कार्की यतिबेला आफैंलाई भने ब्याडलक लागेको सुनाउँछिन्।
‘थुप्रै गुडलकका सामग्री बेच्यौं,’ उनले भनिन्, ‘तर कोरोना र लकडाउनको कारण अहिले हामी आफैं ब्याडलकमा छौं।’ यो उनको मात्र हैन, यस क्षेत्रमा एक सयको हाराहारीमा रहेका सबै पसलेको साझा समस्या हो। विदेशी पर्यटकलाई लक्षित गरेर राखिएका क्यूरियो पसल पर्यटकको आगमन ठप्प हुँदा उनीहरूको आर्थिक अवस्था निकै बिग्रिएको छ।
‘सुरुका २० महिना त घरमै बस्यौं,’ चार दशकभन्दा पुरानो पुख्र्यौली पसल सम्हाल्दै आएका सुरेश शाही भन्छन्, ‘अहिले हामी कहिल्यै नभोगेको समस्या भोग्दै छौं।’ लकडाउन खुलेपछि नयाँ सोचका साथ पसल सञ्चालन गर्न थालेका उनी नयाँनयाँ भेरियन्टले अत्याउन भने नछाडेको सुनाउँछन्। ‘जसरी पनि अगाडि बढ्नु पर्दोरहेछ,’ उनले भने, ‘व्यापार अगाडि बढ्ने आशामा हामी पसल थापेर बसेका छौं।’
एविसिडी आउँदैन अंग्रेजी फरर...
वसन्तपुरमै पसल राख्दै आएकी लक्ष्मी खत्रीलाई एविसीडी अझै राम्रोसँग आउँदैन। तर, उनी अंग्रेजी भने फरर बोल्न सक्छिन्। विदेशी पर्यटकसँग व्यापार गर्नुपरेका कारण अंग्रेजी मात्र हैन, स्पेनिस, इटालियन र जर्मन भाषा समेत बोल्दै आएकाे उनी बताउँछिन्।
‘अहिले त विदेशी पर्यटक नआउँदा भाषा नै भुल्न थालिसके,’ उनले भनिन्, ‘पाहुनाहरुको मुख नदेखको नि निकै भइसक्यो।’ विदेशी पर्यटकको आगमनमा गुलजार हुने यो क्षेत्र अहिले उनीहरूको पर्खाइमा मुर्झाइरहेको छ।
निराशाको बादलमा आशाको घेरा
विदेशी पर्यटकको आगमन ठप्प भएको समयमा नेपालीले समुदाय क्यूरियो सामानप्रति आकर्षित हुँदा व्यवसायीले थोरै भने पनि बाटो भने पाएका छन्। ‘सोचेजस्तो व्यापार त छैन,’ सुरेश सुनाउँछन्,‘तर बाँच्ने आशा भने पलाएको छ।’
यस्तै धारणा राख्छिन् विना पनि। उतिबेला दैनिक २० हजारको हाराहारीमा व्यापार हुने गरेकोमा अहिले ५ हजारको हाराहारीमा भने हुने गरेको उनले सुनाइन्। ‘केटाकेटी पाल्न सक्ने भएका छौं,’ उनले भनिन्, ‘व्यापार बढ्दै जाला भन्ने आशामा छौ।’ समयसँगै गुडलक किन्नेहरू फेरि आउने र आफ्नो ब्याडलक जानेमा उनी आशावादी छिन्।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...