काठमाडौं-नेपाल चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झाले निजी मेडिकल कलेजहरुदले विद्यार्थी चिकित्सकमाथि शोषण गरिरहेको आरोप लगाएका छन्। राष्ट्र र आम नेपाली नागरिकप्रति कुनै दायित्वबोध नगरी कमाउन मात्रै लागि परेको भन्दै डा.झाले नियमनकारी निकाय निजी कलेज सामु निरीह बनेको आरोप लगाए।
नेपाल चिकित्सक संघले शनिबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै झाले पछिल्ला दिनमा विभिन्न मेडिकल कलेजमा विद्यार्थी त्यसको विरुद्ध अवाज उठाएरहेको बताए।
झाले नोबल मेडिकल कलेजले ४ हजारमा चिकित्सक विद्यार्थीलाई इन्टर्नसीप लगाइसकेको भन्दै ठूला कुरा गर्ने संचालकले विद्यार्थीसँग एक/दुई हजार रुपैँयामा बार्गेनिङ गरेर भिखमाग्ने काम गरिरहेको बताए। उनले केही दिनअघि इन्टनसिप विद्यार्थीहरुले समेत आन्दोलन गरेको प्रसङ्ग उठाउँदै यस्तौ शोषण कायम रहेमा अन्य कलेजका विद्यार्थी पनि चुप नबस्ने बताए।
पछिल्लो पटक इन्टर्नसीप शुल्क कम दिएकोभन्दै नोबल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन सुरु गरेका छन्। यस्तै संचालकहरुले पैसा उठाएर पठनपाठन बन्द गराए पछि जानकी मेडिकल कलेजका विद्यार्थी पनि आन्दोलनमा उत्रेका छन्।
'चिकित्सा शिक्षामा भविष्य खोजीरहेका केटाकेटीलाई किन काठमाडौ धाउन बाध्य बनाउँदै हुनुहुन्छ?' उनले भने। काउन्सिल र विश्वविद्यालयहरुले नेपालका कलेजलाई राम्रो होस भनेर नै १ सय जना मुस्किलले पढाउने क्षमता भएपनि १ सय ५० सिट दिएको स्मरण गर्दै अहिले जानकी डुब्ने अवस्थामा पुग्दा अन्य कलेजका संचालकहरु भने विद्यार्थीको भविष्यलाई लिएर मौन बसेको आरोप लगाए। 'संघ संस्था किन खोल्ने हो?' उनले भने, 'व्यापार गर्ने हो भने चिकित्सक हुँ भनेर हामीलाई सुझाब नदिनुस्,।
उनले देश र नेपाली विद्यार्थी प्रति इमान्दार हुन भनेर नै कलेजहरुप्रति सफ्टकर्नर भइरहेको बताए। 'भारतमा ७२ वर्ष नाघेका बुढाबुढी ल्याएर फ्याकल्टी बनाउँदा विरोध नगरेकै हो,' झाले भने, 'तर पनि तपाईहरु (निजी मेडिकल कलेज संचालक) सुध्रिनु भएन' निजी मेडिकल कलेजका संचालकहरुको एशोसियानप्रति लक्षित गर्दै भने। उनले कलेजलाई नियमन गर्न खोज्ने र इमान्दार चिकित्सकहरुलाई मेडिकल काउन्सिलमा पनि काम गर्न नदिने र छानिछानी फसाउँने खेल भइरहेको आरोपसमेत लगाए। उनले अब कलेजहरुलाई ठीक ठाउँमा ल्याउँन चिकित्सक संघ अगाडी बढ्नेसमेत चेतावनी दिए।