इलाम- मानव बेचविखन विश्वव्यापी समस्या बनिरहेका बेला त्यसप्रति सचेत गराउन इलाममा चेतनामूलक म्याराथन दौड निकालिएको छ। भारतीय सीमावर्ती जिल्ला भएकाले इलामबाट पनि महिला तथा बालबालिका बेचिनसक्नेप्रति चनाखो हुँदै दौडमा सहभागी एक हजार हाराहारीले सचेतना अपनाउन आग्रह गरेका हुन्।
सरमुकामस्थित जुविलेन्ट इलाइट एकेडेमीमा रहेको एसयुपीडब्लु क्लवको आयोजनामा विद्यार्थीले चेतनामूलक म्याराथन दौडको आयोजना गरेका हुन्। सोमबार बिहान निकालिएको दौडमा करिब एक हजार जनाको सहभागिता थियो। उनीहरु सन्देशमूलक प्लेकार्ड बोक्दै दौडमा निस्केका थिए।
राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले उद्घाटन गरेको म्याराथनमा व्यवसायिक धावक, फुटबल र अन्य खेलमा संलग्न खेलाडी, विद्यार्थी, प्रहरी, सैनिक, सामाजिक संघसंस्थाका सदस्य, कर्मचारी व्यापारी आदिको सहभागिता थियो।
'महिला र बालबालिका बेचविखनविरुद्ध लेखिएका प्लेकार्डसहित विद्यार्थीले बजार गर्दै र्याउली निकाल्नु राम्रो कुरा होऽ' खड्काले भने, 'यस्तो अभियानले विकृति रोक्न सघाउँदै समाजलाई सभ्य बनाउन सहयोग पुर्याकउँछ।' टुडिखेलबाट सुरु म्याराथन दौड, जिरो किलोमिटर, धोविधारा हुँदै चोकमा टुंगिएको थियो।
सन् २०१४ भित्रै पशुपतिनगरस्थित माइती नेपाल आवधिक गृहले ८८ जना बालबालिका सीमा नाकाबाट उद्धार गरेको थियो। भरखरै पनि झापाको काँकरभिट्टाबाट भारततर्फ लगिँदै गरेको धेरै बालबालिकालाई उद्दार गरिएको थियो। विद्यालयले यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।