काठमाडौं- वैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारसँग निशुल्क टिकट र भिसामा पैसा उठाएको भन्दै शनिबार उड्ने तयारीमा रहेका २ सय ३३ जना कामदारको अन्तिम श्रम स्विकृति रोकिदिएको छ।
सिनामंगलमा रहेको डिजाइन इम्प्लाइमेन्ट सर्भिसेज प्रालीबाट शनिबार मलेसिया जान लागेका २ सय ३३ जनाको विभागले श्रम स्विकृति रोकेको हो। विभागले एक साताअघि मलेसिया जान लागेका कामदारसँग कम्पनीले पैसा उठाएको भन्दै शुक्रबार एक लाख जरिवानासमेत गरेर कारोबार रोक्का गरेको छ।
विभागले शुक्रबार एकैचोटी जानकारी नै नदिएर कारबाही गर्दा टिकटको ७० लाख घाटा भएको म्यानपावरले जनाएको छ। कम्पनीका सञ्चालक सुरेन्द्र राईले मलेसिया जान अन्तिम तयारीमा रहेका कामदारको टिकट खरिद गरिसकेको अवस्थामा विभागले स्वार्थका लागि कारबाही गरेको आरोप लगाए।
पछिल्लो पटक मलेसियाको फ्लेक्सट्रोनिक कम्पनीबाट १५ सय जना कामदारलाई निशुल्क फ्रिभिसा र टिकट आएको थियो। ४ वटा म्यानपावर ल्याएको डिमान्डमा डिजाइन इम्प्लाइमेन्टले गते माघ १५ गते पहिलो लटमा २ सय ४४ जना कामदार पठाएको थियो। सोही समयमा विभागले एयरपोर्टमा मलेसिया उड्न लागेका कामदारलाई सोधपुछ गर्दा निशुल्क टिकट र भिसामा पैसा तिरेको बताएपछि विभागले डिजाइन इम्प्लाइमेन्टको कारोबार रोक्का गरेको हो।
विभागका प्रवक्ता बद्री कार्कीले विमानस्थलमा गएर सोधपुछ गर्दा कामदारले पैसा तिरेको बताएपछि डिजाइन इम्प्लाइमेन्टलाई एक लाख जरिवानासहित कारोबार रोक्का गरेको बताए। १० जना जति कामदारले पैसा तिरेको बताएपछि ती कामदारलाई पैसा फिर्ता गराउने र अरुले पनि तिरेको भए सार्वजनिक सूचना निकालेर फिर्ता गराउने भनिए पनि म्यानपावर प्रतिबद्धताअनुसार काम नगरेकाले कारबाही गरेर कारोबार रोक्का गरेको नागरिकन्युजलाई बताए।
डिजाइन इम्प्लाइमेन्टका राईले भने विभागले पूर्वाग्रही भएर मात्र कारबाही गरेको बताए। कामदारलाई मलेसिया पठाउनुअघि विभाग र मन्त्रालयका कर्मचारीहरुकै अगाडि सोधपुछ गरिएको थियो, त्योबेला कुनै कामदारले गुनासो गरेका थिएनन एकैचोटि विमानस्थल पुग्ने बेला केही कामदारले गुनासो गरे भन्दै विना प्रमाण कारबाही गरेको छ,' उनले भने।
'एउटा पार्टी प्यालेसमा सबै कामदारसँग विभाग र मन्त्रालयका कर्मचारी आएर बेग्लाबेग्लै सोधेका थिएँ, त्योबेला गुनासो नहुने एकैचोटि उड्ने बेला गुनासो आउने उता कामदार पुगे अब यता अर्काे लट पठाउँदा दुःख दिन थालियो,' उनले भने।
'निशुल्क टिकट र भिसा भएकाले शनिबार उड्न लागेको २ सय ३३ जना कामदारको टिकटबापतको ७० लाख घाटा भएको छ। अब यसको जिम्मा कसले लिने,' उनले भने।
'निशुल्क टिकट र भिसा भएकाले शनिबार उड्न लागेको २ सय ३३ जना कामदारको टिकटबापतको ७० लाख घाटा भएको छ। अब यसको जिम्मा कसले लिने,' उनले भने।