कोहलपुर–जिल्लाका तीन यातायात व्यवसायी समितिले इजाजतविना नेपलागन्ज– जाजरकोट र रुकुम चौरजहारी सडक खण्डमा दिवा सेवाका बसबाट रात्री बस सञ्चालनको विरोधमा बस व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
बस व्यवसायीले आन्दोलन स्वरुप आइतबार विहानबाछट नेपालगन्जदेखि जाजरकोट र रुकुम चौरजहारी सडक खण्डमा चल्ने बस बन्द गरेका छन्। भेरी, बागेश्वरी र भेरी सार्वजनिक बस व्यवसायी समितिले सुर्खेत, दैलेख, कञ्चनपुर, दाङ सडक खण्डमा सञ्चालन इजाजत पाएका बस जाजरकोट र रुकुममा रात्री सेवा चलाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।विहानैदेखि जाजरकोट, रुकुम बस नचल्दा नेपालगन्ज र कोहलपुरमा सँयौै यात्रु अलपत्र परेका छन्। यातायात समिति, ट्राफिक प्रहरी र भेरी अञ्चल यातायात कार्यालयको मिलेमतोमा दिवाका बस रात्री र अन्यन्त्र इजाजत लिएका बस गुड्दा व्यवसाय धरासयी भएको बताउँदै आन्दोलनमा उत्रिएका बस धनी प्रेम केसीले माग सुनुवाई नहुँदा बाध्य भएर आन्दोलनमा उत्रिएको बताए।
'यातायात समितिको सहमती अनुसार नेपालगन्जबाट दिनमा एक बस मात्र रुकुम चौरजहारी, जाजरकोट बस चलाउने हो,' उनले भने,' तर यहाँका रात्री इजाजत नभएका आधा दर्जन गुड्छन। बस रोक्न ट्राफिकलाई गुहार्दा पनि रोक्न आँट गरिएन्।' आइतबारदेखि सांकेतिक आन्दोलन गरेका बस व्यवसायीले माग पुरा नभए आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन्। बस व्यवसायीको आन्दोलनले नेपालगन्जबाट विहान छ बजेदेखि बेलुका पाँचबजेसम्म छुट्ने यस रुटका १३ गाडी चलेका छैनन्।