काठमाडौं-मेडिकल कलेजका विषयमा जिम्मेवार दुई निकायबीच मतभेद हुँदा जानकी मेडिकल कलेजका तीन सयभन्दा बढी विद्यार्थी व्यवस्थापनको विषय झन् अन्योलमा परेको छ।
सम्बन्धन र पठनपाठनको गुणस्तरमा जिम्मेवार प्रमुख दुई निकाय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र नेपाल मेडिकल काउन्सिलबीच विद्यार्थी व्यवस्थापन विषयमा दुई सातायता जारी विवाद टुंगोमा पुग्न सकेको छैन।
कलेजका विभिन्न सेमेस्टरमा अध्ययरत विद्यार्थी दुई सातादेखि नै दैनिक यी दुवै निकाय धाएर पदाधिकारीलाई दबाब दिइरहेका छन्।
उनीहरुको एक अर्बभन्दा बढी रकम उठाएर सञ्चालक पठनपाठन र अस्पतालसमेत सुचारु गर्न नसकेपछि त्यहाँ अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीको पैसा र भविष्य अन्योलमा परेको छ।
जानकीका विद्यार्थी रागभसिंह मेहताले केही दिनभित्रै निर्णय भएर पढाइ नहुने हो भने परीक्षाका लागि कक्षा उपस्थिति नपुगेर भर्ना परीक्षामा सामेलसमेत हुन नमिल्ने अवस्था आउने बताए।
'त्रिवि नियामअनुसार परीक्षामा समेल हुन ७५ प्रतिशत हाजिरी पुग्नुपर्छ,' उनले भने, 'हाम्रो भविष्य चौपट भएको छ तर सरकारी पदाधिकारी आ–आफ्नै स्वार्थको लडाइँमा छन्।'
आइओएमले गत जेठ तेस्रो सातामै कलेजबाट हालै एमबिबिएस पास भएका विद्यार्थीलाई गण्डकी मेडिकल कलेजमा इन्टर्नसिप गराउने र मौकापरीक्षा दिने विद्यार्थीको परीक्षाकेन्द्र जानकीबाट खारेज गरी चितवन मेडिकल कलेज सार्ने निर्णय गरिसकेको छ। हाल अध्ययनरत करिब साढे ३ सय विद्यार्थी अन्य कलेजमा सार्ने निर्णय गरिसके पनि सहमतिका लागि काउन्सिल पठाएको थियो तर काउन्सिलले सहमति नदिई अधिकतम कोटाभन्दा बढी विद्यार्थी नराख्ने गरी र सम्बन्धनबारे समेत स्पष्ट जवाफ दिन भन्दै मंगलबार आइओएमलाई पत्राचार गरेको छ।
जानकीका विभिन्न सेमेस्टरमा अध्ययनरत साढे ३ सयभन्दा बढी विद्यार्थीलाई आइओएमले मातहत कलेजमा व्यवस्थापन गर्न अनुमति मागेकोमा काउन्सिलले गुणस्तरमा असर पर्ने भन्दै बखेडा झिकिरहेको आइओएमका अधिकारीको आरोप छ।
आइओएमले नयाँ भर्ना रोकिसकेको अवस्थामा पुराना विद्यार्थीको व्यवस्थापन गरे पनि सम्बन्धन भने खारेजी नगर्ने पक्षमा देखिएको छ तर नेपाल मेडिकल काउन्सिलका अधिकारी भने घुमाउरो तरिकाले कलेजको सम्बन्धन नै खाजेरी गरेपछि मात्रै विद्यार्थी व्यवस्थापन गर्नुपर्ने पक्षमा देखिएका छन्।
आइओएमका डिन डा. राकेशप्रसाद श्रीवास्तवले आइओएमले विद्यार्थी व्यवस्थापनका लागि प्रस्ताव पठाए पनि अधिकतम विद्यार्थी भएका ठाउँमा थप विद्यार्थी पठाउन नमिल्ने बताएको जानकारी दिए। 'हामीले व्यवस्थापन गर्न खोजेकै हौ, काउन्सिलको सहमति चाहिन्छ,' उनले भने, 'नआएर रोकिइरहेको छ।'
आइओएमले पछिल्लोपटक नेपाल आर्मी र किस्टलगायतका कलेजमा सिट क्षमता बढेको र अघिल्ला वर्षमा कम सिटमा विद्यार्थी पाए पनि अब थप पठाउन सकिने प्रस्ताव गरेको छ। तर काउन्सिलका अधिकारीले भने जुन ब्याजमा जति सिट पाएको हो, त्यसको ब्याजमा १० प्रतिशत मात्रै लचक हुने गरी खाली भएका सिटमा व्यवस्थापन गर्न भनेको छ।
आइओएम जानकीको सम्बन्धन खारेज गरिनहाल्ने तयारीमा रहे पनि काउन्सिलका अधिकारी भने नयाँ भर्ना लिने र पुनः समस्या दोहोरिने भन्दै सम्बन्धन नै खारेज नै गर्नुपर्ने पक्षमा छन्। डिन डा. श्रीवास्तवले भने विद्यार्थीविहीन बनाए पनि सम्बन्धन खारेजी गरिहाल्नु नपर्ने बताए।
'अहिले थुप्रै कलेज सम्बन्धनका लागि मारामार गरिरहेको अवस्थामा डुबेको कलेज कसैले किनेर राम्रोसँग चलाउन खोज्छ भने किन बाटो बन्द गर्ने?' उनले भने।
काउन्सिल अध्यक्ष डा. धर्मकान्त बास्कोटाले भने विद्यार्थी व्यवस्थापनमा अवरोध गरेको नभई गुणस्तर कायम हुने गरी नियमानुसार व्यवस्थापन गर्ने आधार खोजेको बताए। 'कहाँ/कहाँ कसरी विद्यार्थी पठाउनुहुन्छ, विस्तृत दिनुस् र सम्बन्धनको अवस्था के छ भनेर पनि स्पष्ट जवाफ दिनुस् भनेर आइओएमलाई पत्र पठाएका छौं,' बास्कोटाले भने।
काउन्सिलको मंगलबारै बसेको बैठकले समेत आगामी दिनमा पनि कलेजहरु कोल्याप्स हुने अवस्था आए के गर्ने भन्ने भिजन बनाउन नयाँ समिति बनाउने निर्णय गरेको छ।
काउन्सिल मापदण्डअनुसार कुनै पनि मेडिकल कलेजले बढीमा एक वर्षमा क्षमताअनुसार बढीमा १ सय ५० विद्यार्थी भर्ना गराउन सक्छन्। नियमित सम्बन्धन दिने, परीक्षा, भर्ना र सर्टिफिकेसनको जिम्मेवारी सम्बन्धित विश्वविद्यालयको हो। काउन्सिलले सो प्रक्रिया र नियमबाट गुणस्तर कायम भए–नभएको हेर्ने र जाँच्ने गर्छ।
उच्च स्रोतका अनुसार आइओएम पदाधिकारी कोटाभन्दा कम विद्यार्थी भएको र सय कोटा मात्रै पाएको गण्डकी मेडिकल कलेजमा सबैभन्दा बढी विद्यार्थी पठाउने तयारीमा छन्। अन्य मेडिकल कलेजले त्यसको विरोध गरिरहेका छन्। 'केही सञ्चालकले आइओएम अधिकारीलाई समातेर खेलिरहेका छन्,' काउन्सिल उच्चस्रोतले भन्यो, 'अन्यले काउन्सिल अधिकारीमार्फत खेलिरहेका छन्।'
'जानकी कलेज कोल्याप्स नै भएको हो, हुने प्रक्रियामा हो, सम्बन्धन के हुन्छ भन्नेमा त यकिन जवाफ दिनुपर्योय नि,' अध्यक्ष बास्कोटाले भने।