काठमाडौं-स्वास्थ शिक्षा तर्जुमा उच्चस्तरीय कार्यदलले एमविविएस अध्यान शुल्क ३५ लाख तोक्न सिफारिस गरेको छ। कलेजहरुले एमविविएस अध्यान शुल्क ५२ लाख सम्म लिँदै आएका थिए।
कार्यदलले आज प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको प्रतिवेदनमा जथाभावि भर्ना रोकेर विद्यार्थीलाई मेरिटको आधारमा भर्ना गर्न समेत भनिएको छ।कार्यदलले चिकित्सा शिक्षामा देखिएका समस्या स्थायी समाधान गर्न छुट्टै आयोगको आवश्यकता औंल्याएको छ।प्रधानमन्त्री कोइरालाले प्रतिवेदन बुझ्दै देश पुनर्निर्माणको समयमा आएको प्रतिवेदनले नयाँ भिजन दिएको बताए।
प्रतिवेदन बुझाउने कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व गृहमन्त्री विजयकुमार गच्छदार र मूख्य सचिव लीलामणी पौडेलको समेत उपस्थिति थियो।कार्यदलले १० हजार जनसंख्याबराबर एक चिकित्सक र २३ स्वास्थ्यकर्मी हुने गरी जनशक्ति उत्पादन गर्न सिफारिस गरेको छ। समितिले विश्व स्वास्थ्य संगठनको 'युनिभर्सल हेल्थ कभरेज' को अवधारणाअनुसार स्वास्थ्यसंस्था स्थापना र जनशक्ति परिचालन गर्दा पनि हाल अभाव रहेका क्षेत्रमा पहुँच विस्तार गर्न सुझाएको छ।
केदारभक्त माथेमा संयोजकत्वको कार्यदलमा केयुका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, आइओएमका पूर्वडिनहरू डा.मदन उपाध्याय र डा. रमेशकान्त अधिकारी, पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्की, शिक्षण अस्पतालका पूर्वनिर्देशक डा. भगवान कोइराला र शिक्षा र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन्।