दाङ–बाढी प्रभावित बस्ती तुलसीपुर नगरपालिका २० मोतीपुरमा एकाएक जमिन भासिएको छ। मंगलबार बिहान मोतीपुरमा ४० फिट जमिन गोलाकार भई भासिएको हो। जमिन ५ मिटर गहिराइमा भासिएको छ। खाडलको झण्डै दुई फिट सम्म पानी देखिएको छ। बस्ती एकाएक भासिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
स्थानीयका अनुसार नन्कु चौधरीको मसुरो रोपेको बारी एकाएक खाल्डो परेको हो। उनको घर देखि झण्डै ६० मिटर दुरीमा जमिन भासिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी चक्रराज जोशीले जानकारी दिए। एकाएक खेत भासिएपछि स्थानीयमा बस्ती भासिने होकी भन्ने भय सुरु भएको छ।
'झण्डै ४० फिट जमिन गोलाकार भई भासिएको छ,' डिएसपी जोशीले भने 'भासिएको ठाउँमा ५ मिटर गहिरो खाडल बनेको छ।' जमिन भासिएपछि गाउँहरुले प्रहरीलाई खबर गरेका थिए। गाउँलेहरुको खबर पश्चात प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। 'घरदेखि नजिकै एकाएक खाल्डो परेपछि घर भासिने होकी भन्ने डर गाउँका सबैमा छ,'स्थानीय धनवीर चौधरीले भने।स्थानीयका अनुसार जमिन भासिएको स्थान बबई नदी देखि झण्डै तीन सय मिटरको दुरीमा छ।
केही बर्ष अघि सम्म बबई नदी उक्त जमिन भएरै बग्ने गरेको थियो। पछि बबईले धार परिवर्तन गरेको थियो। डिएसपी जोशीका अनुसार उक्त स्थानमा बलौटे माटो रहेको छ। तर जमीन भासिनुको एकिन कारण थाहा हुन सकेको छैन। एकाएक जमिन भासिनुलाई जोखिम पूर्ण घटना भन्दै घटनास्थल पुगेको प्रजिअ सहितको टोलीले उक्त क्षेत्रलाई डोरी लगाई सुरक्षित पारेको छ। प्रहरीले उक्त स्थानमा कसैलाई पनि नजान भनेको छ। 'एकाएक जमिन भासिनु जोखिमपूर्ण अवस्थानै हो,'डिएसपी जोशीले भने ' कुनै अप्रिय घटना नहोओस् भनेर हामीले त्यो क्षेत्रलाई डोरी बाँधेर घेरेका छौँ।'
त्यहाँ थप जमिन भासिन लागे तत्काल खवर गर्न पनि प्रहरीले स्थानीयलाई आग्रह गरेको छ। तर जमिन भासिनु प्राविधिक बिषय भएकाले यसको कारण बारे आँफुहरुले केही भन्न नसक्ने समेत डिएसपी जोशीले बताए। स्थानीय भने साउन अन्तिममा बाढी पसेका कारण जमिन खोक्रो भई भासिएको हुन सक्ने र बस्ती पनि भासिने त्रासमा छन्। यो गाउँमा गत साउन अन्तिमको बाढीले दुईजनाको ज्यान गएको थियो भने ६० बढी परिवार बिस्थापित बनेका थिए।