रोगजारी पाएका र रोजगारी नपाएकालाई उदाहरण दिएर भन्ने गरिन्छ– हातमा सीप भए जहाँ पनि बिकिन्छ। रोजगारी अवसरको खडेरीको अवस्थामा सीप र रोजगारी दुवैको अवसर कता होला? भर्खर एसएलसी पास भएका आधाभन्दा बढीलाई यही प्रश्नले सताइरहेको होला।
बजारमा सहज रोगजारी वा सजिलै आत्मनिर्भर हुन खोज्नेका लागि प्राविधिक शिक्षा तथा कुनै खालका व्यावसायिक तालिम उपयुक्त हुने विज्ञहरु बताउँछन्। पछिल्ला केही वर्षदेखि यस्तै सीपयुक्त तालिम र व्यावसायिक शिक्षाप्रतिको आकर्षण बढिनै रहेको छ। विज्ञहरु भन्छन्, 'राज्यका तर्फबाट रोजगारीका ठूला अवसर सृजना नभए पनि बढ्दो जनशक्तिले रोजगारीको सम्भावनालाई फराक बनाउँदैछ।'
शिक्षालाई बेरोजगार उत्पादन गर्ने थलो भन्दै आलोचना गर्नेले जागिर खानुलाई आधार बनाउनेका लागि प्राविधिक शिक्षा महŒवपूर्ण हुने बताउँछन्। उनीहरुले राष्ट्रिय अर्थतन्त्रमा टेवासमेत प्राविधिक शिक्षाबाट सृजित जनशक्ति र रोजगारीबाटै बढी भएको बताएका छन्। बजारमा अवसरको कमी तथा आयआर्जन गर्न गाह्रो हुँदै गएको अवस्थामा साधारण शिक्षाको तुलनामा व्यावसायिक शिक्षाको महŒव बढ्दै गएकोमा शिक्षाविदको पनि सहमति छ। 'रोजगारीको सहज अवसर र साथमा सीप पनि हुने भएकाले प्राविधिक शिक्षाप्रति आकर्षण हुनु स्वाभाविक नै हो,' शिक्षाविद विद्यानाथ कोइरालाले भने।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)का सदस्यसचिव रामहरी लामिछानेका अनुसार अहिले युवाको आवश्यकता र सोअनुसार ज्ञान र सीपको संयोजन मिलाउन नसक्दा बजारले जनशक्ति नपाउने र जनशक्तिले बजार नपाउने अवस्था छ। उनले भने, 'मान्छेहरु रोजगारीका नाममा सहरमा थुप्रेका छन्, गाउँमा खेतबारी बाँझै छ,' उनले थपे, 'रोजगारी चाहने मान्छे र गाउँमा रहेका सम्भावनाबीच रहेको ग्याप मेट्दै बाटो देखाइदिन प्राविधिक शिक्षाको भरोसा छ।' अधिकारीहरु प्राविधिक शिक्षालाई गरिखाने शिक्षा भन्छन्।
प्राविधिक शिक्षातर्फ सबैभन्दा ठूलो सम्भावना स्वास्थ्यका विषयमा छ। पहिलो, अस्पताल र कलेज खुल्ने क्रम जारी छ। सरकारी संरचनामा उपस्वास्थ्य चौकीदेखि ठूला अस्पतालसमेत मध्यमस्तरीय जनशक्तिका रुपमा काम गर्ने स्वास्थ्य सहायकको माग छ। यो अवसर अस्पताल एवं समुदायमा आधारित स्वास्थ्य सम्बन्धी कार्यक्रममा पनि छ। यो पढाइ पूरा गरे पनि पब्लिक हेल्थ विषयमा स्नातक अध्ययन गर्न पाइन्छ।
औषधि उत्पादनका लागि करोडांै लगानीमा ४० वटा उद्योग स्थापना भएका छन्। सरकारले औषधि पसल सञ्चालनका लागि फर्मासिस्ट अनिवार्य नै हुनुपर्ने व्यवस्था गरेको छ। डिप्लोमा इन फार्मेसी तहको पढाइपछि औषधि बजारको जनशक्तिका रुपमा तयार हुन्छ। त्यसै पनि अस्पतालदेखि औषधि कम्पनी तथा औषधि पसलमा रोजगारीको सम्भावना छ। रोजगारी अवसरको तुलनामा उत्पादिन जनशक्ति अपर्याप्त रहकाले फार्मेसीमो सम्भावना बढी छ।
निजी तहमा छुट्टै प्रयोगशाला खुल्ने क्रम बढ्दैछ। मुलुकभर ५० भन्दा बढी कलेजमा मेडिकल ल्याबसम्बन्धी पढाइ हुन्छ। यसलाई मध्यनजर राख्दै जनशक्ति उत्पादन गर्ने टेक्नोलोजी बिएमएलटी विषय पनि पढ्न पाइन्छ। अस्पतालका एक्सरे विभागमा रोजगारीका लागि डिप्लोमा इन रेडियोलोजी अध्ययन गरे पनि रोजगारीको अवसर छ। १७ शिक्षालयमा पढाइ हुने डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको माग विदेशमा पनि छ। पढाइको आँकडाअनुसार व्यावसायिक र सीपयुक्त तालिम लिएपछि रोजगारीको अवसर पनि प्राप्त हुने भएकाले छोटो अवधिको तालिम पनि युवामाझ लोकप्रिय छ।
परिषद अधिकारीहरुका अनुसार हालसम्म शिक्षा लिएकामध्ये करिब ७० प्रतिशत जनशक्ति कुनै न कुनै रोजगारीमा छन्। व्यावहारिक सीपबिनाको शैक्षिक बेरोजारी बढेपछि प्राविधिक शिक्षाको माग र औचित्य दुवै बढ्दो छ। रोजगारीका दृष्टिले प्राविधिक शिक्षामा धेरै अवसर छ। सदस्यसचिव लामिछानेका अनुसार विकासका लागि भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा बढी लगानीको आवश्यकता रहेकाले त्यसमा राज्यले नै प्राविधिक शिक्षा प्रवर्द्धनको नीति लिनुपर्छ। सिटिइभिटीका सबै प्राविधिक शिक्षालयबाट कृषिसम्बन्धी प्राविधिक शिक्षा हासिल गर्न सकिन्छ। कृषि प्राविधिकका रुपमा दक्षता हासिल गरेपछि काम खोज्न भौंतारिनु पर्दैन। सरकारी तथा गैरसरकारी क्षेत्रमा यस्ता जनशक्ति खपत हुनसक्ने विज्ञ बताउँछन्। यसबाहेक परम्परागत विषयभित्र पनि नयाँ सम्भावना उत्तिकै छ। कृषिविधामा आइएस्सी एजीको तीनवर्षे पढाइ हुन्छ। यो पढाइ पूरा गरेपछि बिएस्सी कृषि तथा पशुपालन अध्ययन गर्न सकिन्छ। कृषितर्फ डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजीमा तीनवर्षे पढाइ हुन्छ।
थोरै खर्च र छोटो समय शिक्षामा लगानी गरेर तत्कालै व्यवसाय गर्ने अवसर प्राविधिक शिक्षाले दिनसक्ने लामिछाने बताउँछन्। विज्ञहरु उच्च तह अध्ययनका लागिसमेत यसले अवरोध नगर्ने भएकाले यसलाई सीप र प्राज्ञिक ज्ञानको बाटो रोज्नसक्ने दोबाटोका रुपमा लिन्छन्।
सरकारले प्राविधिक शिक्षाको प्रवर्द्धनका लागि २०४५ सालमा सरकारी स्तरमा प्राविधिक शिक्षा प्रदान गर्ने उद्धेश्यले सिटिइभिटी स्थापना गरेको थियो। यो नै औपचारिक प्राविधिक शिक्षा प्रदान गर्ने पहिलो संस्था हो। पछिल्लो समयमा प्राविधिक शिक्षा दिने निजी संस्थाको संख्या बढ्दो छ। गीत, संगीत, फेसन डिजाइन, फाइन आर्ट, शिल्पकला जस्ता विषय मात्र होइन, अहिले विश्वमै लोकप्रिय आइटीले प्राविधिक शिक्षाको महŒवलाई अझ बढाएको छ।
त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य, वन र कृषि विषयमा अध्यापन थालेपछि विश्वविद्यालय तहमा प्राविधिक शिक्षाको औपचारिक सुरुआत भएको मानिन्छ। अहिले त्रिविबाहेक पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयले पनि इन्जिनियरिङ, स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा प्राविधिक शिक्षा दिने गरेका छन्।
शिक्षाविद कोइराला नेपालमै प्राविधिक शिक्षाको विस्तार गर्ने हो भने सीपबिना बिदेसिने युवाको संख्यामा उल्लेख्य कमी आउने बताउँछन्। 'प्राविधिक शिक्षाको यति धेरै माग छ तर पनि सरकारले यसलाई विस्तार गर्न सकेको छैन,' उनले भने, 'साधारण शिक्षालयसँगै सहकार्य गरेर सुलभ रुपमा प्राविधिक शिक्षा विस्तार गर्ने हो भने शैक्षिक बेरोजगारी समस्या धेरै समाधान गर्न सकिन्छ।'
कुन विषय कति सिट
प्राविधिक शिक्षाको संयोजनकारी निकाय परिषदले शिक्षालयमार्फत प्राविधिक शिक्षा दिने, विभिन्न शैक्षिक संस्था तथा कलेजलाई सम्बन्धन दिने तथा सरकारी बजेटअन्तर्गत साधारण विद्यालयलाई सिटिइभिटीका प्रशिक्षकद्वारा तालिम तथा सामग्री दिने जस्ता कार्य गर्दै आएको छ। एसएलसी उत्तीर्णका लागि १५ महिने, एसएलसी सरह, र प्रवीणता प्रमाण तहको तीनवर्षे डिप्लोमा र एसएलसी फेल भएकाका लागि २९ महिने टी एसएलसी कोर्स सञ्चालन गर्दै आएको छ।
परिषदअन्तर्गत विभिन्न २१ आंगिक शिक्षालय, करिब ३ सय प्रवीणता प्रमाण तह, सय वटा टेक्निकल एजुकेसन सेन्टर र त्यत्तिनै संख्यामा छोटा अवधिका तालिम केन्द्र छन्। टिएसएलसी अन्तर्गत स्वास्थ्यतर्फ सिएमए, अनमी, ओरल हाइजिन, ल्याब टेक्निसियन, आम्ची, आयुर्वेद र अकुपन्चर तालिम हुन्छ। टिएसएलसीको इन्जिनियारिङतर्फ मेकालिनक, सर्भे, सिभिल, जुनियर, कम्युटर, अटोमेकानिक्स, रेफ्रिजेरेटर एन्ड एयर कन्डिसनिङ र सेनिटरी इलेक्ट्रोनिकलको पढाइ हुन्छ। कृषितर्फ जेटिए, प्लान्ट साइन्स, टेक्सटायल साथै होटल व्यवस्थापन, सोसियल मोबिलाइजेसन, अफिस व्यवस्थापन र उद्यमशीलता विषय पढाइ हुन्छ।
त्यसैगरी, डिप्लोमा (प्रवीणता प्रमाण) तहमा स्वास्थ्यतर्फ सामान्य चिकित्सा, नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजिस्ट, रेडियोग्राफी, डेन्टल साइन्स, फार्मेसी, आयुर्वेद र नेत्ररोग विषयमा पनि पढाइ हुन्छ। परिषदका अनुसार इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिक्स, इलेक्टोनिक्स, मेकानिकल, अटोमेकानिकल, आर्किटेक्चर, कम्प्युटर, सर्भे र सूचनाप्रविधि विषयमा पनि तीनवर्षे प्रवीणता प्रमाण तहको पढाइ हुन्छ। कृषितर्फ प्लान्ट साइन्स, एनिमल साइन्स, फुड एन्ड डेरी टेक्नोलोजी, डिप्लोमा इन फरेस्ट्री, होटल म्यानेजमेन्ट पढाइ हुन्छ।
परिषदको आंगिक र सम्बन्धन प्राप्त गरी करिब सयभन्दा बढी कलेजमा नर्सिङ, १५ कलेजमा फार्मेसी, ४७ मा सामान्य चिकित्सा, ३१ मा सिभिल इन्जिनियारिङ, र ५ वटामा आर्किटेक्ट पढाइ हुन्छ। अन्य विषयसमेत गरी परिषदका आंगिक र सम्बन्धनप्राप्त कलेजसमेत गरी तीनवर्षे डिप्लोमा तह अध्ययनका लागि झन्डै १३ हजार विद्यार्थी पढ्न सक्ने क्षमता छ।
एसएलसी फेलमध्ये झन्डै २ हजार ५ सयका लागि प्राविधिक एसएलसीको कोटा छ। झन्डै १२ हजारका लागि १५ महिने तालिमको अवसर छ। तीबाहेक अध्ययन सीमा नरहेको छोटो अवधिका तालिम पाएर प्रत्येक वर्ष १५ हजार जनशक्ति तयार हुन्छन्। औपचारिक शिक्षा नपाएपछि प्लम्बिङ, कार्पेटिङजस्ता विषयमा तालिम विदेश जान चाहने युवामाझ लोकप्रिय छ।
केही वर्षयता नर्सिङको आकर्षण घट्दो छ। घट्दो अवसर र यो क्षेत्रमा व्याप्त श्रमशोषण्का कारण यसको आकर्षण घटेपछि फार्मेसी, सिभिल इन्जिनियरिङ, सामान्य चिकित्सा र कृषि विषयमा आकर्षण बढेको सिटिइभिटीको भनाइ छ। अहिलेको अवस्थामा सिभिलमा सतप्रतिशत, नर्सिङमा ९० प्रतिशत र कृषिमा ७० प्रतिशत खपत छ। अधिकांश विषयमा कलेजमा ३० देखि ४८ कोटा छुट्याइएको हुन्छन्। सिटका आधारमा दस प्रतिशत कोटा छात्रवृत्ति पाउँछन्। २ हजार ५ देखि ३ हजारले यस्तो छात्रवृत्ति पाउँछन्। व्यावसायिक शिक्षा अभिवृद्धि परियोजना अन्तर्गत झन्डै त्यति नै विद्यार्थी छात्रवृत्तिमा भर्ना हुन्छन्।