होलीमा मौलिकता जोगाउन सकस
०३ चैत्र २०७८
•
६ मिनेट पाठ
होलीमा मौलिकता जोगाउन सकस
रामजीके हाथ कनक पिचकारी...




सीयाजीके हाथ अबिरझोरी...मिथिलामे

मिथिलामा राम खेले होरी...मिथिलामे.....

मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली शुक्रबार प्रारम्भ हुन्छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रंग अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झने गर्छन्।

‘कञ्चनवन राम खेले होरी कञ्चनवन...’ शनिबार मिथिला माध्यमिकी परिक्रमामा सहभागी नेपाल तथा भारतका मिथिलाञ्चलवासीले महोत्तरीको कञ्चनवनमा होलीका यस्तै यस्तै गीतमा होली खेलेर त्रेतायुगको सम्झना गरे। सहभागीले एक अर्कालाई रंग अबिर लगाएर मिथिलामा होली पर्वको स्वागत गरेका छन्। फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला माध्यमिकि परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै कञ्चनवन पुग्ने गर्छ। यहाँ परिक्रमा सहभागी होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ।

बढ्दोे सहरीकरण अनि कमजोर हुँदै गएको सामाजिक सद्भावका कारण फागुको रोमाञ्चमा समेत कमी आएको अनुभव गर्न थालिए पनि कञ्चनवनको होरीले सामाजिक सद्भाव जोड्ने मात्र काम गरेको छैन होलीको मौलिकता फर्काउने सेतुको काम गरेको संस्कृतिपे्रमीहरू बताउँछन्।

जाडोको बिदाई गर्मीको स्वागत

होलीका विविध आयाम छन्। मुख्यरूपमा भन्नुपर्दा यो पर्व वसन्त ऋतुको आगमनको पर्व हो। मधेसी जति पनि गर्मी खप्न सक्छन्। कठयांग्रिदो जाडो र शीत लहरले उनीहरूलाई सास्ती थप्छ। होली जाडोको बिदाई र गर्मीको आगमनको संकेत हो। यहि बेला मधेसका खेत खलिहानमा गहुँका बाला लहलह झुलेका छन्।

तोरी फुलेर खेत पहेलिएका छन्। यो किसानहरूका लागि फुर्सदको समय पनि हो। साँझको शीतल हावा, वसन्त ऋतुको आगमन र कृषि कर्मबाट हुने फुर्सदको सदुपयोग जोगिरा गाएर गर्छन् धमेसका किसानहरू। यस्ता सामूहिक गायनकै कारण होली भित्रिएको सन्देश जन–जनमा पुग्छ।

हराउँदै जोगिरा

‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग

कौन ताल पर गोरिया नाचे कौन ताल पर हम’

जोगिरा सररर..

श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल मधेसका गाउँमा समेत उति सारो सुनिँदैन। यो गीत गाउँदा बजाइने ढोल, मृदंग, डम्पा, झ्यालीजस्ता बाजा अचेल दुर्लभ भए। फागु पूणिर्माको पहिलो दिन चतुर्दशीको रात पौराणिक पात्र होलिकालाई परम्परागत बाजा बजाउँदै ‘दहन’ गर्ने परम्परा छ।

पहिले र अहिलेको होलीमा धेरै फरक आइसक्यो। धनुषाको लवटोलीका ६० वर्षीय भगत महतो सम्झन्छन्, ‘वसन्तपञ्चमीका दिनदेखि नै हामी दिवाना हुन्थ्यौं।’ अचेल जबर्जस्तीको पर्वजस्तो हुन थालेकामा उनको चिन्ता छ। मौलिकता हराएर विकृति आएको भन्दै उनले नयाँ पुस्तालाई होलीको सांस्कृतिक महत्व बुझाउनुपर्ने बताए।’ ‘खेल्ने तरिका, खानपान सबै फेरियो,’ महतोले भने, ‘विगतमा गाउँवस्तीमा रहेका सबैजना भेला भएर खेलिन्थ्यो तर अचेल गाउँमा मान्छे भेट्नै मुस्किल छ कहाँबाट भेला भएर होली खेल्नु?’

होली विशुद्ध आध्यात्मिक र सांस्कृतिक पर्व भएको धनुषा गोदारका कृष्ण राउत बताउँछन्। सानो छदा बाँसको पिच्करी बनाएर खेलेको होली सम्झँदै उनले भने, ‘अचेल उबेलाको जस्तो रमाइलो छैन, संस्कृतिमा विकृति मिसिएको छ।’ गाउँले भेला भएर डम्फा(डम्फु) र ढोलकजस्ता बाजा बजाउँदै होली गीत गाएर होली मनाउने गरेको उनले सम्झे।’ जोगिरा गाएर घर घर पुग्ने गरिन्थ्यो,’ उनले भने, ‘अग्रजले आशीर्वाद दिन्थे, उमेरदारहरू साथ लागेर नाचगान गर्थे।’

बढदो आधुनिकता, मानिसमा फुर्सदको अभाव, सहरमुखी हुनु, पुराना संस्कृतिको प्रबद्र्धनमा ध्यान नजानुले होलीजस्ता मौलिक पर्वमा आकर्षण घट्दै गएको छ। संस्कृति, संस्कारप्रति घट्दो आकर्षण बढाउन युवाहरू जागरुक हुनुपर्ने संस्कृतिका जानकारहरू बताउँछन्।

मिथिला नाट्यकला परिषद् जनकपुरधामका सदस्य रामनारायण ठाकुरका अनुसार वसन्त पञ्चमीदेखि सुरु हुन्थ्यो होलीको रौनक अहिले त्यो उमंग छैन। ‘होलीको मौलिक गीतलाई अश्लीलताले छपक्कै छोपेको छ,’ उनले भने, ‘होलीमा सद्भाव, सौहाद्रताका लागि व्याकुल समाज अहिले सुरक्षा खोज्दै हैरान हुन्छन्।’

साहित्यकार डा. राजेन्द्र विमलका अनुसार मानव जीवनमा रंगको महत्वपूर्ण स्थान रहेको बताउँछन्। होलीको रंगले देशको हिमाल पहाड र मधेस सबै क्षेत्र समुदायलाई जोडेको छ। होलीको रंगले जाती, धर्म, समुदायलाई रंगीन बनाएको छ।

संस्कृतिका जानकार रमेश रञ्जनका अनुसार पछिल्लोसमय होली पर्वमाथि संस्कृतिभन्दा प्रविधि हावी भएको छ। समाजिक संजालमा आफ्नो उपस्थिति देखाउन मात्र सांकेतिक रूपमा भद्दा स्वरूपमा पर्व मनाउन थालियो। पर्वलाई बजारले जित्यो यथार्थमा पर्व व्यापार भयो व्यापारीहरूका लागि अवसर भयो।  

यसरी सुरु हुन्छ होली

अरू ठाउँमा मनाईने होली र मिथिलाञ्चलको होलीमा मौलिक फरक छ। मिथिलाञ्चलमा फागु पर्वमा सहभागी हुन नवविवाहिताहरू माइती आउँछन्। ज्वाइँलाई पनि पहिलो फागु खेल्न निम्तो पठाइन्छ। मिथिलाका सबै सांस्कृतिक पर्वमा महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ। महिला सहभागिताबिना होलीको कल्पनासमेत गर्न नसकिने मिथिला संस्कृतिका जानकार झा बताउँछन्। मिथिलाको होली घरमूली महिलाको पूजाबाटै सुरु हुन्छ।

मालपुवा, खिरजस्ता परिकारहरू घरगोसाइँ (कुल देवता) लाई प्रसादका रूपमा अर्पण गरिन्छ। सँगै रङ अबिर पनि पतल (प्रसाद) मा राखिन्छ। घरमूली महिलाको पूजा सकेपछि बल्ल होलीको उमंग सुरु हुन्छ।

एक दशक अघिसम्म मिथिलाञ्चलका टोल–टोलमा वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै राति फागु गीत गाइन्थ्यिो। ग्रामीण इलाकाबाट लोप हुन लागेको फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्कला परिषद् जनकपुरधामले(मिनाप) विगत दुई दशक बढी समयदेखि जनकपुरधामको जानकी मन्दिर प्रांगनमा होरी महोत्सवको आयोजन गर्दै आएको छ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजन हुने दुई दिवसीय होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ। गीत–संगीतमा धनी मिथिलाञ्चलको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पीकर’ मा गीत बजाउने चलन आइसकेको छ। तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै जीवित छ।

मिथिलाको पे्रमिल होली

नन्द/भाउजु, भाउजु/देवर तथा साली/भिनाजुबीचको फागु मिथिलाञ्चलमा चर्चित छ। भाउजु/देवर तथा साली/भिनाजुबीचको प्रेम रहस्य पनि होलीमै खुल्छ। त्यो वासनायुक्त प्रेम नभई वात्सल्य प्रेमका रूपमा खुल्छ। यसमा यौन आकर्षणभन्दा पनि अभिभावकत्व प्रेम झल्किएको देख्न सकिन्छ। होलीमा देवर/भाउजूबीच जुन खुला रूपमा रंग र अबिरको खेल देखिन्छ, यस्ता दृश्यले देवर/भाउजूको प्रेमलाई सतहमा ल्याउँछ। मधेसको बन्द समाजमा होली नै यस्तो पर्व हो, जसले देवर/भाउजुको आत्मीयतालाई सतहमा ल्याइदिन्छ।

अँचरा में घुँघरु लगा दु पिया,

हम अलबेली पिया अलबेला,  

अर्थात् ‘मेरो आँचलमा बुट्टा भरिदेऊ प्रिय, किनकि म मातिसकें र तिमी पनि मातिसक्यौ।’ श्रीपञ्चमीदेखि सुरु हुने फागु गीतको शृंखला होलीसँगै सकिन्छ। 

यसकारण मनाइन्छ होली

विष्णुपुराणमा उल्लेख गरिएअनुसार, दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिका नाममा यो पर्वको नामकरण भएको हो। होलिकाको दहन भएको खुशीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाउँदै  आएका छन्।

हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो। तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान विष्णुको पूजा गरिरहे। प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरियो।

ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलीकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने बस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो। उल्टै आगोमा होलिका नै जलेर भष्म भइन्। असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन। असत्यमाथि सत्यको विजय भयो। त्यसपछि, सोही तिथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
२७ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस