काठमाडौं–शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा सामाजिक क्रियाकलाप संचालन गर्दै आएको ग्रीन नेपाललाई दक्षिण कोरियाको किम्फो सिटी काउन्सिलले सम्मान गरेको छ। दक्षिण कोरियाको किम्फो सिटी काउन्सिलमा आयोजित कार्यक्रममा काउन्सिलले ग्रीन नेपालका अध्यक्ष हिराबहादुर कार्कीलाई सम्मान पत्र प्रदानसहित सम्मान गरेको हो।
विगत सात वर्ष देखि पश्चिम नेपालका विभिन्न भागमा शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा दक्षिण कोरियाको विभिन्न संस्थाको सहयोगमा ग्रीन नेपालले विविध कार्यक्रम संचालन गर्दै आएको छ।
स्वास्थ्य र शिक्षाको नारासहित ग्रीन नेपालले पोखरा वरपरका केही ग्रामिण भेग र लुम्विनी क्षेत्रमा विद्यालय र स्थास्थ्य चौकी संचालन गर्दै आएको छ। ग्रीन नेपालको सोही नारा र कार्यशैलीबाट प्रभावित भएर दक्षिण कोरियाका विभिन्न संस्थाले सहयोग गर्दै आएको अध्यक्ष हिरा कार्कीले बताए।
विगत २२ वर्ष देखि नै दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आएका कोरियन पर्यटक एवं समाजसेवीलाई सहयोग गर्दै आएका कार्कीले नेपालको वातावरणीय एवं प्राकृतिक समृद्धिका लागि ग्रीन नेपालको स्थापना गरेको बताए।
कार्यक्रममा आफूले हरित वातावरण र प्राकृतिक सम्पदाको संरक्षणका विषयमा संस्थाले गरेको क्रियाकलापहरुलाई प्रस्तुत गरेको कार्कीले बताए। उनले किम्फो सिटी काउन्सीलले आफ्नो संस्थालाई सम्मानित गरेर संस्थालाई थप जिम्मेवारी सुम्पिएको जनाए।