चितवन- चितवनको शक्तिखोरस्थित चुनखानी उत्खननले ऐतिहासिक उपरदाङगढी किल्ला र बस्ती जोखिममा पारेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी विरोधमा उत्रिएको छ। उनीहरूले उत्खनन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
स्टारलाइन प्रालिले खानी रहेको कोलार पहाडमा किल्लाभन्दा ५ सय मिटरनजिक उत्खनन गरिरहेको छ। उत्खननस्थलनजिकै विद्यालय र शक्तिखोर, पिठुवा र जुटपानी क्षेत्रको खानेपानी स्रोत कयरखोलाको मुहान पनि छ। संक्रमणकालीन समयमा खानीलगायत प्राकृतिक स्रोत उत्खननको जिम्मा कसैलाई दिन नहुने माओवादी जिल्ला इन्चार्ज चिरन पुनको तर्क छ।
स्टारलाइन प्रालिका प्रबन्धनिर्देशक एवं कांग्रेसका पूर्व जिल्ला सभापति विकास कोइराला भने बस्ती, किल्ला र खोलालाई असर नपर्ने गरी प्राविधिक प्रतिवेदन र स्थानीयको सहमतिका आधारमा चुनखानी उत्खनन गरिएको दाबी गर्छन्। 'ऐतिहासिक किल्ला, पौवा, मठ मन्दिरभन्दा ५० मिटर पर उत्खनन गर्न पाइने नियम छ। उपरदाङगढी किल्ला उत्खनन क्षेत्रभन्दा ५ सय मिटर टाढा छ,' उनले भने। खानी तथा भूगर्भ विभागले आफूहरूलाई २०५३ सालमै उत्खनन अनुमति दिएको कोइरालाको भनाइ छ। खानी क्षेत्रमा घर पर्नेहरूलाई उचित प्रबन्ध गरिसकिएको उनले बताए।
चेपाङ अधिकारका क्षेत्रमा कार्यरत नागरिक अगुवा सोमत घिमिरे स्थानीयको जनजीवन प्रभावित हुने गरी खानी उत्खनन गर्न नहुने बताउँछन्। 'आइएलओ महासन्धिअनुसार खानीक्षेत्र उत्खननअघि स्थानीयको हित र स्वीकृति मुख्य विषय हुन्छ। अहिले उत्खनन भइरहेको ठाउँ आदिवासी चेपाङको बस्ती हो,' उनले भने।
शक्तिखोर गाविसका निवर्तमान अध्यक्ष गोपी श्रेष्ठ चैत महिनासम्म काम गरेपछि त्यसको प्रभावका आधारमा थप उत्खनन गर्न दिने–नदिनेबारे स्थानीय सहमत रहेको बताउँछन्। भूगर्भ विभागबाट दैनिक १ सय ६५ टन चुन ढुंगा निकाल्न पाउने स्वीकृति स्टारलाइनलाई छ। ०५८/५९ सालमा १५ सय मेटि्रकटन चुन ढुंगा निकालेपछि तात्कालिक राजनीतिक परिस्थितिका कारण रोकिएको कामलाई अहिले निरन्तरता दिइएको कोइरालाले बताए। एक टन चुनढुंगाको विभागलाई १२ रुपैयाँ राजस्व र जिविसलाई त्यसको १० प्रतिशत विकास शुल्क तिर्नुपर्छ।
प्रालिले गत जेठबाट उत्खनन सुरु गरेको थियो। अहिलेसम्म १५ सय टन हाराहारी चुनढुंगा निकाले पनि बेच्न नपाएको कोइरालाले बताए। 'प्रक्रिया पूरा गरेर, स्थानीयको सहमति लिई राज्यलाई राजस्व तिरेरै काम गरेका हौं, त्यसलाई राजनीतिक मुद्दा बनाउन हुँदैन,' उनले भने। उक्त क्षेत्र २०१८ सालअघि चितवनको सदरमुकाम थियो। दुई दशकअघि बहादुर शाहले किल्ला स्थापना गरेका हुन्।