झापा- झापाको बाहुनडाँगीका किसानलाई हात्तीको आक्रमणबाट हिउँदमा धान र बर्खामा मकैबाली जोगाउन सधैँ संघर्ष गर्नुपर्ने बाध्यता छ। गएको हिउँदमा आधाउधी धान भित्र्याएका किसान केही दिनयता मकै जोगाउन फेरि संघर्षरत छन्।
गाउँमा फेरि शुरु भएको हात्ती आतंकले स्थानीयबासीको भोकतिर्खा खोसेको छ। साँझ नपर्दै हुल बाँधेर आउने हात्तीको आक्रमणबाट मकै जोगाउन झापा बाहुनडाँगीका सयौं किसान रातभर जागै रहन बाध्य छन्। स्थानीयबासीको यस्तो प्रयासका वावजुद हात्तीले दर्जनौं किसानको थन्क्याउन तयार हुनै आँटेको मकै सखाप पारिदिएको छ। बाहुनडाँगीको वडा नम्बर १, २, ८ र ९ नम्बर वडाका सयौंले बाली जोगाउन यति कठोर रात गुजारेका हुन्।
सीमावर्ती भारतीय जंगलबाट आहाराको खोजीमा नेपाली वस्तीतिर आउने हात्तीले पाक्नै लागेको मकै खान मन पराउने अनुभवी पीडित किसानको भनाई छ। अन्न जोगाउन उनीहरुले अचेल निन्द्रा माया मारेका छन्। 'जेठ लागेदेखि नै हात्ती आतंक फेरि शुरु भएको छ', बाहुनडाँगी ९ तिरिङका शान्तप्रसाद न्यौपानेले भने। पूर्व जनप्रतिनिधि समेत रहेका न्यौपानेले हात्ती खेद्न स्थानीय प्रशासनले कुनै सहयोग नगरेको गुनासो गरे।
यतिबेला बाहुनडाँगीमा साँझ नपर्दै घरका युवा सदस्य खाना खाएर मेची किनारतिर हात्ती रुङ्न दौडिने गरेका छन्। वडा नम्बर ९ को पाटापुरदेखि दक्षिण बाहुनडाँगी बजारसम्मैको क्षेत्रमा हात्ती खेतमा पस्न नदिन किसानको जाग्राम नै चलेको छ। मेची पारीको भारतीय कोलाबारी जंगलमा दिनभर बस्ने हात्ती रात पर्दै गएपछि नेपालतिर आउने गर्छन्। वर्सेनि दोहोरिने यो समस्या हरेक वर्ष थपिएर आउने हात्ती संख्याले झन् पेचिलो पार्दै लगेको छ। 'एकै रातमा दुई सय वटाको हुल आउँछ', बाहुनडाँगीका अर्जुन राईले भने 'संख्या सधैं बढ्ने क्रममा छ।' अहिले हात्तीबाट जोगिन गाउँलेले आफ्नै खर्चमा किनेको ट्रयाक्टर प्रयोग गरिरहेका छन्। त्यसमा प्रयोग हुने इन्धन गाविस कार्यालयले हाल्दिने बताएको छ। तर, प्रतिबद्धता कार्यालयले अझै पूरा गरेको छैन।
अचेल मेची खोलामा गाउँलेका ६ वटा जति ट्रयाक्टर रातैपिच्छे व्यस्त हुने गरेका छन्। त्यसको हेडलाइट बालेर आवाज दिँदा हात्ती तर्सेर भाग्ने गरेको स्थानीय सुनाउँछन्। तर, एकातिरबाट खेद्दा अर्कोतिर गएर हात्तीले आक्रमण गर्ने हुँदा स्थानीयलाई आफ्नो खेतीबाली जोगाउन धौ–धौ परेको छ।