लमजुङ–गुडीरहेको बसको छतबाट खसेर प्रवेशिका परीक्षा दिन घरबाट हिँडेका एक परीक्षार्थीको सोमबार मृत्यु भएको छ।
गिलुङ गाविसबाट पोखराका लागि छुटेको ना ५ ख ६०९१ नम्बरको बसमा चढेका विकट भोंजे गाविस १, कुम्लुङबेसी मैगाउँका १६ वर्षीय विशाल गुरुङको मृत्यु भएको हो। उनी करापु गाविस ६ डढुवाको भीरमा आइपुग्दा बसको छतबाट भीरमा खस्दा गम्भीर घाइते भएका थिए। घाइते भएपछि सोही बसबाट ईशानेश्वरको रामबजार स्वास्थ्य चौकीमा उपचारका लागि ल्याईएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको भोर्लेटार प्रहरीले जनाएको छ।
बसमा भीडभाडका कारण खसेर ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। बस र चालकलाई इलाका प्रहरी कार्यालय भोर्लेटारले नियन्त्रणमा लिएको छ। भोंजे गाविस ३ चरागाउँको बनस्थली माविबाट भोर्लेटारस्थित ईशानेश्वर उमावि केन्द्रबाट परीक्षा दिने तयारीमा थिए।