पाल्पा-पाल्पा, नवलपरासी र कास्कीका लालपुर्जाविहीन जग्गाधनीले लालपुर्जा पाउने भएका छन्। अव्यवस्थित घरजग्गालाई लालपुर्जा वितरण गर्ने वैधानिक बाटो बुधबार खुलेको छ। भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यी जग्गाधनीलाई लालपुर्जा दिने प्रस्ताव मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पेश गरेको थियो।
बुधबार बिहान बसेको समितिको बैठकले प्रस्ताव पारित गरेको हो। तीन जिल्लाका २२ सय ७ अव्यवस्थित बसोबासी परिवारले लालपुर्जा पाउने भएका हुन्।
पाल्पा रामपुर नगरपालिकाका वडा नम्बर ७, ९ र १०, नवलपरासीको नयाँबेलहानी गाविस २ र लेखनाथ नगरपालिका ९ लामास्वाराका अव्यवस्थित जग्गाधनीले प्रमाण पुर्जा पाउनेछन्। मन्त्रालयले गएको चैत १६ गते मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो। पेश भएको प्रस्तावमा मन्त्रिपरिषदमा छलफल भएपनि टुंगो नलागेपछि मन्त्रिपरिषद्ले नै यसलाई १० दिनपछि चैत २६ गते आर्थिक तथा पूर्वाधार समितिमा निर्णय अधिकारसहित पेश गरेको थियो। लामो प्रक्रिया र छलफलपछि बुधबार बिहान बसेको समितिको बैठकले प्रस्ताव पारित गरेको भूमीसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले जानकारी दिए। मन्त्री रानाले नागरिकसँग भने 'प्रस्ताव पारित भएसँगै अब लालपुर्जा वितरणको प्रक्रिया असार महिनादेखि सुरु हुनेछ।'
रामपुरका जग्गाको लालपुर्जा १ वर्षभित्र वितरण गरिसक्ने लक्ष्य राखिएको छ। नवलपरासी र कास्कीका जग्गा भने थोरै भएकाले तीन महिनाभित्रै पुर्जा वितरण सकिने मन्त्री रानाले बताए। रामपुरमा १७ सय घरजग्गा यस्तो प्रकृतिका रहेको उनले बताए। 'यसका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गरिनेछ' मन्त्री रानाले भने 'समितिमा वन कार्यालय, मालपोत, नापी र नगरपालिकाका प्रमुख सदस्य रहनेछन्।' यो समितिले जिल्लामा लालपुर्जा वितरणको काम गर्नेछ।
लालपुर्जा वितरणको लागि निश्चित प्रक्रियासहितको छुट्टै निर्देशिका बनाइएको मन्त्री रानाले बताए। 'निर्देशिका तयार भैसकेको छ' उनले भने 'जेठ महिना भित्रै सर्कुलरसँगै निर्देशिका पनि जिल्लामा पठाइनेछ, असारदेखि काम सुरु हुनेछ।'
यसरी अव्यवस्थित जग्गा व्यवस्थित हुँदा सरकारको राजश्वसमेत बढ्ने जिल्ला मालपोत अधिकृत नवराज बरालले बताए। 'अहिलेसम्म ती जग्गाधनीले सरकारलाई राजश्व तिर्दैनथे' उनले भने 'अब लालपुर्जा बनेपछि भने नियमानुसार दस्तुर तिर्नुपर्छ।' यसरी जग्गा व्यवस्थित गर्दा सरकारको आम्दानीसमेत बढ्ने उनले बताए।
सरकारी जग्गामा लामो समयदेखि बसोवास गरिरहेकाहरुलाई यसरी लालपुर्जा दिन लागिएको हो। मन्त्री रानाले भने 'अहिले तीन जिल्लाको फाइल पास भएको छ अब क्रमशः अन्य जिल्लाका फाइलहरु पनि प्रस्तावित छन्।' उनले अर्को चरणका लागि सुर्खेत, तनहुँ र कास्कीका अव्यवस्थित जग्गाको फाइल अघि बढेको बताए। उनले भने 'असार महनामै ति फाइलहरु पनि पारित हुने विश्वाँस छ।'
अहिले लालपुर्जा वितरण गर्न लागिएका जग्गा स्थानीय सामुदायीक/सरकारी संस्थाले बिक्री गरेका जग्गा हुन्। तत्कालीन समयमा विद्यालय, क्याम्पस चलाउन आर्थिक अभाव हुँदा स्थानीय समुदायले यी जग्गा ती विद्यालय क्याम्पसलाई दिएको थियो। विद्यालय, क्याम्पसले ती जग्गालाई प्लटिङ गरी व्यक्तिलाई बेचेर आफ्नो लागि आर्थिक स्रोत संकलन गरे। जग्गा बिक्री भएको भए पनि ती संस्थाको नाममा लालपुर्जा नभएका कारण किन्ने व्यक्तिले लालपुर्जा पाएनन्, जग्गा पास भएन। तर संस्थाहरुले आफूले बिक्री गरेपछि खरिदकर्तालाई दिएको रसीदका आधारमा यी जग्गा खरिदबिक्री हुँदै आए।