काठमाडौं–भूकम्पविदले भूकम्पका प्रकृतिमा नझुक्किन सर्वसाधारणलाई अपिल गरेका छन् । उनीहरुले कम्पनका तीन वटा प्रकृति हुने जानकारी दिएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पवीद मुकुन्द भट्टराईका अनुसार तीनमा भुकम्प (मेन शक) , पराकम्पन (आफ्टर शक) र पूर्व कम्पन (प्रि शक) पर्छन ।
बैशाख १२ गतेको ७.६ रेक्टर स्केलको भूकम्पलाई मेन शक हो । त्यसपछिका सबै कम्पनहरु पराकम्पन हुन ।
‘यीनीहरुको मान र समयका आधारमा प्रकृति छुट्टाएका हुन्छौ’, उनले भने । भट्टराईका अनुसार सुरुमा आउने ठूला धक्का वा कम्पनलाई भूकम्प भनिन्छ । त्यस लगत्तै आउने साना धक्का वा कम्पनहरु सबै पराकम्पन हुन । ‘एउटा ठूलो धक्का पछि त्यो धक्काले फटाएका धाजाहरुमा आउने त्यो भन्दा कम्पनहरु सबै पराकम्पन हुन’, उनले भने ।
भट्टराईका अनुसार पराकम्पन ठूलो धक्का लगत्तै केही दिन, केही साता, महिना र बर्षसम्म जान सक्छन् । अहिले १२ गतेको भुकम्पले बनाएका धाजाहरुमा पराकम्पनहरु गएका छन । बिशेषगरी गोरखादेखि दोलखाबीचको १३०किलामिटर बीचका चट्टानहरुका भएका धाजाहरुमा पराकम्पन गइरहेका छन् ।
यसैगरी उनका अनुसार कुनैपनि ठूलो भूकम्प आउनु अघि त्यस क्षेत्रमा जाने मुख्य भूकम्प भन्दा सानो धक्कालाई पूर्व कम्पन भनिन्छ । अझ मूख्य भूकम्प आउनु अघिको सानो मान भएको भूकम्पलाई पूर्व कम्पन भनिन्छ ।
‘पूर्व कम्पन र पराकम्पन भन्दा ठूलो धक्का लाई भूकम्प वा मेन शक भनिन्छ’, भट्टराईले भने । उनका अनुसार बैशाख १२ गतेको पहिलो धक्का भूकम्प हो । त्यसपछिका सबै धक्काहरु पराकम्पन हुन ।