इलाम– शैक्षिक इतिहास बोकेको सदरमुकामस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा एउटा एसएलसी केन्द्रलाई 'नमूना' बनाईंदैछ। सदरमुकामकै तीन संस्थागत विद्यालयका एक सय ८४ विद्यार्थी सामेल हुने परीक्षा उक्त केन्द्रको निगरानी गर्न निरीक्षकदेखि केन्द्राध्यक्षसम्मै महिलै–महिला तोकिएको छ। इलाममा पहिलोपल्ट महिलाका भरमा एसएलसी केन्द्र निर्धारण गरिएको हो।
'अरु जिल्लामा यस्तो अभ्यास भइसकेको हुनसक्छ तर इलाममा पहिलोपल्ट महिलाको भरमा एसएलसी केन्द्र तोकिएको हो' जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बुधवार नागरिकलाई भने, 'जुन केन्द्रलाई नमूनाका रुपमा प्रस्तुत गर्दै परीक्षालाई मर्यादित पार्न अरु केन्द्रका लागि उदाहरण बनाइनेछ।' केन्द्रमा आदर्श उमाविकै अंग्रेजी शिक्षिका हेमलता उप्रेती अध्यक्ष तोकिएकी छन्।ग्रीनभ्याली एकाडेमी, ज्योतिसदन बोर्डिङ र इलाम विद्या मन्दिरका विद्यार्थी सहभागी हुने उक्त केन्द्रमा ३२ एक्जाम्टेडसहित एक सय ८४ जनाले एसएलसी परीक्षा लेख्ने केन्द्राध्यक्ष हेमलता उप्रेतीले बताइन्। 'महिला पनि सक्षम छन् भन्ने मूल्यांकन गर्दै एउटा केन्द्र चलाउन दिएकामा जिम्मेवारीबोध भइरहेको छ' उप्रेतीले सुनाइन्, 'महिला सहकर्मीको सहयोगमा केन्द्रलाई नमूना पार्न सक्रिय हुन्छौं।'
उप्रेतीका अनुसार, आदर्शको उक्त नमूना केन्द्रमा सहायक केन्द्राध्यक्षमा झुमा कट्टेल तोकिएकी छन् भने निरीक्षकका रुपमा अरु सात शिक्षिका छन्। यसैवीच, इलाममा आदर्शसहित ३० केन्द्रमा एसएलसी परीक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ, जसमा ६ हजार ९ सय ८२ जना विद्यार्थी सहभागी हुनेछन्। नियमिततर्फ ३ हजार ७ सय ९३ र एक्जाम्टेडतर्फ ३ हजार एकसय ८९ जना छन्।
सामुदायिक बिद्यालयको खुल्ला र प्राबिधिकसहित ८९ वटा बिद्यालय र संस्थागतबाट ३६ वटा बिद्यालयका बिद्यार्थी एसएलसिमा सहभागि हुँदैछन्। खुल्लामा ७२ र प्राबिधिकबाट २६ जना बिद्यार्थी एसएलसिमा सहभागि हुँदैछन्। कार्यालयका परिक्षा शाखाका प्राबिधिक सहायक अम्बिका खनालका अनुसार ३० केन्द्रमा एकजना महिलासहित ३० केन्द्राध्यक्ष, ३१ जना सहायक केन्द्राध्यक्ष २ सय ८२ जना निरीक्षक, ८० जना सहयोगि र आवश्यकता अनुसार तीनसय बढि सुरक्षाकर्मी खटाइनेछ।
यसपल्ट इलाम कारागारबाट एकजना नियमित र तीनजना एक्जाम्टेड सहितका चारजना कैदि बन्दिले एसएलसी परिक्षा लेख्दैछन्। जसमा नियमिततर्फ भगवती माविका योगराज शिबाकोटी, एक्जाम्टेडमा बालकन्या माबि सोयाकका अमृत फागो, करफोक उच्च माविका दिपेश राई र सरस्वती उच्च मावि बाँझोका दिपक लिम्बूले कारागारबाट परिक्षा लेख्न लागेका हुन्।
यस्तै आदर्श उच्च माविका दुईजना दृष्टिबिहिन रिना घले र मिना घले तथा सिंहदेवी उच्च माविका खगेन्द्र खनालले सहयोगिको साथमा परिक्षा लेख्दैछन्। सहयोगिबाट परिक्षा लेख्नका लागि उनीहरुले जिल्ला शिक्षा कार्यालबाट स्विकृति समेत लिइसकेका छन्।