ड्रागन खेती गर्ने पतिको सपना पूरा गर्दै पद्मा
१० साउन २०७९
•
८ मिनेट पाठ
ड्रागन खेती गर्ने पतिको सपना पूरा गर्दै पद्मा
घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन र? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ बढी असह्य हुन्छ। यद्यपि, सहनुको विकल्प पनि हुँदैन।




त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भइ हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा अस्थायी रुपमा बस्दै आएकी पद्मा रावतको जीवनमा पर्‍यो। विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको कोरोना रोगका कारण पद्माले २०७८ वैशाख १७ गते पति बीरबहादुर बुढा गुमाउनु पर्‍यो।

विसं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमूना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन २०७७ चैतको अन्त्यतिर भारतको गुजरात पुगिन्। त्यतिबेला भारतमा दोस्रो लहरको कोरोना संक्रमणको निकै ठूलो त्रासदी थियो। भारतमा कोरोना व्यापकरुपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि बन्दाबन्दी गरिएको थियो।

बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उनलाई कोरोना संक्रमण देखियो। कोरोना संक्रमण देखिएपछि उनी आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेकी थिइन्। 'त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन, पद्माले भनिन्, दुर्भाग्यः अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो।' बीरबहादुरको निधनले परिवारको भरोसाको खम्बा ढल्यो।

पति वियोगले उनलाई केही समय सम्हालिन गाहे भयो। असह्य पीडाले जीवन आँसुको आहालमा परिणत भयो। मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्वको अभावको महसुस गर्न थाले। पद्मालाई जीवन पतझर शिशिरको जस्तो लाग्न थाल्यो। तरपनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन उनलाई।

पतिले लाखौं ऋण लिएर सुरु गरिएको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो। उनको विछोडको पीडा एकातिर छँदैछ, अर्कोतिर त्यो ऋणको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो। सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन र मूलतः ड्रागन फ्रुट खेती उनको पतिको जीवनको सपना थियो।

पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेशमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन। राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो। झनै कोरोना रोगले मृत्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरु चाहेर पनि भेट्न मान्दैनथे।

पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो, रावतको परिवारलाई। त्यो बेला कोरोना रोग र त्यसबाट मृत्युको खबर सुन्नेहरु डरले नजिक नआएरै भाग्थे। कोभिड–१९ रोग लागेको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो।

समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो। त्यसबेला उनले मृतक पतिको सत्गद् आफ्नो संस्कार अनुसार पनि गर्न पाइनन्। पतिको अवसानको अन्तिम क्षण त्यो मृत भौतिक अनुहार हेर्न नपाएरै टाढैबाट हात हल्लाएर विदाई गर्नुपर्‍यो।

'पीडा र आँसुको आहालबाट तङ्ग्रिन गाहे त भयो नै। तथापि संसारलाई हेरें, अनि चित्त बुझाउँदै शोकलाई शक्तिमा बदलेर पतिको सपनालाई पूरा गर्ने दृढ सङ्कल्प मनमनै गरें,' पद्माले भनिन्, 'छोरा छोरी साथमै छन्। अब धेरै बिलौंना गरेर बाँकी जीवन चल्दैन भन्ने लाग्यो र त्यस दिनदेखि उहाँले बनाएको बाटोमा हिँड्न सुरु गरें।'

दिवङ्गत बुढाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा करिब ३० कट्ठा क्षेत्रफलको जग्गा लिजमा लिएर ड्रागन फ्रुटको बिरुवा रोप्नका लागि ६३४ सिमेन्टको खम्बा ठड्याइसकेका थिए। विसं २०७८ वैशाख पहिलो सातासम्म करिब ८५ प्रतिशत काम भइसकेको थियो।

पतिको निधनपछि फर्म सञ्चालकको जिम्मेवारीले ड्रागनका बिरुवा भने पद्माले रोपिन्। एउटा खम्बामा चारवटाको दरले रोप्दा ६३४ खम्बामा करिब दुई हजार ६०० ड्रागनको बिरुवा लगाइएको उनले बताइन्। उनका अनुसार बिरुवा लगाउँदा कसरी फल्छ र यसको गोडमेल कसरी गर्नुपर्दछ भन्ने त्यति सुझबुझ थिएन।

प्राविधिक ज्ञान, आर्थिक अभाव र जनशक्ति व्यवस्थापन विना अन्धाधुन्दा खेती सुरु गरेको उनले बताइन्। पद्माले भनिन्, 'यो कस्तो ठाउँमा बढी उत्पादन हुन्छ? कति पानी चाहिन्छ रु काँटछाँट कसरी गर्ने रु कति पछि र कस्तो फल दिन्छ रु भन्ने कुराको हामीलाई त्यति ज्ञान नै थिएन।यो त उहाँलाई मात्र थाहा थियो।'

बीरबहादुरले भने दाङ, चितवनलगायतका नेपालका विभिन्न ठाउँको ड्रागन फ्रुट खेतीको प्राविधिक र वातावरणीय पक्षको ज्ञान लिएर भारतको गुजरातबाट यसको बिरुवा ल्याएका थिए। त्यो प्राविधिक र वातावरणीय ज्ञान पद्मालाई जानकारी नहुँदै पतिको मृत्यु हुँदा खेती कसरी सुरु गर्ने भन्ने भेउ पाउन गाह्रो भयो।

खेती सुरु गरेदेखि अहिलेसम्म ७० लाख रुपैयाँ बजेट लगानी भइसकेको पद्माले बताइन्।उनका अनुसार कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग लिएको छैन। केही आफ्नो र धेरै ऋणकै भरमा लगानी गरेर ड्रागन फ्रुट खेतीलाई यो ठाउँसम्म पुर्‍याइएको छ। हेल्भटासले भने सिँचाइमा सहयोग गरेको थियो।

मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले करिब ३० कट्ठामा खेती गरिरहेको छ। वार्षिक तीन लाख रुपैयाँ भाडा तिर्ने गरी लिजमा लिएको उक्त जग्गा १५ वर्षका लागि सम्झौता गरिएको र हरेक वर्ष १० प्रतिशतले भाडा वृद्धि हुने उल्लेख गरिएको उनले बताइन्।

ड्रागनको फल बजार जान थालेपछि भने पद्माको परिवारमा खुशी छाउन थालेको छ। उनी भन्छिन्, 'प्रतिकेजी  ८०० रुपैयाँको मूल्यमा फ्रुट बजारमा बिक्री भइरहेको छ। यो बालबालिकाले आइसक्रिम जस्तो मानेर बढी खाने भएकाले बजारमा माग निकै छ तर हामीले पुर्‍याउन सकिरहेका छैनौंँ। अहिलेसम्म दुई क्विन्टल जति बिक्री गरिसक्यौंँ।'

पद्मालाई १७ वर्षीय छोरी सपना बुढाले ठूलो सहयोग गर्दै आएकी छन्। एसइई नतिजाको पर्खाइमा बसेकी सपनाले बुबाको सपना पूरा गर्नेमा आफ्नो पनि हिस्सा रहेको बताइन्। 'सायद बाबाले आफ्नो सपना पूरा गर्न मेरो नाम पनि सपना राख्नुभएको थियो,' उनले भनिन्, 'त्यसैले यही खेतीलाई नमूना बनाएर बाबाको सपना पूरा गर्छु।'

सपनाले आमासँग काम गर्दै यो खेतीका बारेमा धेरै सिकेको बताइन्। उनका अनुसार एउटा पिलरमा लगाइएको बिरुवाबाट तीन केजीसम्म फ्रुट फल्ने गर्छ र महिनामा दुई लट दिने यो फल जेठदेखि असोजसम्म फल दिन्छ। यस हिसाबले उनीहरुले सामान्यतया एक महिनामा तीन हजार ६०० र पाँच महिनामा १८ हजार केजी ड्रागन फ्रुट उत्पादन हुन्छ। फ्रुट उत्पादनसँगै ड्रागनको बेर्ना पनि फर्मले उत्पादन गरेर २०० रुपैयाँमा बिक्री गर्दै आएको छ। आफूले बुझेअनुसार एक पटक लगाएको ड्रागनको बिरुवाले २० देखि ३० वर्षसम्म फल दिने सपनाले बताइन्।

विगतमा कृषिबारे कुनै ध्यान नभएपनि एसइईको नतिजापछि ड्रागन फ्रुट खेती गर्न सहयोग पुग्ने प्राविधिक विषय लिएर उच्च शिक्षा पढ्ने लक्ष्य राखेको उनले जनाइन्। ड्रागन फ्रुट बिक्रीले बुढा परिवारलाई पछिल्लो समयमा घर खर्च चलाउन, बालबालिकाको पढ्न सहयोग पुगेको छ। अब भने आम्दानी बढेर यो खेतीका लागि लगानी गरिएको ऋण तिर्न मद्दत पुग्ने उनीहरुले अपेक्षा गरेका छन्।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले एकल महिलाको प्रयासले गरिएको खेती वर्णन गर्न लायककै भएको बताए। उनले भने, 'फर्मको उत्पादन र विकास यही रफ्तारमा गयो भने यसले आम्दानी राम्रो दिने देखिन्छ। वार्षिक छ लाख रुपैयाँ आम्दानी भन्दा कम हुँदैन।'

उनले मालिका ड्रागन फ्रुट फर्मलाई ८० हजार रुपैयाँसहित एकहाते ट्रयाक्टर पनि सहयोग गरिएको बताए। निर्देशक रोकायका अनुसार पद्मा रावतसहित कर्णाली प्रदेशमा अहिले आठ हेक्टर अर्थात पाँच विगाहा क्षेत्रफल जमीनमा ड्रागन फ्रुट खेती भइरहेको छ। ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो। यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हुनसक्छ। यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रित हुन्छ। यसको काण्ड कमजोर हुने भएकाले खम्बा वा अन्य चिजको सहारा आवश्यक पर्दछ।

कर्णाली प्रदेशमै बिना कुनै सहयोगमा एकल महिला पद्मा बुढाको एक प्रयासमा गरेको ड्रागन फ्रुट खेती दुई साताअघि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले अवलोकनको साथै उद्घाटन गरे। त्यहाँ पुगेका मन्त्री शाहीले एकल महिलाको एकल प्रयासले भएको सफलताको उच्च प्रशंसा गरे।

'कृषिका माध्यमबाट कर्णालीको अर्थतन्त्र र आत्मनिर्भरता बढाउन योगदान दिने कृषि व्यवसायीहरुमा रावत एक उदाहरणीय पात्र हुन्,' उनले भने, 'सरकारले व्यावसायिक खेती गरेर कर्णाली प्रदेशलाई माथि उठाउन सहयोग पुर्‍याउने कृषकहरुलाई विशेष प्रोत्साहन दिन्छ।'

मन्त्री शाहीले स्वाभिमानी र पौरखी व्यक्तिहरुका कारण कृषि क्षेत्रको व्यावसायिकता बढ्ने जनाउँदै फर्मका सञ्चालक रावतलाई ड्रागन फ्रुट उत्पादनपछि बिक्रीमा समस्या हुन नदिने आश्वासन दिए। उनका अनुसार बिक्री वितरणमा समस्या भएमा प्रदेश सरकारले सहजीकरण गरिदिने छ।

काम गर्दै सिकेको ज्ञान र बाध्यात्मक रुपले थपिएको जिम्मेवारीले गरेको खेती भएकाले व्यावसायिक बन्न केही समय लाग्ने उनको बुझाइ छ। 'पूर्वमन्त्री तथा ड्रागन व्यवसायी लोकेन्द्र विष्ट मगरले दाङमा गरेको ड्रागन फ्रुट खेतीको अवलोकन गरियो,' उनले भने, 'त्यहाँको ड्रागन फ्रुट सेतो रङको रहेछ।दाना भने ठूलो रहेछ।'

उक्त खेती अवलोकन गर्न र त्यहाँको अनुभव लिन शुल्क तिर्नु परेको क्षणबारे सुनाउँदै उनले आफू व्यावसायिक बन्न नसकेको अनुभूति प्रकट गरे। ड्रागन फ्रुट खेतीको वरिपरि बलियो बार नहुँदा चोरहरुले फल चोर्न थालेको उनले दुखेसो पोखे। उनका अनुसार कर्णाली प्रदेश सरकारले चालु आव २०७९/८० मा सिंचाइका लागि एउटा बोरिङ खन्दिने वचन दिएको छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस