खप्तड छेडेदह गाउँपालिकाको केन्द्रमा रहेको डोगडी स्वास्थ्य चौकी भवन पहिरोले पुरिएपछि सिंगो उपचार सेवा नै प्रभावित बनेको छ। उपचार सेवाका लागि अर्को वैकल्पिक भवन नहुँदा स्वास्थ्य चौकीले दिने सबै प्रकारका सेवा पूर्णरुपमा प्रभावित बनेको इन्चार्ज दलबहादुर रावतले बताएका छन्। स्वास्थ्यचौकी भवन आलु भण्डार केन्द्रमा सारिएको छ। त्यो काम चलाउ अवस्थामा मात्रै छ। उपचार सामाग्री, औजार उपकरण राख्ने र कर्मचारीले नियमित हाजिर लगाउने बाहेक उपचार सेवा प्रवाह गर्ने अवस्था नरहेको इन्चार्ज रावतको भनाई छ। भवन साउन २५ गते रातीको पहिरोले पुरिएको हो।
२०७२ सालमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन यतिबेला पहिरोमा भासिएको अवस्था छ। कार्यालय पछाडिबाट आएको पहिरोले स्वास्थ्य चौकी भवनको आधाबढी भाग पुरिएको छ। सुरुमा कोठाहरु मात्र पहिरोले पुरिएको थियो, पछि पहिरो नियमित आउने गरेपछि भवन नै भासिएको अवस्था छ।
भवन नै सिंगो पहिरोमा पुरिने अवस्था आएपछि बाध्य भएर आलु भण्डारमा सार्नु परेको खप्तड छेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताएका छन्। स्वास्थ्य चौकीले देखि सबैप्रकारको उपचार सेवा साउन २६ गतेबाट पूर्ण रुपमा प्रभावित बनेको छ।
आलुभण्डारमा सामान राखिएको छ। तर उपचार दिन सहज छैन्। दैनिक ३० देखि ४५ जना विरामी उपचारका लागि आउने गरेका थिए। पालिकाको केन्द्र भएकै कारण क्षयरोगको खँकार जाँच, अन्य ल्याप सेवा र कुपोषण लागेका बालबालिकाको उपचार सेवा समेत डोगडी स्वास्थ्य चौकीबाटै हुने गरेको छ। भवन पहिरोमा पुरिएको दिनदेखि ल्याप सहीतका सेवा पूर्ण रुपमा नै बन्द छन्।
पहिरोले पुरिन बाँकी केही सामान उद्दार गरेर आलु भण्डार भित्र राखिएका छन्। तर सेवा सञ्चालनका लागि उपयुक्त कोठा र वातावरण नहुँदा सेवा दिन नसकिएको स्वास्थ्य चौकी इन्चार्ज दलबहादुर रावतको भनाई छ। स्वास्थ्य चौकीमा ७ जना कर्मचारी कार्यरत छन्। ती सबैलाई बसेर विरामीलाई सेवा दिन समेत कोठाको अभाव छ।
गर्भवती जाँच र सुत्केरी सेवा नै अवरुद्ध छ। विरामीहरु नियमित जाँचका लागि आउने भएपनि चेकजाँच र परामर्शका लागि वैकल्पिक कोठा नहुँदा समस्या देखिएको छ। गर्भवती र सुत्केरीले उपचार सेवा लिन समेत अफ्ठ्यरो मान्ने गरेका छन्। एउटै कोठा त्यसैमा पनि झ्याल नभएको खुला कोठाबाट सबैप्रकारको उपचार सेवा दिन संभव र सहज नहुने स्वास्थ्य कर्मीको गुनासो छ।
१० शैयाको अर्को अस्पताल निर्माणाधिन अवस्थामा छ। नजिकै स्वास्थ्य चौकी नै सञ्चालन गर्न मिल्ने भवन सुविधाको घर पनि छैन्। स्वास्थ्य सेवा दिन समस्या भएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन्।
स्वास्थ्य कर्मी अभावमा गएको साता बाजुराकै स्वामिकात्र्तिक खापर गाउँपालिकामा एक जनाले बाटोमै बच्चा पाउनु परेको अवस्था छ। त्यो नहोला भन्न नसकिने स्वास्थ्य कर्मी आफै त्रसित छन्। कुपोषीत बच्चाको उपचार गर्न समेत गाह्रो देखिएको स्वास्थ्य चौकीले बताएको छ। प्रसुति सेवा नै रोकिने अवस्था आएको छ।
गर्भजाँचका लागि आउने महिलाहरु स्वास्थ्य चौकी भवन देखेर फिर्ता हुनु पर्ने बाध्यता छ। खुला कोठामा जाँच गर्न असहज लाग्ने भएपछि साउन २६ पछि जाँच गर्न जानको संख्यामा समेत कमी देखिएको महिला स्वास्थ्य स्वयम सेविकाले बताएकी छन्। दुर्गमको स्वास्थ्य अवस्था नै दयनीय थियो, पहिरोले थप समस्यामा पारिदिएको छ।
आलु भण्डारण गर्ने भवनबाट सेवा दिन संभव नै नरहेको स्वास्थ्य कर्मी बताउँछन्। स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा खुला कोठाबाट सेवा दिन नसकिने समेत उनीहरुले पालिकालाई जानकारी गराइसकेका छन्। आउने हाजिर लगाउने र फर्किनु पर्ने बाध्यता स्वास्थ्य कर्मीलाई छ, भने सेवा नपाई घर फिर्ता हुनु पर्ने दुख विरामीलाई छ।
आलु भण्डारण केन्द्रकै भवनमा केही सामान्य उपचार सेवा दिन मिल्ने बत्तीको समेत असुविधा छ। शौचालय नै छैन्। खानेपानी बल्ल जोडिएको छ, विजुली बत्ती छैन्, स्वास्थ्य चौकीको सोलार जाडनका लागि लाग्ने खर्चको समेत अभाव रहेकोले सोलार बत्ती समेत जोड्न ढिलाई भइरहेको देखिन्छ।
यता गाउँपालिकाले वैकल्पिक रुपमा आलु भण्डारको भवन प्रयोग गर्न भनेपनि थप व्यवस्थानका लागि केही सोचेको छैन्। तत्काल अर्को वैकल्पिक भवन नभएकोले पालिकाले निर्णय गरिहाल्ने अवस्था नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताएका छन्।
७ सय बढी परिवारले प्रत्यक्ष सरोकार राख्ने, पालिकाकै ल्याप सेवा सञ्चालन भएको र अन्य उपचार सेवा प्रवाह गर्ने संस्था अस्तव्यस्त हुँदा समेत पालिकाले चाडो पहल नगर्नु दुखत कुरा भएको स्थानीयको गुनासो छ।
गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले तत्काल नयाँ विकल्प सोच्ने गरि पहल भइरहेको बताएपनि दुई हप्ता बित्न लागिसक्दा समेत केही पहल भएको अवस्था छैन्। प्रसुती सेवा, नियमित गर्भजाँच जस्ता अत्यावश्यक सेवा नै रोकिने अवस्था आएको स्थिति बारे संघ र प्रदेश सरकार पनि थप जिम्मेवार हुनु पर्ने गरि परामर्श र छलफल भइरहेको गाउँपालिकाले बताएको छ।
पहिरोले बस्ती र खेल मैदानमा समेत क्षति
पहिरोले करोड बढीको लागतमा निर्माण गरिएको भवन मात्र प्रयोग विहिन भएको अवस्था छैन्। २० बढी परिवार बसोबास गर्ने बस्ती नै जोखिममा पुगेको छ। खप्तड छेडेदह गाउँपालिका ५ का स्थानीय २० बढी परिवार पहिरोको उच्च जोखिममा छन्।
पानी पर्नासाथ माथिबाट पहिरो बग्न थालिहाल्छ, रातभर जागराम बस्नु पर्ने स्थानीयलाई अवस्था रहेको छिमेकी समेत रहेका स्थानीय सनम सुनारले बताएका छन्। उनीहरुको उचित बास स्थानको समेत व्यवस्थापन गर्न समस्या देखिएको छ।
मष्टेश्वरी माविको खेल मैदान र पालिकाको खुला मञ्चको रुपमा विकास गरिएको संरचनामा समेत क्षति पुगेको छ। पहिरोले खेल मैदान समेत भासिने खतरा बढेको छ। उसोत खेल मैदान नजिकैको खोला छेउमा निर्माण हुदै गरेको पालिका भवन समेत जोखिममा देखिएको छ।
पहिरोले पुरिएको स्वास्थ्य चौकी भवनबाट सामान ओसार्दै गाउँपालिका अध्यक्ष दिलबहादुर रावतसहित।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...