काठमाडौं- वन मन्त्रालयअन्तर्गत सञ्चालित 'बहुसरोकारवाला वन कार्यक्रम' (एमएसएफपी) मा तालिमका नाममा करोडौं अनियमितता भएको खुलासा भएको छ। विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित १६ अर्ब रुपैयाँ बजेटको उक्त कार्यक्रम सञ्चालनका लागि सक्षम भनेर छानिसकिएका संस्थालाई नै फेरि तालिम दिन भन्दै ५/६ करोड रुपैयाँ खर्च गरिएको विश्वस्त स्रोतले जानकारी दिएको छ।
'आयोजना सञ्चालनका लागि प्रस्ताव मागेर सक्षम ठहर गरिसकिएका संस्थाका प्रतिनिधिलाई पुनः तालिम दिन भनेर रकम खर्च गर्नु सिधै भ्रष्टाचार हो,' मन्त्रालय सम्बद्ध उच्च स्रोतले नागरिकस"ग भन्यो।
स्रोतका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि संस्था छनोटमा समेत ठूलो रकम कमिसन लेनदेन भएको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।
बैंककमा केन्द्रीय कार्यालय रहेको 'क्षेत्रीय सामुदायिक वन तालिम केन्द्र' ले ती संस्थाका प्रतिनिधिलाई तालिम दिइरहेको छ। 'केही तालिम पूरा भइसके, केही जारी छन्', स्रोतले भन्यो, 'नियमअनुसार एकपटक काम गर्न सक्षम भनेर छानिसकेपछि फेरि तालिम भनेर कार्यक्रमको बजेट खर्च गर्न पाइँदैन।'
तालिम सुरु हुनु वर्षदिनअघि भैरहवामा एमएसएफपी स्टेयरिङ कमिटी बैठकमा समेत यो मुद्दा उठाइएको थियो। 'कार्यक्रमका पदाधिकारीले यसलाई सच्याउनै चाहेनन्,' बैठकमा सहभागी एक अधिकारीले नागरिकस"ग भने, 'जबर्जस्ती तालिम सुरु गरिनुमै गडबडी देखिन्छ।' स्रोतका अनुसार शुक्रबार पोखरामा स्टेयरिङ कमिटीको बैठक बस्दैछ।
यो कार्यक्रम सरकार, बेलायत सहयोग नियोग (डिफिड), फिनल्यान्ड र स्विस विकास सहयोग नियोगको बहुपक्षीय सहयोगमा ०६८ मा सुरु भएको हो। यसमा सरकारको ८ प्रतिशत मात्र छ भने सबैभन्दा बढी डिफिडको अनुदान छ।
परियोजना सञ्चालनका लागि स्टेयरिङ कमिटीले दुई वर्षअघि ६ वटा गैरसरकारी संस्था छनोट गरेको थियो। एमाले कोटामा अमेरिकाका लागि राजदूत सिफारिस अर्जुन कार्की नेतृत्वको ग्रामीण पुनःनिर्माण नेपाल (आरआरएन) ले १३ करोड २८ लाख, घनश्याम अवस्थी नेतृत्वको इकार्ड्सले १३ करोड २४ लाख, पोखराको लिबर्डले १२ करोड २२ लाख, रुपान्तर नेपालले २३ करोड ४४ लाख, एमालेको कोटामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका डा. दिनेशचन्द्र देवकोटा नेतृत्वको आइडिएसले ११ करोड रुपैयाँ बजेटका परियोजना सञ्चालन गरिरहेका छन्।
यी सबै संस्थाका नेतृत्वमा वामपन्थीनिकट व्यक्ति छन्। कार्यक्रमले यी सबै संस्थाका प्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिम दिइरहेको छ।
कार्यक्रमका दातृ निकायतर्फबाट प्रमुख रामु सुवेदीले छनोट गरिएका संस्थाले स्थानीय तहमा छानेका संस्थाका प्रतिनिधिलाई तालिम दिइरहेको बताए। 'छनोट भएका संस्थालाई टेवा दिन यो तालिम दिइएको हो', उनले नागरिकसँग भने।
सुवेदीले 'सामूहिक अभियान' नामक नेपाली संस्थाले तालिमको नेतृत्व लिएको र त्यसलाई बैंककस्थित संस्थाले सघाइरहेको जानकारी पनि दिए। यसमा डेढ करोड रुपैयाँ हाराहारी मात्र खर्च हुने उनले जानकारी दिए।
दुई वर्षअघि उल्लिखित संस्था छनोट गर्दासमेत कार्यक्रमसम्बद्ध व्यक्तिले प्रत्येक संस्थाबाट १०/१० लाख रुपैयाँ कमिसन लिएको उजुरी अख्तियारमा परेको थियो। अख्तियारले पुस १६ गते मात्र दातृसंस्थाको प्रतिनिधित्व गर्ने कार्यक्रम सहयोग इकाइ (एसएसयु) का प्रमुख सुवेदीसहित अधिकारीसँग यसबारे चार घन्टा बयान लिएको थियो।
पहिलो बयानपछि आयोजना सञ्चालन गर्दै आएका सबै संस्थाको काम र प्रभावकारिता स्थलगत अध्ययन गर्ने तयारी भएको अख्तियार स्रोतले जनायो।
सुवेदी भने कार्यक्रमका दातामध्ये एक दातृसंस्था स्विस विकास सहयोग नियोग (एसएसयु) को टेन्डर प्रक्रियाअनुसार नै संस्था छनोट गरिएको बताउ"छन्। 'राजनीतिक आस्थाका आधारमा संस्था छानेका होइनौं', उनले भने, '६ वटै संस्था छनोट एसएसयुले गरेको हो।'
छनोटमा परेका संस्थाले पहिलो चरणमा २३ जिल्लामा कार्यक्रम चलाइरहेका छन्। उनीहरु आफैंले काम नगरी स्थानीय तहका गैरसरकारी संस्थालाई परियोजना बाँडेका छन्। 'कार्यक्रम सुरुमै गलत तरिकाले डिजाइन गरियो। मुख्य संस्थाहरुको काम बीचमा बसेर कमिसन खाने मात्र देखिन्छ,' वन मन्त्रालयका एक अधिकारीले भने।
बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गतको नवीनतम कार्यक्रम कोष (इनोभेसन फन्ड) बाट पनि विभिन्न शीर्षकमा जथाभावी रकम बाँडिएको स्रोतले जानकारी दियो। 'एक वर्षअघि करिब दुई दर्जन संस्थालाई १५ देखि ५० लाख रुपैयाँ बा"डिएको छ तर अधिकांशले चलाएका कार्यक्रम सन्तोषजनक छैनन्,' स्रोतले भन्यो।
बहुसरोकारवाला वन कार्यक्रममा कतिसम्म राजनीति भएको छ भन्ने संस्था छनोटकै एक उदाहरणले प्रस्ट पार्छ।
मन्त्रालयस्रोतका अनुसार ६ वटा संस्था छनोट गर्दा जनकपुरको जानकी महिला जनचेतना समाज पनि छानिएको थियो। 'पछि बाराको एउटा संस्थालाई त्यस संस्थाविरुद्ध उजुरी हाल्न लगाएर खारेज गरे,' स्रोतले भन्यो, 'भित्री कुराचाहिँ नेतृत्वको राजनीतिक झुकाव फरक देखेर त्यो संस्था फालिएछ,' स्रोतले भन्यो।
उच्च स्रोतका अनुसार कार्यक्रमको स्टेयरिङ कमिटीमा रहेका सामुदायिक वनउपभोक्ता महासंघ र एमालेनिकट गैरसरकारी संस्था महासंघले समेत यही बजेटमा अनधिकृत रुपमा कार्यक्रम सञ्चालन गरिरहेका छन्।
विपन्न तथा पछाडि परेका/पारिएका मानिसको जीविकोपार्जनमा सुधार ल्याउने तथा वहन क्षमता बढाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमलाई सबैभन्दा बढी सहयोग रकम डिफिडले दिएको छ। पहिलो चरणअन्तर्गत ६ अर्ब रुपैयाँ छुट्ट्याइएको छ। यो रकम ०७१ सालभित्र खर्च गरिसक्नुपर्नेछ। 'रकम खर्च नहुने देखिएपछि पहिलो चरणको अवधि डेढ वर्ष बढाउने तयारी भइरहेको छ,' वन मन्त्रालय स्रोतले भन्यो।
छुट्ट्याइएको रकममध्ये ८३ प्रतिशत रकम दातृसंस्थामार्फत खर्च हुने गरेको छ। जसको लेखा परीक्षण नेपाल सरकारबाट हुँदैन। बा"की १७ प्रतिशत मात्र सरकारी प्रतिनिधिले खर्च गर्न पाउ"छन्। दोस्रो चरणमा १० अर्ब रुपैयाँ खर्च गर्ने कार्यक्रमको लक्ष्य छ।
कार्यक्रम सञ्चालनका लागि दुइटा युनिट बनाइएको छ। सरकारको प्रतिनिधित्व हुने गरी कार्यक्रम संयोजकको कार्यालय (पिसिओ) र दाताका तर्फबाट कार्यक्रम सहयोग इकाइ (एसएसयु) बनाइएको छ। ८३ प्रतिशत रकम एसएसयुमार्फत खर्च हुन्छ। त्यसको २० प्रतिशत एसएसयुले सिधै भुक्तानी गर्छ।
कार्यक्रम स्टेयरिङ कमिटीको अध्यक्षता वन सचिवले गर्ने व्यवस्था रहे पनि त्यो समेत प्रभावकारी छैन। पिसिओको भूमिका पनि प्रभावहीन छ। 'सरकारको भूमिका कमजोर बनाउने गरी यो कार्यक्रम तयार गरिएको छ। यसले मुलुकलाई फाइदा दिँदैन,' मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने। ती अधिकारीका अनुसार वन मन्त्रालयको वैदेशिक सहयोग महाशाखासँग यो कार्यक्रमको कुनै पनि सम्बन्ध रहँदैन। पिसिओ प्रमुखका रुपमा रहने सह–सचिव तहका अधिकारीले अध्यक्षको हैसियतमा सिधै मन्त्रालयका सचिवसँग समन्वय गर्छन्। 'यसले संस्थामा सरकारको उपस्थित लगभग शून्य छ,' उनले भने।