काठमाडौ-चार म्याग्निच्युडभन्दा साना र ठूला अनुकम्पनको संख्या कम हुँदै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ गते गोरखा, बारपाक केन्द्रविन्दुको भूकम्पपछि हुम्लामा दुई र उदयपुरमा एक गरी चार म्याग्निच्युडमाथिका तीनवटा नयाँ भूकम्प गएका छन्।
केन्द्र प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार अघिल्ला दिनको तुलनामा धेरै अनुकम्पन गएका छन्। बुधबार साँझ ७ बजेसम्म चारवटा अनुकम्पन गए। आइतबार, सोमबार र मंगलबार भने एक–एक अनुकम्पन गएका थिए।
'प्रत्येक दिनको तथ्यांक भन्दा पनि समग्रमा हेर्नुपर्छ, अहिले अनुकम्पन घटिरहेका छन्,' उनले भने, 'अनुकम्पन कम हुने र फेरि बढ्ने क्रम भइरहेको छ।'
केन्द्र प्रमुख अधिकारी अनुकम्पन कुनै दिन बढेर छ/सात पनि हुन सक्ने बताए। 'हामी अझै पनि शक्तिशाली भूकम्प गएको दिन वैशाख १२ गते अघिको अवस्थामा फर्किसकेका छैनौं, सजक र सर्तक हुनुपर्ने अवस्था अहिले पनि छ,' उनले भने।
अधिकारीका अनुसार काठमाडौंमै केन्द्रविन्दु पारेर भूकम्प आउँछ भन्ने अनुमान यसअघि वैज्ञानिकहरूले कमै गरेका थिए। तर, यसपटक चार म्याग्निच्युडमाथिका करिब ९ वटा अनुकम्पनको केन्द्रविन्दु काठमाडौं नै छ।
'यसपटकदेखि केन्द्रविन्दु हुने रोग काठमाडौंमा पनि सरेको छ,' उनले भने, 'अबका दिनमा कम म्याग्निच्युडका अनुकम्पनलाई काठमाडौंबासीले सामान्य रूपमा लिनुपर्ने हुन्छ।'
अनुकम्पनको संख्या गत आइबारदेखि ह्वात्तै घटेको थियो। बुधबार साँझसम्म यो संख्या बढेर चार पुग्यो। अघिल्लो शनिबार ३, शुक्रबार ५, बिहीबार ७ र बुधबार ४ वटा अनुकम्पन गएका थिए।
अधिकारीका अनुसार चार म्याग्निच्युडभन्दा साना अनुकम्पन पनि पछिल्ला दिनमा घटेका छन्। 'पहिला पहिला यस्ता अनुकम्पन दैनिक १२–१३ सयको हाराहारीमा जान्थ्यो। अहिले दुई सयको हाराहारीमा छ। अब स्थिति सामान्यतर्फ जाला,' उनले भने।
वैशाख १२ गतेपछि २९५ वटा अनुकम्पन गएका छन्। नयाँ साना भूकम्प हुम्लामा २ पटक र उदयपुरमा १ पटक गए। हुम्लामा जेठ ८ गते ४ दशमलव ८ र जेठ १९ गते ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो भने उदयपुरमा वैशाख २७ गते ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
यी नयाँ भूकम्पले केही संकेत गरेका त होइनन् भन्ने नागरिकको जिज्ञासामा अधिकारीले भने, 'यस्ता अनुकम्पन यी क्षेत्रमा यसअघि पनि आइरहेकै हुन्। यिनले खासै अर्थ राख्दैनन्।'
उनका अनुसार त्यसै पनि औसतमा नेपालमा साना र अलि ठूला गरेर दैनिक चार–पाँचवटा अनुकम्पन सधै जान्थे। तर, तिनीहरूमध्ये धेरै चार म्याग्निच्युडभन्दा साना हुन्थे।
केन्द्रका अनुसार अनुकम्पनहरू भने शक्तिशाली भुकम्पको केन्द्रविन्दु र त्यसको प्रभावित क्षेत्रलाई केन्द्रविन्दु बनाएर आइरहेका छन्। विशेष गरी गोरखादेखि दोलखाबीचको करिब १ सय ३० किलोमिटर लम्बाइ र करिब ३० किलोमिटर चौडाइबीचमा अनुकम्पनले धक्का दिइरहेका छन्। पहिलो धक्काले इन्डियन प्लेटमा बनाएका फल्ट (धाँजा) मा बारम्बार अनुकम्पनका धक्का आइरहेका छन्। गोरखा, लमजुङ, नुवाकोट, रसुवा, धादिङ, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लामा केन्द्रविन्दु भएर अनुकम्पन आइरहेका छन्। यी जिल्ला भूकम्पबाट अति प्रभावित जिल्लामा पर्छन्।