काठमाडौं- करिब १८ करोडमा सार्क सम्मेलनलाई तयार भएको राष्ट्रिय सभागृह सरकारको रोहवरमा सञ्चालन गर्न सकिने भएको छ। महानगरपालिकाको कमजोर व्यवस्थापनले सभागृह बिग्रने भन्दै प्रतिवेदनले आइतबार यस्तो सिफारिस गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सचिव शान्तराज सुवेदीको संयोजकत्वमा गठित समितिले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महत्वका कार्यक्रम सञ्चालन गर्ने गरी प्रतिवेदन मुख्यसचिव लीलामणि पौडेललाई आइतबार बुझाएको छ। प्रतिवेदनले महानगरपालिकाका प्रमुख तथा कार्यकारीको अध्यक्षतामा स्टेरिङ समिति गठन गर्ने र सो समितिले निर्देशिका बनाएर सभागृह सञ्चालन हुने उनले बताए।
महानगरपालिकाको हेलचेक्र्याइँबाट सभागृहको लगानी खेर नजाओस् भनेर यस्तो प्रस्ताव भएको उनले बताए। समितिमा सहरी विकास मन्त्रालयका सहसचिव, स्थानीय विकास मन्त्रालयका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक र सभागृह हेर्ने महानगरपालिकाका विभागीय प्रमुखहरु सदस्य रहने उनले बताए। 'सरकारको रोहवरमा रहेर सभागृहमा कार्यक्रम सञ्चालन गर्न प्रतिवेदनले सिफारिस गरेको छ,' उनले भने, 'प्रतिवेदन केही दिनमै सहरी विकास मन्त्रालय पुग्नेछ। स्टेरिङ कमिटीले निर्देशिका बनाएर त्यसको भाडा, कार्यक्रमको स्तर लगायत व्यवस्था हुनेछ।'
सचिव सुवेदीका अनुसार स्टेरिङ कमिटीले कार्यक्रम गर्दाको मूल्य पनि निर्धारण गर्नेछ। सरकारका कार्यक्रमलाई निःशुल्क वा केही छुटमा पनि आयोजना गर्न सकिने प्रतिवेदनले प्रस्ताव गरेको उनले बताए।
मुख्य सचिव पौडेलले प्रतिवेदलाई मन्त्रालयले केहीदिनमै आवश्यक परामर्श गरेर मन्त्रिपरिषदमा बुझाउने नागरिकलाई बताए। 'यो मात्र प्रस्ताव हो, यसमा केही थपघट गरेर मन्त्रालयले मन्त्रिपरिषदमा लैजान्छ, त्यसपछि अन्तिम निर्णय मन्त्रिपरिषदबाट हुन्छ,' उनले भने।
थपिएको संरचनाले साधारण कार्यक्रमका लागि सभागृह नसुहाउने उनले बताए। 'अन्तर्राष्ट्रिय बैठक तथा सम्मेलन र अन्य ठूला कार्यक्रम सञ्चालन गर्न मात्र यो दिन सकिन्छ,' उनले भने, 'पहिलाजस्तो विवाह, कम्पनीको वार्षिक साधारणसभा गर्नका लागि यो योग्य हुने छैन।'
काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको हल सार्क सम्मेलनपछि 'सञ्चालन कसले गर्ने भन्ने' विवाद थियो। सरकारले महानगरपालिकाको भर नपरी आफ्नै लगानीमा स्तरोन्नति गरेपछि मंसिर १४ गते प्रतिवेदन बनाउन समिति गठन भएको थियो।
सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेयता सभागृहमा ताला लगाइरहेको छ। दैनिक एक कर्मचारी खटाएर विभागले हलमा सफाइ गरिरहे पनि भित्र कतिपय संरचना सफा हुन नसकेको महानगरपालिकाका केही कर्मचारीले बताए। सम्मेलन मंसिर १० र ११ मा सभागृहमा सम्पन्न भएको थियो।
२०५८ मा सभागृह, रानीपोखरी र बालाजु बाइसधारा सरकारले महानगरपालिकालाई हस्तान्तरण गर्दा १ सय ३७ कर्मचारीसमेत हस्तान्तरण भएका थिए।