झापा-विद्यार्थी अभावको पीडाले चल्नै मुस्किल अवस्थामा पुगेका जिल्लाका सामुदायिक उच्च मावि र क्याम्पसका लागि प्राविधिक विषय पुनर्जीवनको आधार बनेको छ। सैद्धान्तिक विषयका भरमा मात्रै उच्च मावि तथा कलेजमा विद्यार्थी आकर्षित नहुने पक्का भएपछि प्राविधिक शिक्षाको बाटो रोजेका शिक्षालयले छोटो समयमै परिवर्तन अनुभव गरेका छन्।
सुरुको दशक विद्यार्थीको भीड थामिनसक्नु हुने झापाको धुलाबारी क्याम्पसमा २०५८ सालपछि विद्यार्थीको खडेरी लागिरह्यो। विद्यार्थी अभावकै कारण नयाँ शैक्षिक क्यालेन्डर सुरु हुनासाथ क्याम्पसलाई विद्यार्थी खोज्नको हैरानी हुन्थ्यो। निजी उमावि र कलेजले दिने आकर्षक सेवा–सुविधाका अघि समुदायले चलाएको यो क्याम्पसले दिने आकर्षण केही हुँदैनथ्यो। 'समुदायको सम्पत्ति भएका कारण यही क्याम्पसमै पढिदिन' गरिने आग्रहले मात्रै विद्यार्थी र अभिभावकलाई कहिल्यै आश्वस्त पार्दैनथ्यो। यही समस्याले क्याम्पस लामो समयसम्म विद्यार्थीविहीनजस्तो भयो। कक्षा ११ र १२ हटाउन बाध्य भयो।
तर, अघिल्लो वर्षदेखि यो क्याम्पसको रौनक बेग्लै छ। एसएलसी उत्तीर्ण विद्यार्थीका लागि लक्षित गरेर 'सिभिल सब–ओभरसियर' को कक्षा सुरु गरेपछि क्याम्पसले विद्यार्थी होइन, विद्यार्थी चाहिँ क्याम्पस खोज्दै आउन थालेका छन्। सिटिइभिटी मातहतको यो कक्षा चलाउन अघिल्लो शैक्षिक वर्षको अन्तिममा धुलाबारी क्याम्पसले अनुमति पाएको थियो। दुई–तीन दिनको तयारीमै ३५ भन्दा बढी विद्यार्थीले भर्ना लिए। यसपटक एसएलसी नतिजा आउनुअघि नै सयौं विद्यार्थी क्याम्पसमा सिट सुरक्षाका लागि आग्रह गर्न आइसकेका थिए।
'सिभिल सब–ओभरसियरको कक्षाले क्याम्पसलाई पुनर्जीवन दिएको छ,' क्याम्पस प्रमुख पुष्पराज पौडेल भन्छन्, 'यसपटक सम्पर्कमा आएजति सबैले भर्ना लिन चाहे भने व्यवस्थापन गर्न हम्मे पर्ने अवस्था छ।' प्राविधिक कक्षाले कलेजलाई राम्रो अवस्थातिर लैजाँदै गरेको उनको भनाइ छ। 'हामी ओभरसियरको कक्षा पनि चलाउने तयारीमा युद्धस्तरमा लागेका छौं,' उनले आत्मविश्वासपूर्वक सुनाए, 'यदि यही रूपमा चलाउन सक्यौं भने क्याम्पसले आफूलाई समुदायको वास्तविक सम्पत्तिका रूपमा स्थापित गर्नेछ।'
१५ महिने कोर्सको अन्तिम तीन महिना बाँकी भएकै अवस्थामा पनि कलेजका अधिकतर विद्यार्थीले विभिन्न ठाउँका कन्सल्टेन्सीहरूमा जागिर पाइसकेको उनले जानकारी दिए।
समुदायले आफ्नै गाउँघरमा विद्यार्थीले उच्च शिक्षाको अवसर पाऊन् भन्ने अपेक्षासहित ठाउँ–ठाउँमा सामुदायिक कलेज स्थापना गरेका छन्। तर, पाँच–सात वर्षयता उच्च शिक्षामा चलेको होडले विद्यार्थीलाई बढी निजीतिरै तानेको छ। आफ्नो ठाउँको 'गौरव' बढाउने रहरमा झापाका गावैंपिच्छेजसो खुलेका धेरै सामुदायिक क्याम्पसहरू अहिले समुदायका लागि 'छोड्नु न समाउनु'को अप्ठ्यारो बनेका छन्। उच्च आर्थिक घाटा, बर्सेनि घटेको विद्यार्थी संख्या तथा आयस्रोतसमेत नभएका क्याम्पस यतिबेला समुदायका निम्ति 'टाउको दुखाइ' बनेका छन्।
'पहिले क्याम्पस भएको ठाउँ बनाउने रहरमा क्याम्पसहरू खुले,' अनारमनी पब्लिक क्याम्पसका प्रमुख मोहन शिवाकोटी स्वीकार्छन्, 'तर, अहिले केहीले बाहेक धेरैले नियमित चल्न पनि चन्दाको मुख ताक्नुपर्ने अवस्था छ।' १५ वर्षभन्दा लामो समयदेखि विभिन्न सामुदायिक क्याम्पसमा जोडिएका शिवाकोटीको यो स्वीकारोक्ति जिल्लाका २० त्यस्तै शैक्षिक संस्थाको साझा सकस हो। यसले शिक्षकलाई तलब दिन पनि कोही न कोही दाताको मुख ताक्नुपर्ने अथवा वर्षमा एकपटक पुराण लगाएर दानको आस गर्नुपर्ने अवस्था छ।
विद्यार्थी आकर्षण नगन्य हुनु सामुदायिक क्याम्पस थलिनुको पहिलो कारण हो। पाँच–सात वर्षअघिसम्म कक्षाकोठाले थाम्नै नसक्नेगरी विद्यार्थीको चाप हुने क्याम्पसमा वर्षमा दुई सय नयाँ विद्यार्थी पनि थपिँदैनन्। 'विद्यार्थीले रोजेको विषय पढाउन सामुदायिक क्याम्पसले सकेका छैनन्,' धुलाबारी क्याम्पस अध्यक्ष भीम खवास भन्छन्, 'नयाँ विषय पढ्न रुचाउने विद्यार्थी महँगो शुल्क तिरेर भए पनि निजी कलेज जान्छन्। तर, प्राविधिक विषयले विद्यार्थी संकट टार्नेरहेछ।'
प्राविधिक शिक्षा नै सामुदायिक शिक्षालयको बलियो सहारा बन्ने झापाकै धुलाबारी उमाविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौंलागार्इं बताउँछन्। भन्छन्, 'सामुदायिक शिक्षालयलाई विद्यार्थीसँग अनेक शीर्षकमा शुल्क लिने उपाय हुँदैन। यस्तो अवस्थामा जति धेरै विद्यार्थी भए, शिक्षालय चलाउन उत्तिकै सहज हुनेरहेछ। यो प्राविधिक विषय पढाउँदा मात्रै सम्भव हुन्छ।'
धुलाबारी उच्च माविमा अहिले कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान र सहकारी व्यवस्थापन विषय पढाइ भइरहेको छ। कम्प्युटर विज्ञान प्राविधिक तथा सहकारी व्यवस्थापन पनि 'सेमी प्राविधिक' र नौलो विषय भएका कारण विद्यार्थी आकर्षण उच्च रहेको विद्यालयको भनाइ छ। 'यी विषयकै आकर्षणका कारण विद्यार्थी संख्या उच्च छ,' सहायक प्रधानाध्यापक चौंलागाईंले भने, 'अहिले कक्षा ११ मा मात्रै एक सय ५३ विद्यार्थी छन्। यो सुविधायुक्त निजीको भन्दा पनि राम्रो अवस्था हो।'
प्राविधिक शिक्षामा विद्यार्थी आकर्षण बलियो देखेरै यो स्कुलले विद्यालय तहमा पनि प्राविधिक कक्षा चलाइरहेको छ। कक्षा नौदेखि नै पशु विज्ञान पढाइ सुरु गरेको छ। पहिलो पटक यही विषय पढ्ने २८ जनाले एसएलसी पास गरिसकेका छन्। दोस्रोपटक ३५ ले र आउँदो वर्षका लागि ४५ विद्यार्थीले पशु विज्ञानमार्फत् प्रवेशिका दिनेछन्। उनीहरूलाई नै लक्ष्य गरेर कक्षा ११ र १२ मा पनि पशु विज्ञान पढाउने तयारीका लागि प्रक्रियामा जुटेको स्कुलले जानकारी दिएको छ।
विद्यार्थी आकर्षण बढाउन प्राविधिक शिक्षा अनिवार्य रहेको अनुभव मेची अञ्चलकै सबैभन्दा ठूलो शैक्षिक प्रतिष्ठान मेची बहुमुखी क्याम्पस भद्रपुरसँग पनि छ। अन्यत्र जतिसुकै ठूला कलेज भए पनि क्याम्पसमा पाँचदेखि सात हजार विद्यार्थी सधैं हुने मेचीमा केही वर्षयता यो संख्या १४–१५ सयमा घटेको छ। तर, त्रिभुवन विश्वविद्यालयले यो क्याम्पसमा 'बिएस्सी इन टी–टेक्नोलोजी एन्ड म्यानेजमेन्ट' विषयको पढाइ सुरु गरेपछि क्म्याम्पसमा विद्यार्थी आकर्षण ह्वात्तै बढेको छ। 'कोटाभन्दा माथि भर्ना लिन मिल्दैन,' क्याम्पसका पूर्वप्रमुख चिन्तामणि दाहाल भन्छन्, 'अन्यथा यो विषयमा स्नातक पढ्न आउने विद्यार्थीको संख्या ठूलो छ।'
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार निम्न र मध्यम आर्थिक हैसियत भएका परिवारका विद्यार्थीका लागि प्राविधिक शिक्षा पहिलो रोजाइमा पर्छ।