उत्तरपुस्तिकामा परीक्षकलाई प्रभावित पार्ने गरेर आफ्नो नाम, फोन नम्बर र रोल नम्बर लेख्ने २२ जना परीक्षार्थीको परीक्षा प्रदेश लोक सेवा आयोग सुर्खेतले रद्द गरेको छ। आयोगले एक जनालाई दुई वर्षका लागि र २१ जनालाई एक वर्षका लागि परीक्षा दिन नपाउने गरेर कारवाही पनि गरेको छ।
प्रदेश लोक सेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार इन्जिनियरिङ सेवा सिभिल समूह, एकीकृत उपसमूह, सहायकस्तर पाँचौं समूहसव–इन्जिनियर पदको जेठ २१ गते सञ्चालिन लिखित परीक्षामा उत्तरपुस्तिकामा परीक्षकलाई प्रभाव पार्ने गरेर उत्तरपुस्तिकाको भित्रि पृष्ठमा आफ्नो नाम, फोन नम्वर र रोल नम्वर लेखेका थिए।
‘प्रदेश लोक सेवा ऐन २०७५ को दफा ६४ (१) (ख) बमोजिम कारवाही गरिएको हो,’ अध्यक्ष उपाध्यायले भने, ‘परीक्षकलाई प्रभाव पार्ने गरेर आफ्नो मोवाइल नम्वर, नाम र रोल नम्वर लेख्ने एक जनालाई दुई वर्षका लागि र नाम र रोल नम्वर मात्रै उत्तरपुस्तिकामा लेख्ने २१ जनालाई एक वर्षसम्म परीक्षामा सहभागी हुन नपाउने गरी कारवाही गरिएको हो।’
आयोगका अनुसार मुगु जिल्लाको सोरु गाउँपालिका–१ का राजेन्द्र शाहीलाई दुई वर्षका लागि आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरेर कारवाही गरिएको हो। यस्तै रम्भा–३ पाल्पाका ममता पौडेल क्षेत्री, चन्द्रपुर–५ रौतहटका प्रेम जैसवाल, वीरेन्द्रनगर–११ सुर्खेतका प्रविण पुलामीमगर, महोत्तरी–२ का सरोजकुमार महतो, धराला–६ बझाङका रामबहादुर चौहान मल्ल, हरिपुर–९ सर्लाहीका अरुणकुमार साह, अजयमेरु–२ डडेलधुराका सुरेश ताम्राकार र बोदेबसाइन–६ सप्तरीका सुशील यादवलाई एक वर्षसम्म उम्मेदवार हुन नपाउने र आर्थिक वर्ष २०७८ ०७९ मा प्रकाशित विज्ञापनमा दिएका सबै परीक्षा रद्द गरिएको हो।
यस्तै डुंगेश्वर–५ दैलेखका देवनारायण आचार्य, मिथिलाबिहारी–६ धनुषाका राजेशकुमार यादव, लेकवेशी–१ सुर्खेतका प्रकाश बडुवाल, अजयमेरु–५ डडेल्धुराका भुवनचन्द्र जोशी, जानकी–४ कैलालीका राहुल कठरिया, दशरथचन्द–४ बैतडीका प्रदिप भट्ट, हिमा–६ जुम्लाका वीरेन्द्रबहादुर अधिकारी, केदारस्यू–६ बझाङका डम्वरबहादुर धामी, चौरजहारी–७ रुकुम पश्चिमका हिरादेवी डांगी, सुनिलस्मृति–३ रोल्पाका लोकेन्द्र विष्ट, वित्थडचिर–८ बझाङका नरेन्द्र अवस्थी र बोदेबसाइन–७ सप्तरीका शम्भुप्रसाद साहलाई पनि एक वर्षसम्म उम्मेदवार हुन नपाउने र आर्थिक वर्ष २०७८ ०७९ मा प्रकाशित विज्ञापनमा दिएका सबै परीक्षा रद्द गरिएको प्रदेश लोक सेवा आयोगले जनाएको छ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।