काठमाडौं- महानगरीय प्रहरी बृत्त स्वयम्भुका प्रहरी निरीक्षक पदमराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। फरार आरोपीसँग एक लाख रुपैयाँ बार्गेनिङ गरेको सूचनाको आधारमा अख्तियारले जोशीलाई होटल बज्रबाट नगद सहित पक्राउ गरेको हो।
स्रोतका अनुसार वृतमा हरि पोखरेल विरुद्ध कुटपिटको केस थियो। जेठ दोस्रो साता हरिले श्रीमतिलाई कुटपिट गरेको केस बृत्त सम्म पुगे पनि पोखरेल पक्राउ परेका थिएनन्। पीडितले उजुरी नदिए पनि प्रहरीले घटनास्थलको मुचुल्का गरी पोखरेलको गाडी नियन्त्रणमा लिएको थियो। सोहि केस मिलाउन जोशीले पैसाको माग गरेपछि पोखरेल अख्तियार पुगेका थिए।
रंगेहात पक्राउ गर्न अख्तियारले पैसा रेकर्ड राखि पोखरेललाई दिएर बज्र होटल पठाएका थिए। पोखरेलले जोशीको माग अनुसारको एक लाख रुपैँया दिएपछि डिएसपीको कमान्डमा गएको अख्तियारको टोलीले जोशीलाई नियन्त्रणमा लिएको थियो।