बिहीबारदेखि परेको हिमपातका कारण सम्पर्कविहीन भएका जुम्ला तातोपानी ८ का स्थानीय सकुशल भेटिएका छन्। कर्णाली प्रदेश सरकारले उद्धारका लागि पठाएको हेलिकप्टरले उनीहरुलाई खाद्यान्न सामग्री छोडेर फर्किएको छ। हेलिकप्टर पुग्दा हिउँमा फसेका नागरिकले हात हल्लाएका थिए। आफूहरु सकुशल रहेको तर खाद्यान्न सकिएको संकेत गरिरहेका थिए।
बाक्लो हिमपातका कारण हेलिकप्टर अवतरण गर्न सकेन। तर, उनीहरुलाई आवश्यक पर्ने दुई हजार केजी खानेकुरा छोडेको नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए। उनले भने, ‘तीन दिनदेखि सम्पर्कमा आउन नसकेका उनीहरुको खोजी तथा उद्धारका लागि स्थानीयले आग्रह गरेका थिए। सोही बमोजिम नेपाली सेनाको हेलिकप्टर पुग्दा सबै सकुशल अवस्थामा थिए।’
हेलिकप्टरले पाटन क्षेत्रमा रहेका गाग्री, एडि ओढार र खोटी सल्ला गरेर तीन ठाउँमा खाद्यान्न सामग्री छोडेको हो। हिउँ बाक्लो भएकोले उनीहरु सहजै रुपमा फर्कन सक्ने अवस्था छैन। हेलिकप्टर अवतरण गरेर ओसार्ने अवस्था पनि रहेन। हेलिकप्टरमै गएका स्थानीय सुरतबहादुर शाहीले भने, ‘दुई चार दिनसम्म नफर्कनको लागि आग्रह गरेका छौँ। बाटोमा हिउँ भएकोले समस्या छ। हिउँ पग्लेर कम भएपछि मात्र आउनको लागि सुझाव दिएका छौँ। उनीहरुले पनि हिउँ रहँदासम्म नफर्कने बताएका छन्।’
सेतो चिनी (खिरौला) जडिबुटी संकलन गर्न पाटनमा गएका नागरिक बिहीबारदेखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेका थिए। हिउँमा जुम्लाका नागरिक फसेको जानकारी पाउने वित्तिकै कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएको थियो। पाटनमा पुगेर केही दिनको लागि पुग्ने खाना छोडेर आएको स्थानीय शाही बताउँछन्।
बाक्लो हिउँ जमेकोले हेलिकप्टर अवतरण हुन सकेन। माथिबाटै राहत फाल्यौ। मलाई देखेपछि सबै चिनेका स्थानीयले तलबाटै अभिवादनका हात हल्लाए। उनले भने, ‘समयमै राहत सामग्रीसहित हेलिकप्टर पुग्दा हिउँमा फसेका सबै खुसी छन्।’ राहत लिनका लागि ओढारदेखि २० जना बाहिर निस्किएका थिए। चाउचाउ, विस्कुट, दालमोट, चिउरा र औषधि समेत दिइएको छ। सबै सकुशल रहेकोले चिन्ता नलिनको लागि गाउँमा खबर पुर्याइदिन आग्रह गरेका थिए।
अन्यत्र पनि नागरिक हिउँमा फसेका छन् की भनेर ३÷४ फन्का हेलिकप्टर घुमेको थियो। तर अन्यत्र कतै भेटिएनन्। सबै क्षेत्र सुनसान नै थियो। भेटिएका नागरिकलाई सुरक्षित रहनको लागि भनेको सुरतबहादुर सुनाउँछन्। राहत सामग्री छाडेको सबै ठाउँमा आगो बालेको धुवा निस्केको थियो। जसले गर्दा पनि सबै सुरक्षित छन् भन्ने एकीन भयो। शाहीले भने, ‘तत्काल घर फर्किने अवस्था नरहेकोले ४/५ दिनपछि मात्रै हिउँ पग्लेपछि घर फर्किन सम्झाउने काम भयो। उनीहरु खुसीका साथ हासखेल गरिरहेका थिए।’
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले पाटन क्षेत्रमा ५५ जना हिउँमा फसेको भनिएपनि ३४ जना मात्र रहेको बताइन्। जम्मा ३६ जना रहेछन्। दुईजना शनिबारनै धर्मशालासम्म आइपुगेको खबर प्राप्त भएको छ। अब ३४ जना मात्र पाटनमै रहेका छन्। उनले भनिन्,‘हेलिकप्टर पुग्दा २० जनाभन्दा बढी नागरिक एकैसाथ बाहिर देखापरेकोले सबै सुरक्षित छन् भनेर अनुमान लगाउन सकिन्छ।’
पहिले हिउँमा फसेका नागरिक भोकभोकै छन् भनिएको थियो। राहत सामग्री पुगेपछि कुनै खतरा हुने छैन। तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले सबै सकुशल भेटिएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘अहिले बाक्लो हिउँ छ। आउजाउ गर्न सकिने अवस्था छैन। हेलिकप्टर ल्याण्ड गर्ने अवस्था पनि रहेन। एक दुई दिनपछि उनीहरुको अवस्था हेरेर हेलिकप्टर चार्टर गरेर भएपनि उद्धार गर्ने तयारी गाउँपालिकाको छ।’ हिउँमा फसेका नागरिकलाई जसरी भएपनि उद्धार गरिने बताए।
जडिबुटी संकलन गर्न गएका पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको छ। पाटनमा सेतो चिनी (खिरौला) जटिबुटी संकलन कोर्न गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला वर्ष ३७ की देवि शाही र तातोपानी ७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।
पाटनमा सबै आफन्त सकुशल भेटिएपछि सिंगो गाउँ खुसी भएको छ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...