डाक्टरका गम्भीर गल्तीमा काउन्सिल नरम
२८ माघ २०७२
•
१३ मिनेट पाठ
डाक्टरका गम्भीर गल्तीमा काउन्सिल नरम
काठमाडौं- गम्भीर स्वास्थ्य समस्याले ग्रस्तलाई समेत निरोगिताको प्रमाणपत्र दिने, छोरो जन्मने ग्यारेन्टी भन्दै दम्पतीबाट पैसा असुल्ने लगायत अवैध काम गरेका चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले सामान्य नसियतमा उन्मुक्ति दिएको छ।




काउन्सिलले चिकित्सक दर्ता परीक्षा नै पास नलिईकनै प्रसूति उपचारमा संलग्न भएर नवजात शिशुको ज्यान गएको घटनामा संलग्न चिकित्सकको भने लाइसेन्सिङ प्रवेशपत्र खारेजी प्रक्रिया थालेको छ।

नागरिक दैनिकलाई प्राप्त 'गोप्य' छानबिन प्रतिवेदनअनुसार आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत पैसा खाएर प्रमाणपत्र दिने, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि र जाँच थोपरेर आर्थिक शोषणसमेत गरिरहेकी चिकित्सकमाथि समेत नसियत दिने सिफारिस गरेको छ।

चिकित्सकले उपचार क्रममा गर्ने गम्भीर लापरबाहीमा समेत कुनै छानबिन नगर्ने भन्दै आलोचित काउन्सिलले पहिलोपटक एकैपटक पाँच चिकित्सकमाथि छानबिन र सामान्य कारबाही गरेको हो।

आचारसंहिता उल्लंघन वा अन्य कुनै त्रुटि गरेको भेटे चिकित्सकलाई प्रमाणपत्र खारेजी गर्नेसम्मको अधिकार प्राप्त अर्धन्यायिक निकाय काउन्सिलले गरेको कारबाही प्रकृति भने झाराटराइ छ।

काउन्सिलमा अधिकांश सदस्य चिकित्सकबाट नियुक्त र निर्वाचित भएर आउने हुनाले हत्तपत्त चिकित्सकमाथि कडा कारबाही हुँदैन। काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले भने काउन्सिलले एकैपटक यति धेरै चिकित्सक दोषी आरोप लागेका घटना छानबिन गरेर कारबाही सिफारिस गरेको भन्दै बचाउ गरे।

उनले काउन्सिलले चिकित्सक आचारसंहिता उल्लंघनका अझै थुप्रै घटनाको छानबिन गरिरहेको पनि जानकारी दिए। हालै बसेको काउन्सिल बैठकले गम्भीर त्रुटि देखिएका चिकित्सकलाई पनि चेतावनी दिने मात्रै सिफारिस गरेको छ।

आँखा नदेख्ने र खुट्टा सुकेकालाई प्रमाणपत्र

मोरङमा कार्यरत चिकित्सक डा. रञ्जितकुमार सिंहले मोरङका आँखा नदेख्ने दुई युवालाई निरोगिताको प्रमाणपत्र दिएको छानबिनबाट पुष्टि भएको छ। त्यसैगरी अर्का चिकित्सक डा. श्यामकुमार सिंहले देव्रे खुट्टाको घुँडामुनिको भाग पन्जासम्म सुकेर प्लास्टिकको कभर जडान गरेका व्यक्तिलाई समेत निरोगिताको प्रमाणपत्र दिएको पाइएको छ। काउन्सिलले दुवै चिकित्सकलाई कमजोरी दोहोरिए नियमानुसार कारबाही गर्ने नसियत दिएको छ। दुवै चिकित्सकले सवारीचालकको नक्कली प्रमाणपत्र दिएका थिए।

काउन्सिल दर्ता नम्बर ५६८३ रहेका डा. रञ्जितकुमार सिंहले मोरङ सुन्दरदुलारीका रघुनन्दन चौधरी र किशोर कार्कीलाई देव्रे आँखा नदेख्ने अवस्थामा पनि निरोगिताको प्रमाणपत्र दिएका काउन्सिलको छानबिनले पुष्टि गरेको छ। त्यसैगरी, दर्ता प्रमाणपत्र ३३५० का शाहले देव्रे खुट्टाको घुँडामुनिको भाग पञ्जासम्म सुकेर गएको र सो ठाउँमा प्लास्टिकको कभर जडान गरिएको सपोर्ट राखिएको व्यक्तिलाई काउन्सिल सिफारिस गरेका थिए।

इलाका प्रहरी कार्यालय इटहरीले प्रयोगात्मक परीक्षाका क्रममा त्रुटि भेटेपछि सक्कलै फाइल काउन्सिलसमक्ष पेस गरेका थिए। प्रहरीले पठाएको फाइलका आधारमा काउन्सिलको नियमावली २०२४ को नियम २२(१)(ज) को विपरीत कार्य गरेको अभियोगमा काउन्सिलको दर्ता किताबबाट किन नाम नहटाउने, नहटाउनुपर्ने कुनै कारण भए १५ दिनभित्र आफ्नो स्पष्टीकरणसहित उपस्थित गराएको थियो। त्यस क्रममा दुवै चिकित्सकले गल्ती सकारेको भन्दै आइन्दा यस्तो गल्ती गरे काउन्सिल दर्ता खारेजीको चेतावनी दिएर पठाइएको काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले बताए।

छोरा जन्माइदिने ग्यारेन्टीमा ठगी

औषधि र विभिन्न विधिबाट छोरा नै जन्माइदिने भन्दै विभिन्न खालको परीक्षण औषधि सिफारिस गर्दै सयांै दम्पतीलाई ठगी गरिरहेको सरकार मातहतको प्रसूति गृहमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. देवी गुरूङलाई समेत काउन्सिलले दर्ता खारेजी हुनसक्ने चेतावनीको भरमा उन्मुक्ति दिएको छ।

उनीसँगै सो अनुसारको तालिमबिनै परीक्षणमा संलग्न वीरका जनरल फिजिसियन डा. सुशील शाक्यलाई समेत कारबाहीबिनै छाडेको छ। दुवै डाक्टरले थापाथलीमा रहेको निम्स डायग्नोस्टिक सेन्टरबाट छोरा बनाइदिने भन्दै ठग्ने गरेको काउन्सिलमा अडियो रेकर्ड, अनावश्यक औषधिको प्रेस्त्रि्कप्सन गरेको कागजलगायत प्रमाणसहित काउन्सिलमा उजुरी परेको थियो।

काउन्सिल दर्ता नम्बर २८४५ भएकी डा. गुरुङसँग काउन्सिलले विभिन्न प्रमाणको अध्ययन र पटकपटकको बयानका आधारमा सोधपुछ गर्दा स्पष्ट जवाफ नदिएको काउन्सिल निर्णयमा उल्लेख छ। काउन्सिलको छानबिन क्रममा गुरूङ बिरामीको अभिलेख, नाम ठेगाना फरक पारेर राख्ने भेटिएको थियो। प्रमाण भेटिए पनि उनले नस्विकारेको भन्दै काउन्सिलले भविष्यमा यस्तो गल्ती दोहोरिए कारबाही गर्ने भन्दै व्यावसायिक आचरण पालना गर्ने निर्देशन दिने र सोको जानकारी स्वास्थ्य मन्त्रालय र परोपकार प्रसूति गृहलाई समेत गराउने निर्णय गरेको छ।

त्यसैगरी, दर्ता नम्बर १४७१ रहेका जनरल फिजिसियन डा. शाक्यले सो क्लिनिकमा भ्रुणको लिंग पहिचानका लागि विशेषज्ञता विपरीत रेडियोलोजिक सेवा दिएको उजुरी परेको थियो। काउन्सिल छानबिन क्रममा डा. शाक्यले एमबिबिएस, एमडी गरेको देखिएको उल्लेख छ।

छानबिन क्रममा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २(घ) मा चिकित्सक भन्नाले मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक प्रणाली अन्तर्गत चिकित्साशास्त्रमा स्नातकोपाधि प्राप्त गरी सोसम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनुपर्छ भन्ने र 'विशेषज्ञ चिकित्सक' भन्नाले सम्बन्धित विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि डिग्री डिप्लोमा प्राप्त गरेको एवं तोकिएबमोजिमको विशेषज्ञ तालिम प्राप्त गरी सम्बन्धित व्यवसायमा लागेको सम्झनुपर्दछ भन्ने उल्लेख छ।

काउन्सिल नियमअनुसार डिप्लोमा भन्नाले सम्बन्धित विषयमा कम्तीमा एक वा दुई वर्षको तालिम लिएको हुनुपर्ने भए पनि 'डा. शाक्यले जुन विषयमा विशेषज्ञता प्राप्त गरेको छ, त्यही विषयमा मात्र स्वास्थ्य उपचारमा संलग्न हुनुपर्नेमा रेडियोलोजिस्ट र अल्ट्रासाउन्ड सम्बन्धी काम गरेको' काउन्सिल निर्णयमा उल्लेख छ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २घ, २ (घ१) को नियमावली २०२४ को नियम २ (घ) र नियम ७ को व्यवस्था अनुसार एउटा विषयमा विशेषज्ञता हासिल गरेकाले अर्को विषयमा काम गर्न नपाइने भनी व्यवस्था गरेको अवस्थामा तालिम लिएको व्यक्तिले रेडियोलोजिस्ट र अल्ट्रासाउन्ड समेत गर्न नपाइने भए पनि शाक्यले तालिम लिएको भन्ने दाबीको भरमा काउन्सिलले मन्त्रालयसँग सोध्ने निर्णय गरेको छ। यसअघि पत्राचार गरे पनि मन्त्रालयले कुनै जानकारी नदिएपछि कारबाहीको बाटो छल्न काउन्सिलले यस्तो निर्णय गरेको हो।

लाइसेन्स नलिँदै प्रसूति सेवा

पछिल्लोपटक मात्रै काउन्सिलमा दर्ता भएका अर्का चिकित्सक दिलिपकुमार यादवले पटकपटक लाइसेन्सिङ परीक्षामा फेल भए पनि सेवा दिइरहेको पुष्टि भएपछि काउन्सिलले कैद र जरिवनासहित कारबाही सिफारिस गरेको छ।

दर्ता नम्बर १५६६६ का चिकित्सक यादवले झापा बुधबारेकी कविता लुहागनको झापाकै मनकामाना अस्पतालमा चिकित्सक दर्ता नहुँदै प्रसूति गराएको पुष्टि भएको थियो। सो क्रममा लुहागनको मृत बच्चा जन्मिएपछि त्रुटि भएको भन्दै परेको उजुरीमा छानबिन गर्दा यस्तो तथ्य खुलेको थियो।

२०७१ जेठ १९ गते स्थानीय मनकामना अस्पतालमा प्रसूति क्रममा आफूलाई डाक्टरको नाम दिई चिनाउने व्यक्ति संलग्न भएको भनिएपछि पछि दिलिप संलग्न भएको पुष्टि भएको थियो। बिरामीको सहमति पत्रमा यादवले नामको अगाडि डाक्टर उल्लेख गरेका उनी लाइसेन्सिङ परीक्षाको रेकर्ड हेर्दा पटकपटक फेल भएको पाइएको थियो। पछि यादवले काउन्सिल दर्ता प्रमाणपत्र लिए पनि सेवा दिँदा नलिएको देखिएको काउन्सिलले जनाएको छ।

काउन्सिल ऐन, २०२० को दफा २७(१) मा कुनै व्यक्तिले आधुनिक औषधिसम्बन्धी चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधिसम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाए र दफा २७(२) मा कसैले उपदफा (१) को बर्खिलाप कसुर गरेको ठहरेमा निजलाई तीन वर्षसम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

काउन्सिल निर्णयमा दिलीपकुमार यादवले ऐनको बर्खिलाप हुने गरी कार्य गरेको हुँदा ऐनमा उल्लिखित कैद र जरिवानाको मागदाबी गरी निजउपर मुद्दा चलाउनुपर्ने देखिँदा ऐनको दफा २८ बमोजिम मुद्दा चलाउन नेपाल सरकारसमक्ष पेस गर्ने निर्णय गरेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस