काठमाडौं-थापाथली बागमती किनारको सुकुम्बासी बस्तीमा डोजर चल्दा ‘पुनःस्थापना' हुन्छ भन्ने आश्वासन पाएका थिए, ३९ वर्षीय सुमन चौधरीले। तर तीन वर्षदेखि पाल टाँगेर बसेका उनको जस्तो दर्जनौं परिवार फेरि नजिकिँदो बर्खेपानी ओछ्यानमा पस्ला भन्ने त्रासमा परेका छन्।प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेताले घर भत्केपछि ‘पुनर्बास' गरिने आश्वासन दिए। तर अहिलेसम्मको अवस्था उस्तै छ। बूढा, पाका र केटाकेटीहरु बिचल्लीमा छन्। ‘पानी पर्न थालिसक्यो जस्तापाता हाल्न दिँदैनन्,' सोमबार नागरिकसँग उनले भने, ‘पानी पर्दा हिजो (आइतबार) राति पनि ओछ्यानमा पानी पस्यो। भएको घर पनि भत्काएर पुनर्बासको व्यवस्था गर्नु भनेको सरकार अहिलेसम्म बेवास्ता गरेको छ।'
नौ वर्षदेखि सो क्षेत्रमा बसिरहेका उनी श्रीमतीसँगै एक छोरा र एक छोरीसँग पाल टाँगेर बसिरहेका छन्। ‘राज्यले सुकुम्बासी पहिचान गरेर आवास व्यवस्था गर्ने भने पनि केही गरेको छैन,' उनले भने, ‘सरकार तीन पुस्तादेखि जग्गाजमिन नहुनुपर्ने भन्छ सुकुम्बासी हुनका लागि तर मेरो परिवार १० पुस्तादेखि नै सुकुम्बासी छ। तर पनि यसको लेखाजोखा भएको छैन। सरकारले दुःख दिने काम मात्र गरेको छ।'
२०६९ वैशाख २६ गते सरकारले बल प्रयोग गरेरै सो क्षेत्रमा रहेका संरचना भत्काएदेखि उनीहरु सोही ठाउँमा पाल टाँगेर बसिरहेका छन्। सरकारले सुकुम्बासीलाई व्यवस्थापन गर्नभन्दा सधैं दुःख दिने काम गरिरहेको महिला एकता समाजकी अध्यक्ष विमला तामाङले पनि आरोप लगाइन्। ‘थापाथलीका सुकुम्बासीलाई मात्र होइन, सरकारले बेलाबेलामा अन्य क्षेत्रमा सुकुम्बासीलाई दुःख दिने गरेको छ,' उनले भनिन्, ‘सरकारले गर्न चाहे केहीबेर लाग्दैन तर गर्न नचाहेर मात्रै हो।'
उनका अनुसार २०६२ सालमा सिनामंगल जागृतिनगरमा एउटा घर भत्काइएको थियो भने यसअघि ०५६/५७ सालतिर पनि थापाथलीको कुरिया गाउँमा ८/१० परिवारलाई यसैगरी बिचल्लीमा पारिएको थियो। ‘सरकारले सुकुम्बासी पहिचान गर्न खोजे पनि यसलाई आँटेमात्र सम्भव छ,' उनले भनिन्, ‘नत्र यत्तिका वर्ष किन यस्तो दुःख दिएको?'
समाजले सन् २०१० मै काठमाडौंका ६८ वटा स्थानमा सुकुम्बासी बसिरहेको तथ्यांक निकालेको थियो। सरकारले राष्ट्रिय आवास योजना २०७१ ल्याए पनि सुकुम्बासी व्यवस्थापनमा अझै अन्योल भेटिन्छ। सहरी विकास मन्त्रालयले एक महिनाअघि उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालयलाई सुकुम्बासी व्यवस्थापन गर्न निर्देशन दिए पनि अहिलेसम्म केही टुंगो नभएको आयुक्त भाइकाजी तिवारीले बताए।
‘वास्तविक सुकुम्बासी पहिचान गर्ने हाम्रो सामर्थ्य छैन, हामीसँग पहिचान गर्ने विज्ञ छैनन्, कर्मचारी पनि छैनन्,' उनले नागरिकसँग भने, ‘सरकारले पहिचान गरिदिए हामी व्यवस्थापन गर्न सक्छौं।' सबैले सुकुम्बासी हुँ भन्ने दाबी गरे सरकारले सबैलाई घरको व्यवस्था गर्न नसक्ने उनले बताए।
सहरी विकास तथा भवन निर्माण विभागले असारसम्म दुई सय २७ परिवारलाई बस्न मिल्ने भवन इचङ्गुनारायणमा तयार पार्न लागे पनि छनोट चरणमै प्रवेश गर्न नसकिएको तिवारीले बताए। ‘हामीले अहिले उनीहरुलाई कति रकम तिराउन सकिन्छ भन्ने अध्ययन गरिरहेका छौं,' उनले भने, ‘तर सुकुम्बासी पहिचानका मामलामा निजी संस्थालाई जिम्मेवारी दिएर हुँदैन। सरकारी निकाय नै अग्रसर भइदिए हामी व्यवस्थापन गर्न सक्छौं।' मन्त्रालयका सहायक प्रवक्ता कविन्द्र विक्रम राईले जिम्मेवारी दिएपछि प्राधिकरणले काम गर्नुपर्ने बताए। ‘अहिलेको पहिलो मुद्दा भनेको सुकुम्बासी पहिचानमै विवाद छ,' उनले भने, ‘भवन बनेपछि सुकुम्बासीलाई व्यवस्थापन प्राधिकरणले गर्नेछ।'
प्राधिकरण सञ्चालन विनियामवली नै पास नभएको अवस्थामा यस्तो महत्वपूर्ण काम गर्न प्राधिकरण असमर्थ रहेको तिवारीले प्रस्ट्याए। ‘सुकुम्बासी व्यवस्थापन कसले गर्ने भन्ने कानुन छैन। स्थायी कर्मचारी नै नभएको अवस्थामा प्राधिकरणले केही गर्न सक्दैन,' उनले भने, ‘अर्कातिर भवन विभागले बनायो तर व्यवस्थापनको जिम्मा प्राधिकरणलाई दिने बलियो आधार छैन।'
थापाथली बागमती किनारका दुई सयभन्दा बढी टहरा भत्काएपछि नै सरकारले इचङ्गुनारायणमा भवन बनाउन थालेको थियो। सरकारले थापाथलीको बागमती किनारमा २०५२ सालमै युएन पार्क बनाउने घोषणा गरेको थियो। खाली ठाउँ देखेर २०६४ देखि सुकुम्बासीले एकपछि अर्को गर्दै बस्ती बसाएका थिए।
सरकारले राष्ट्रिय आवास योजना २०७१ अनुसार अस्थायी तथा अव्यवस्थित बसोबास व्यवस्थित गर्न खोजेको देखिन्छ। योजनाले अतिक्रमण गरी सुकुम्बासी अनधिकृत बसोबास गरेको संख्या बढिरहेकामा उनीहरुको व्यवस्थापनका पक्षमा बोले पनि केही गर्न सकेको छैन। योजनामा उल्लेख भएअनुसार नेपालमा सहरी जनसंख्याको १० प्रतिशत सुकुम्बासी छन्।
सहरी विकास तथा भवन निर्माण विभागले २०६९ सालमा गरेको सर्वेक्षण अनुसार नदीकिनारका २९ वटा बस्तीमा २ हजार ३१ परिवार र अन्य स्थानका १७ वटा बस्तीमा ४ सय ६७ परिवार बसोबास गरेको जनाएको छ। त्यस्तै, धरान, वीरगन्ज, भरतपुर जस्ता नगरपालिकामा यो अवस्था दिनानुदिन गम्भीर हुँदै गइरहेको योजनाले जनाएको छ।
सरकारको सहस्राब्दि विकास लक्ष्यले वातावरणीय दिगोपना प्रत्याभूत गर्ने भन्ने उद्देश्यअनुसार सन् २०२० सम्म अव्यवस्थित बस्तीमा बसोबास गर्ने कम्तीमा १ करोड बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार गर्ने भन्ने उल्लेख छ। योजनाले जीवनस्तरमा सुधार गर्ने सन्दर्भमा आवास एक प्रमुख सूचक हुनसक्ने भएकाले अव्यवस्थित सहरी बस्ती सुधार गर्ने क्रममा नदीकिनारमा बसोबास गरेका सुकुम्बासी परिवारलाई अन्यत्र स्थानान्तरण गरी व्यवस्थित आवास सुविधा उपलब्ध गराउने योजना पनि छ।

के भन्छ राष्ट्रिय आवास योजना