सडकमा भौँतारिने युवतीको कथा
०४ वैशाख २०७९
•
८ मिनेट पाठ
सडकमा भौँतारिने युवतीको कथा
एक दशक पहिलेसम्म सडकमा बस्ने, मदिरा र लागुऔषध दैनिक खाने, बटुवासँग मागेर वा लुटेर हातमुख जोड्ने एक महिला अहिले सडकमा बस्ने त्यस्तै बालबालिकालाई त्यसबाट बाहिर निस्कन सल्लाह दिन्छिन्। आफू जस्तै  खराब बानी छाडेर सामाजिक जीवन बिताउन उनले सडकका बालबालिकालाई प्रेरित गर्दै आएकी छन्।  




सडक बालबालिकाका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथ’मा आबद्ध भएर उनी सडक बालबालिकाका संरक्षण र उद्धारका काममा लागेकी छन्। दिउँसो संस्थामा र बिहान बेलुका अरू विभिन्न काम गरेर २६ वर्षीया उनले आफूसँगै दुई सन्तान र तीन भाइबहिनीलाई पाल्दै आइरहेकी छन्।  पारिवारिक अवस्थाका कारणले आफू सडकमा आउनु परे पनि सन्तानलाई सडकमा आउन नदिने अठोट उनले गरेकी छन्। उनले भनिन्, 'जसोतसो छोराछोरीलाई बोर्डिङमा पढाइरहेको छु।'

बिहेपछि पनि उनी पहिले सडकमा हुन्थिन्। सन्तान जन्माएपछि उनी ‘साथसाथ’का सम्पर्कमा गइन्। उनलाई त्यहाँ आफू खराब बाटामा भएको महसुस भई सन्तानलाई त्यसमा हिँडाउन हुँदैन भन्ने लाग्यो। बिहेपछि पनि केही समयसम्म उनी मदिरा र लागुपदार्थ खान्थिन्। सन्तान भएपछि भने त्यो पैसाले सन्तानलाई खानेकुरा किन्छु भनेर मन बाँधिन्। त्यसपछि उनलाई छोराछोरी सम्झेर लागुऔषध र मदिरा केही खान मन लागेन। उनले भनिन्,  “बच्चा पढाउनुपर्छ, तीन जना भाइबहिनीहरू सँगै छन्, उनीहरूलाई पनि पाल्नुपर्छ।”  

उनी सानो हुँदा पहिले हजुरबा–हजुरआमासँग,  त्यसपछि आमाबाबा र अहिले श्रीमान्सँग बस्छिन्। बाजेबज्यै नारायणथानमा मागेर जीविकोपार्जन गर्थे। उनीहरू बितेपछि आमासँग सडकमा बस्न गएको उनले बताइन्। अर्को विवाह गरेकी उनकी आमा त्यतिबेला श्रीमान्सँग सडकमै बस्थिन्।  

आमाले दोस्रो विवाहपछि बर्सेनि सन्तान जन्माईन्।  उनीलगायत सबै भाइबहिनीको रेखदेखका लागि आमाले केही गर्न नसकेको उनले बताइन्। उनले भनिन्, 'आफ्नै पेट कसरी पाल्ने भन्ने भएर होला, आमाले हामीलाई ध्यानै दिन सक्नुभएन।'

परिवारको बेवास्ताले गर्दा नै उनी सानैदेखि सडकमा मन लागेको ठाउँमा बस्ने र खाने गर्न थालिन्, बिहानैदेखि चुरोट, गाँजा खान पशुपतिनाथलगायत विभिन्न  मन्दिरमा गएर भेटी टिप्न थालिन्। अलि ठूली भएपछि छ–सात केटी मिलेर रक्सीले मातेका पुरुषलाई लुटेर पैसा कमाउने गरेको उनले बताइन्। सडकमा अरूले जे गर्‍यो त्यही सिक्न थालिन्। त्यो समूहकी ठूली केटीले राम्री बनेर केटा फसाएपछि सबै मिलेर लुट्न थाले। उनले भनिन्,'एक जना दिदीले पैसा भएको जस्तो लाग्ने केटालाई जाने हो भन्दै पछि लगाउँथिन्, हामी सबै मिलेर धुत्ने गथ्र्यौँ। पुलिस समाउन आए हामीलाई उसले नराम्रो गरेको भनेर त्यही केटालाई फसाउँथ्यौँ।'  

सडकमा हुँदा खान, लाउन र बस्न समस्या पर्ने गरेको उनले बताइन्। ठूलो पानी पर्दा पसलको ओत लागेर बोरा ओढी सुतिन्। पेटीमा सुत्ने गरे पनि खाना नपाएर कयौँ दिन भोकै सुत्नुपरेको उनको भनाइ छ। अति भोक लागेपछि उनले पसल बाहिर फालिएको स्याउ र सुन्तला खाइन्। कयौँ रात भोकै भएपछि उनी साथीसँग मिलेर खाजाघरमा काम थालिन्। उनले  भनिन्,'त्यहाँ हुँदा खाना खान र बास बस्न पाइने थियो, पछि बच्चालाई काम गराए पुलिसले समात्छ भनियो र छाड्नुपर्‍यो।'

सडकमा हुँदा पटकपटक संस्थाका प्रतिनिधि पनि सडक बालबालिकाको अवस्था बुझ्न जाने गरेका थिए। उनी पनि उनीहरूका सम्पर्कमा गइन्। एउटा संस्थाले पहिले संरक्षणका लागि लगेको थियो। आमा भोलिपल्ट लिन गएकाले आफू पुनः सडकमा आइपुगेको उनले बताइन्। उनलाई अर्धचेतावस्थामा हुँदा आफू बिग्रिएँ भन्ने भयो र भाइबहिनी खराब बाटामा नलागे हुने भन्ने लाग्यो। आफू सडकमा रहँदा एक दिन आफूले नशालु पदार्थ खाइरहेको बहिनीले देखेपछि कताकता मनमा उनको चिन्ता लागेको उनले बताइन्। उनले भनिन्,'त्यसपछि बहिनीलाई तानेर संस्थामा पुर्‍याएँ र त्यहीँबाट उसले स्कुल पूरै पढी।'

सडकमा हुँदा कसले के भन्छ भन्ने वास्ता नभए पनि उमेर बढ्दै जाँदा आफूलाई धेरै कुराबाट असुरक्षित भएको महसुस उनले गरिन्।   सडकमा हिँडेको मान्छे भएपछि सबैले नराम्रो दृष्टिले हेरेको महसुस उनलाई भयो। विवाहपछि सुरक्षित हुने आशामा उनले १७ वर्षमा बिहे गरिन्। 'उमेर पुगेपछि राम्री पनि देखिएँ क्यारे, जसले पनि दुव्र्यवहार गर्थे,  कहिले हिँड्ने मान्छे त कहिले पुलिसले केके भन्ने हुँदा कताकता डर लाग्थ्यो।'

सडकमा नै रहँदा उनको आफूजस्तै केटासँग भेट भयो। माया बस्यो र विवाह भयो। उनले भनिन्, 'मलाई जताबाट पनि सडकबाट बाहिर जाने अवस्था नै आएन।' त्यतिबेलासम्म उनलाई आफू केही दुःख गरेर भए पनि कमाएर एउटा कोठा लिएर बस्न सक्छु भन्ने थाहा थिएन। अहिले एक छोरा र एक छोरी छन्। उनले भनिन्, 'जसोतसो  जीवन चलेको छ।'  

सडक छाडेपछि काम गरेर जसोतसो जीवन धान्न गाह्रो नहुने उनलाई लागेको छ। खानबस्न जसोतसो गरे पनि नागरिकता प्रमाणपत्र नहुँदा भने समस्या भएको छ। कमाएको पैसा बचत गर्न पाएकी छैन भने छोराछोरीको जन्मदर्ता हुन सकेको छैन। उनले भनिन्, 'नागरिकताका लागि पनि लागिरहेको छु, कुनै दिन बन्ला कि।'

सानैदेखि सडकमा बस्दै आएका अर्का एक युवक अहिले पाइप बनाउने काम (प्लम्बर) गर्छन्। सो कामका लागि उनी काठमाडौँ उपत्यका बाहिर पनि पुग्ने गरेका छन्। आफूले कमाएको पैसाबाट खानबस्न मात्रै होइन केही बचत पनि गर्न सकेको उनले बताए।  

अहिले उनी महिनामा झण्डै ५ हजार कमाउँछन्। सडकमा भन्दा काम गरेर बाँचेको जीवन सजिलो र सम्मानजनक रहेको उनको भनाइ छ। पहिले सडकमा धेरै डर थियो। पैसा साथमा भए आफ्नै साथीभाइले  लुट्थे। अरूले सामान चोर्दा आफूलाई चोर भनेर प्रहरीले कुट्थे। उनले भने, 'आफैँले काम गरेर खाँदा अहिले त कसैको डर छैन।'

सडकको जीवन छाडेर सामाजिक जीवन बिताउँदा उनलाई पनि नागरिकताको भने अझै समस्या छ। बुबाआमा दुवै बितेपछि उनले अरू कुनै आफन्त भेटेका छैनन्।  संस्थाबाट बिरामी पर्दा सहयोग पाएको उनले बताए। उनले भने, 'अब नागरिकता बनाउन पाए सबै सजिलो हुने थियो।'

आफूलाई थाहा नहुँदै बुबा बितेपछि उनी आमासँग पाटनढोकामा बस्ने गर्थे। आमाले कहिले तरकारी बेचेर त कहिले ज्यामी काम गरेर उनलाई पाल्नुभएको थियो। रोगी आमा एक्लो सन्तान उनी १० वर्षको हुँदा बिते र साथीसँग बिग्रिएर हिँड्न थाले।  

पहिले ललितपुरमा बसेका उनी आमाको मृत्युपछि साथीको लहैलहैमा काठमाडौँमा बस्न थाले। सडकमा रहँदा पटकपटक संस्थामा जाने र फेरि भाग्ने गरेको उनले बताए। संस्थामा बसेपछि सडकको बानी छुट्न सकेको थिएन। बाह्र वर्ष पहिले उनी साथीसँग ‘साथसाथ’ गए। त्यहाँ शुक्रबार खेल खेलाइन्थ्यो। खेलपछि पेटभरी खान पाइने भए पनि संस्थामा नै बस्न नसकेको उनले बताए। उनले भने, 'सडकमा मन लागेको खाने र मन लागेजसरी बस्ने मान्छेलाई नियममा बस्न गाह्रो हुने रहेछ।'

चार वर्ष पहिले सरकारले कुनै पनि बालबालिकालाई सडकमा बस्न नदिएपछि उनी अरू साथीसँगै संस्थामा गए। उनले संस्थामा नै रहेर छ महिना पाइप बनाउने तालिम सिक्न थाले र सोलार कम्पनीमा काम गर्न लागे।  उनले भने, 'चार महिना काम गरेपछि पैसा भएन र फेरि सडकमा हिडेँ।'  

उनले त्यसको केही महिनामा गोकर्णमा साङ्ग्रिला होस्टलमा बसेर पाइप बनाउने थप सीप सिके। त्यहाँबाट सडक बालबालिकालाई कसैलाई कुक, प्लम्बर, वर्कसपलगायत काम सिकाइएको थियो। उनले भने, 'त्यतिबेला सिकेको काम अझै गरिरहेको छु।'

अर्का एक युवक पनि आफू सडकमा एक्लै हिडिँरहेका दिन सम्झन्छन्। आमाबाबा को हो र किन आफू सडकमा आइपुगेँ भन्ने उनले अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन्।  उनलाई चिन्नेहरूसमेत उनलाई अहिले देख्दा खुसी हुन्छन्, किनकि जुत्ता र लुगासमेत नभएको त्यही बालक अहिले कराँते प्रशिक्षक भएका छन्। उनी विद्यालय–विद्यालय पुगेर बालबालिकालाई कराँते सिकाउने गर्छन्।  

झण्डै चारपाँच वर्षको हुँदा सडकमा एक्लै हिँडिरहेका अवस्थामा बल्खुमा एक जना व्यक्तिले उनलाई भेटे। होटल सञ्चालक तीनै व्यक्तिले सहयोगीका रूपमा उनलाई राखे। खेलमा सानैदेखि इच्छा भएकाले उनले सिनामङ्गलमा कराते सिक्न थाले। होटलमा काम गर्दै कराते सिकेका उनलाई  गुरुले पनि सहयोग गर्नुभयो। सन् २०११ मा ब्ल्याक बेल्ट लिएपछि उनी धेरै खेलमा सहभागी छन्।  

खेलका लागि उनलाई देशभित्र र बाहिरबाट अवसर आएको छ। नागरिकता नभएकाले उनले आफ्नो क्षमता प्रदर्शन गर्न र बढाउन पाइरहेका छैनन्। उनले भने,'बाहिर खेल्न जान पाएको छैन र लाइसेन्स पनि बनाउन पाएको छैन।'

रगतसँग जोडिएका कोही आफन्तको पत्तो नभए पनि आफूलाई सानैमा पाल्ने व्यक्ति, संस्थाका कर्मचारी र एक जना बनाएकी बहिनी नै उनका आफन्त भएका छन्। आफूलाई पाल्ने व्यक्तिलाई अभिभावक मानेर उनी चाडपर्वमा जाने गर्छन्। संस्थाहरूले पनि उनलाई आवश्यक सहयोग गर्दै आएका छन्। संस्थाका प्रतिनिधिसँग उनी पटकपटक नागरिकता बनाउने कामका लागि जिल्ला प्रशासन कार्यालय धाएका छन्। उनले भने, 'नागरिकता पाएपछि पासपोर्ट बनाएर बाहिर खेल्न जाने र गाडीको लाइसेन्स लिने इच्छा छ।'

‘साथसाथ’ का रिसोर्स एक्जेक्युटिभ कविता शाहले कोभिड–१९ पछिका समयमा सडकमा आउने बालबालिकाको सङ्ख्या अझै बढिरहेको बताए। अभिभावकले रोजगारी गुमाउँदा बालबालिका सडकमा आउन बाध्य भएको उनको भनाइ छ। विगतमा सडकमा नै सुत्ने भएकाले राति र बिहान यस्ता सडक बालबालिका बढी देखिन्थे। अहिले केही कम भए पनि सडकमा थोत्रा सामान बटुलेर आयआर्जन गर्नेको सङ्ख्या बढिरहेको पाइन्छ। सरकारले सडकमा आएपछि बालबालिकाको उद्धार गर्ने मात्र नभएर त्यहाँ आउनै नदिनका लागि मुहानमै ध्यान दिनुपर्नेमा उनको जोड छ। सडकमा रहेका बालबालिकालाई गैरसरकारी संस्थाले पटकपटक परामर्श गरेर आफूसँग लैजाने गरे पनि सरकारी संयन्त्रले एकै पटक उठाएको उनले बताए। उनले भने, 'त्यसले गर्दा बालबालिका सडक छाडेर त जालान् तर फेरि चाँडै फर्कन्छन्।'

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बाल संरक्षण तथा विकास शाखाका प्रमुख शान्तिराज प्रसाईँले सडक बालबालिकाको सङ्ख्या विगतभन्दा कम भएको बताए । यी बालबालिकाको खोजी गरेर उद्धार गर्ने तथा संरक्षण र परिवारमा पुनःमिलन गराइँदै आएको उनको भनाइ छ। केन्द्रीय बालकल्याण परिषद्ले बालबालिकालाई उद्धार, संरक्षण र पुनःस्थापना गरिरहेको छ। सरकारले गैरसरकारी संस्थासँग मिलेर पनि बालबालिकाको संरक्षण गरिरहेको उनको भनाइ छ। उनले भने, “गैरसरकारी संस्थामा बालबालिका बढी बसिरहेको देखिए पनि सरकारले प्रत्येक बालबालिकालाई आवश्यक रकम छुट्टाएर संस्थालाई दिइरहेको छ।'

सरकारले गत वर्षसम्म एक हजार २३५ बालक र १९८ बालिकाको उद्धार र व्यवस्थापन गरेको थियो। तीमध्ये सबैभन्दा बढी ६७३ आदिवासी/जनजाति, ४०७ ब्राह्मण/क्षेत्री र २७१ दलित छन्। उद्धार भएका बालबालिकामध्ये ९७५ जनाका बाबुआमा जीवित रहेको र १७२ को दुवैको मृत्यु भइसकेको पाइएको थियो। उद्धार भएकामध्ये अधिकांश बालबालिका काठमाडौँ उपत्यका र आसपासका जिल्लामा बढी पाइएको थियो।

नेपालमा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकाको सुनिश्चित भविष्यका लागि राज्यबाट तोकिएबमोजिम विशेष संरक्षण पाउने अधिकार हुने व्यवस्था छ। बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९ मा सडक बालबालिकाको अभिलेख राख्ने, सडकमा आएका बालबालिकाको उद्धार गरी अस्थायी संरक्षण केन्द्रमा राख्ने तथा परिवारमा पुनःमिलन गराउने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। 
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस