काठमाडौं- भूकम्प पीडित बनेर भारतीय नागरिक र सुकुम्बासीहरु तीन महिनादेखि राजधानीको टुडिखेलमा बस्दै आएका खुलेको छ। उनीहरुलाई आइतबारै त्यहाँबाट हटाउने नेपाली सेनाको तयारी छ। वास्तविक पीडितहरु भने अर्को व्यवस्था नहुँदासम्म टुडिखेलमा रहनेछन्।
'भूकम्पपछि हामी राहत र उद्धारमा निकै व्यस्त भयौं, वास्तविक पीडित पहिचान गर्न भ्याएनौं,' टुडिखेलमा पीडितहरुको क्याम्प व्यवस्थापनको नेतृत्व गरेका कर्णेल प्रयोग जंगबहादुर राणाले भने, 'अहिले बुझ्दा भूकम्प पीडितको नाममा अरुले सुविधा लिएका भेटियो।'

अहिले टुडिखेलमा बस्दै आएका ७ सय ६ जनामध्ये ३ सय ५० जनाको वास्तिविक समस्या देखिएको राणाले बताए। 'सुकुम्बासी, भारतीय नागरिक र आफ्नै घर, कोठा हुँदाहुँदै पालमा बसेकाहरुलाई हटाउँछौं,' राणाले भने। पछिल्लो तीन दिनमा एक सयले पाल छाडेका र १५ वटा पाल घटेका उनले बताए। अझै ५४ पाल टुडिखेलमा छन्।

'नेपाली नागरिक हुँ भन्दै नागरिकता पुरिएको विवरण लेखाएर बस्दै आएकालाई आजै हटाउँछौं,' राणाले नागरिकन्युजसँग भने, 'सुकुम्बासी, कोठा र घर हुँदाहुँदै बसेकालाई तत्कालै हट्न सूचित गरेका छौं।' सादा पोसाकमा खटिएका नेपाली सेनाका प्रतिनिधिहरुले 'पीडित'हरुको यथार्थ विवरण संकलन गरेका उनले बताए।

पीडितले कोठा पाएनन्
राजधानीको टुडिखेलमा पालमा बस्दै आएका भूकम्प पीडितले कोठा नपाएको गुनासो गरेका छन्। उनीहरुले साउन महिनाभर पालबाट नहटाउन आग्रह गरेका छन्। 'हामी रहरले यहाँ बसेको हैन,' पालमा बस्दै आएका चित्रबहादुर मगरले भने, 'कोठा खोज्दा कतै नपाएर हैरान छौं।'
पक्की घरमा बस्न महँगो भाडा लाग्ने र कच्ची र सस्ता घर सबै भूकम्पले भत्केको भन्दै गरिब परिवारलाई राजधानीमा कोठा पाउन निकै मुस्किल भएको उनले सुनाए। बर्खा नसकिँदासम्म नहटाउन पीडितको आग्रह छ।

'अलिअलि भएको धनमाल भूकम्पले च्याप्यो, खान-लाउनै समस्या भएको बेला महँगो भाडा कसरी तिर्ने?,' पीडित सरु लामाको गुनासो छ, 'पक्की घरमा बस्न पाँच हजारभन्दा थोरैले पुग्दैन, सस्ता कोठा पाउनै मुस्किल छ।' भत्केका र चर्केका घरमा कोठा पाएको तर डर लागेर बस्न नसकेको पीडित बताउँछन्।
भिडियो हेर्नुस्: