काठमाडौं- परराष्ट्र मन्त्रालयले बिना प्रतिस्पर्धा पुरानै कम्पनीलाई थप २५ लाख प्रति राहदानी छपाइ तथा पर्सनलाइजेसन गर्न दिने प्रक्रिया अघि बढाएपछि राष्ट्रिय सर्तकता केन्द्रले छानबिन सुरु गरेको छ।
सार्वजनिक खरिद ऐन, २०६३ विपरीत बिना प्रतिस्पर्धा पुरानै कम्पनीलाई ठूलो संख्यामा राहदानी छपाइको जिम्मेवारी दिँदा ३२ करोड रुपैयाँभन्दा बढी आर्थिक अनियमितता हुने आशंकामा केन्द्रले छानबिन सुरु गरेको हो।
'परराष्ट्रले बिनाप्रतिस्पर्धा पुरानै कम्पनीलाई २५ लाख प्रति राहदानी छपाइ गर्न दिने प्रक्रिया अघि बढाएको सम्बन्धमा छानबिन गर्न मन्त्रिपरिषद आर्थिक तथा पूर्वाधार समितिबाट निर्देशन प्राप्त भएको छ,' राष्ट्रिय सतर्कतका केन्द्र स्रोतले नागरिकसँग भन्यो, 'राहदानी छपाइसम्बन्धी सम्पूर्ण कागजातसहित शुक्रबारदेखि नै छानबिन सुरु गर्न समितिबाट निर्देशन आएको हो।'
सन् २०१० अगस्ट २७ मा परराष्ट्र मन्त्रालय र फ्रान्सको ओबर्थर टेक्नोलोजीबीच मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) आपूर्ति र पर्सनलाइजेसन गर्ने सम्झौता भएको थियो। प्रति राहदानी ३.५९ अमेरिकी डलर भुक्तानी गर्नेगरी ५ वर्षमा ४० लाख प्रति राहदानी छाप्ने तथा पर्सनलाइजेसन गर्ने सम्झौता भएको थियो। सम्झौतामा ४० लाखको १५ प्रतिशत घटी वा बढी छपाइ गर्न सकिनेसमेत उल्लेख थियो। १५ प्रतिशत थप छपाइ गर्दा पुरानै मूल्य लागू हुने व्यवस्था छ।
सम्झौताअनुसार १५ प्रतिशत बढी छपाइ तथा पर्सनलाइजेसन गर्नुपर्दा ओबर्थरले ४६ लाखसम्म राहदानीको पर्सनलाइजेसन गर्नुपर्ने हुन्छ। हालसम्म ओबर्थरले ३४ लाख एमआरपी छाप्ने (पर्सनलाइजेसन) कार्य सकेको छ।
सम्झौताबमोजिम पनि अझै ओबरर्थरले ६ लाख एमआरपी पर्सनलाइजेसन गर्न बाँकी छ। यसमा १५ प्रतिशत बढी छाप्ने सर्तअनुसार अझै बिना कुनै नयाँ सम्झौता ओबर्थरबाट १२ लाख राहदानी आपूर्ति तथा पर्सनलाइजेसन गर्न सकिन्छ। परराष्ट्रले भने हालसम्म जारी भएको एमआरपीको डाटा व्यवस्थापन गरी अन्तर्राष्ट्रिय बोलपत्रमार्फत नयाँ कम्पनी छनोट गर्दा राहदानी आपूर्ति तथा पर्सनलाइजेसन गर्न न्यूनतम दुई वर्ष समय लाग्ने भन्दै बिना प्रतिस्पर्धा मूल्यवृद्धि गरी पुरानै कम्पनी (ओबर्थर) लाई दिने प्रक्रिया सुरु गरेको हो।
परराष्ट्रले अहिले प्रति राहदानी ४.८९ (करबाहेक) अमेरिकी डलरमा छपाइ गर्ने जिम्मेवारी ओबर्थरलाई दिने निर्णय गरेको छ। यो हाल नेपालमा छपाइ तथा पर्सनलाइजेसन भइरहेको भन्दा १.३ अमेरिकी डलर बढी मूल्य हो। अहिले भइरहेको मूल्य प्रति राहदानी ३.५९ अमेरिकी डलरमा २५ लाख राहदानी छपाइ तथा पर्सनलाइजेसन गर्दा ८९ लाख ७५ हजार अमेरिकी डलर खर्च लाग्ने देखिन्छ। परराष्ट्रले २५ लाख राहदानीको छपाइ तथा पर्सनलाईजेसन प्रति राहदानी ४.८९ अमेरिकी डलरको दरले कुल १ करोड २२ लाख २५ हजार अमेरिकी डलरमा दिन लागेको हो। मूल्य वृद्धि गरी छपाइ तथा पर्सनलाइजेसन जिम्मेवारी दिँदा सरकारलाई थप ३२ लाख ५० हजार अमेरिकी डलर (करिब ३२ करोड ८२ लाख ५० हजार रुपैयाँ) व्ययभार थपिने देखिन्छ।
'पहिलो सम्झौता गरेको ५ वर्ष बित्न लाग्यो, समयमै टेन्डर प्रक्रिया अघि बढाएको भए सन् २०१५ नोभेम्बर २४ पछि कसले राहदानी छपाइ तथा पर्सनलाइजेसन गर्ने भन्ने निर्क्योल भइसक्थ्यो,' स्रोतले भन्यो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार सन् २०१५ नोभेम्बर २४ सम्म मात्र हस्तलिखित राहदानी प्रयोग गर्न सकिनेछ। त्यसपछि अनिवार्यरूपमा एमआरपी प्रयोग गर्नुपर्नेछ। अझै पनि वैदेशिक रोजगारमा खाडी राष्ट्र पुगेका लाखौं नेपालीसँग पुरानै हस्तलिखित राहदानी छ। परराष्ट्रले भने हस्तलिखित राहदानीलाई अबको चार महिनामा पूर्णरूपमा प्रतिस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउँदै आएको छ।
एमआरपी आपूर्ति र पर्सनालाइजेसन गर्न नयाँ बोलपत्रबाट अर्को कम्पनी छनौट गर्नुअगावै जारी भएका पुरानो एमआरपीको डाटा व्यवस्थापन गर्न पनि पुरानै कम्पनीसँग काम गर्नुपर्ने ठहर परराष्ट्रले गरेको छ। यसैअनुरुप परराष्ट्रले पुरानै कम्पनीलाई एमआरपी जारी गर्ने जिम्मेवारी दिनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। 'राहदानी छपाइको निरन्तरताका लागि अन्तरिम व्यवस्था गर्न वार्ता गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद, आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी समितिको निर्णयबमोजिम गर्ने,' २०७२ वैशाख ३१ गते बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।
त्यसपछि समितिले २०७२ जेठ ५ गते 'अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरी हाल सञ्चित डाटाको उचित प्रबन्ध र सुरक्षा एवं अन्तरसञ्चालनको सुनिश्चितता गरी नयाँ राहदानी छपाइ कार्य आरम्भ नहुञ्जेलसम्म आवश्यक पर्ने उपयुक्त अन्तरिम व्यवस्था गर्नका लागि ओबर्थर टेक्नोलोजीसँगै वार्ता गर्न सहमति दिने' निर्णय गरेको थियो।
समितिले निर्णय गर्नेबित्तिकै २०७२ जेठ १० गते परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राहदानी विभागका महानिर्देशकको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधिसहित वार्ता समिति गठन गरेका थिए। त्यसपछि समिति पदाधिकारी र ओबर्थर टेक्नोलोजीका उच्च प्रतिनिधिबीच २०७२ जेठ २२ गते काठमाडौंमा वार्ता भएको थियो। वार्तामा पुरानो डाटा ट्रान्सफर गर्न सहमति जनाउँदै ओबर्थरले राहदानी आपूर्ति तथा पर्सनलाइजेसनका सम्बन्धमा मूल्यसहित विभिन्न विकल्प प्रस्ताव गरेको थियो। वार्तामा लाइभ इनरोलमेन्ट सेन्टरसहित राहदानीको मूल्य ओबर्थरले पेस गरेको थियो।
'अहिलेसम्म ओबर्थरले ३४ लाख एमआरपी छपाइ तथा पर्सनलाइजेसन गरिसक्यो, त्यो डाटा नेपाल सरकारसँग छैन, अहिले आफ्नै जनताको डाटा माग्न विदेशी कम्पनीसँग हारगुहार गर्नु परेको छ,' स्रोतले भन्यो।
यस्तै, २०७२ जेठ १० गतेको मन्त्रीस्तरीय निर्णयअनुसार राहदानी व्यवस्थापन सम्बन्धमा मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक र खरिद विज्ञ सम्मिलित एक समूह गठन गरिएको थियो। समितिले परराष्ट्रमन्त्रीलाई २०७२ जेठ २६ गते प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा नयाँ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी राहदानी जारी नभएसम्मको अवधिमा अनुमानित २५ देखि ३० लाख थान राहदानी व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख थियो। समितिले राहदानीको जिम्मेवारीसहित लाइभ इनरोलमेन्ट सेन्टरको व्यवस्था समावेश गर्न पनि सिफारिस गरेको थियो।
विभिन्न समितिको राय लिई परराष्ट्रले ओबर्थरलाई प्रति राहदानी करबाहेक ४.८९ अमेरिकी डलर दिई २५ लाख राहदानी खरिद तथा पर्सनलाइजेसन जिम्मेवारी दिने प्रक्रिया अघि बढाएको हो। त्यति मात्र होइन राहदानीसँगै ओबर्थरलाई अधिक संख्यामा नेपाली रहेका राष्ट्र मलेसिया, साउदी अरेबिया, युएई, कतार, कुवेत, बेलायत, अमेरिका तथा हङकङस्थित नेपाली नियोगमा ५० वटा लाइभ इनरोलमेन्ट सेन्टर स्थापना गर्ने जिम्मेवारी दिने निर्णयसमेत परराष्ट्रले गरेको छ। यो प्रस्ताव २०७२ असार ६ गते परराष्ट्रमन्त्री पाण्डेले स्वीकृत गरेपछि ओबर्थरसँग थप सम्झौता गर्न निर्णयका लागि परराष्ट्रले मन्त्रिपरिषदमा पठाएको थियो। मन्त्रिपरिषदको आर्थिक तथा पूर्वाधार समितिले शुक्रबार परराष्ट्रको निर्णयसहितको प्रस्ताव छानबिनका लागि राष्ट्रिय सर्तकता केन्द्रमा पठाइदिएको हो।