सुर्खेत–सुर्खेत जिल्ला अदालतले यौन दुर्व्यवहारपछि बालिका अपहरण गरेको आरोप लागेका चारजनालाई धरौटीमा रिहा गरेको छ। प्रहरीको 'फरार' सूचिमा रहेका उनीहरु एक दिन पनि हिरासत नबसी अदालतको आदेशमा धरौटीमा छुटेका हुन्।
वीरेन्द्रनगरकी एक बालिकालाई अपहरण गरेको आरोप लागेका उनीहरुलाई ५० हजारदेखि पाँच लाखसम्म धरौटीमा रिहा गरिएको हो। जिल्ला अदालतका निमित्त श्रेष्तेदार एमादुद्धिन सल्मानीका अनुसार जिल्ला न्यायाधीश लिलाराज अधिकारीको एकल इजलासले बालिका अपहरणको मुख्य आरोप लागेका शिवराज अधिकारीलाई पा"च लाख र उनकी श्रीमती अमृतादेवी जैशी अधिकारीलाई एकलाख धरौटीमा आइतबार रिहा गरिएको हो। त्यस्तै, सोमबार अदालतमा उपस्थित भएका विष्णुबहादुर शाहीलाई ५० हजार र लक्ष्मीकुमारी बुढालाई ५० हजार धरौटीमा छोडिएको छ। प्रहरीले खोजि गरिहेको बताइ रहँदा उनीहरु आफै अदालतमा उपस्थित भएका थिए।
यौनदुर्व्यवहार पीडित बालिका अपहरण गरेको आरोपमा जिल्ला अदालत सुर्खेतले आरोपितविरुद्ध फागुन १७ गते ३० दिने समाव्हान (म्याद) जारी गरेको थियो। यौनदुर्व्यवहार पीडित वीरेन्द्रनगरकी एक १२ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा ६ जनाविरुद्ध जारी गरिएको म्यादअर्न्तगत चारजना अदालतमा उपस्थित भएर धरौटीमा रिहा भएका हुन्।
मंसिर १९ गते यौनदुर्व्यवहार पीडित बालिका र आमासमेतले दिएको जाहेरीका आधारमा प्रहरीले फाुगन १५ गते जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो। प्रहरीमा मुद्दा दायर भएपछि फरार रहेका प्रतिवादीका नाममा म्याद जारी गरिएको थियो।
जाहेरीमा उल्लेख भएका आरोपितहरुलाई पक्राउ नगरेरै प्रहरीले तीन महिनापछि सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गरेको थियो। व्यवसायी शिवराज अधिकारीले यौन दुर्व्यवहार गरेपछि न्याय माग्दै एक गैरसरकारी संस्थामा पुगेकी १२ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर अपहरण गरेको आरोप लागेको छ। सुरुमा जाहेरी दर्ता गर्न नमानेको प्रहरीले क्षेत्रीय प्रहरी कार्यालयको निर्देशनपछिमात्र जाहेरी दर्ता गरेको थियो।
जाहेरीमा पटक–पटक अधिकारीले यौन दुर्व्यवहारको प्रयास गरेको जानकारी उनकी श्रीमतीलाई गराएपछि आफूलाई काठमाडौंमा रहेकी छोरीस"ग पठाइएको उल्लेख छ। 'काठमाडौंबाट सुर्खेत आएपछि पनि यौनदुर्व्यवहारको प्रयास गरेपछि मैले आमा–बुवालाई यो कुराको जानकारी गराएँ,' जाहेरीमा बालिकाले भनेकी छन्, 'एक सामाजिक संस्थामार्फत घटना प्रहरीमा पुगेपछि त्यही"बाट संरक्षणका लागि आवाज संस्थामा पुर्याएको थियो।'