
पोखरा- हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको छ। हिउँ परेपछि ह्वात्तै चिसो बढेको छ। हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा परेको बाक्लो हिमपातले डाडाँकाँडा पूरै सेताम्य भएका छन्। हिउँ परेपछि आइतबार पोखरा-जोमसोम हवाई उडान पनि हुन सकेन। मनाङको माथिल्लो क्षेत्रमा ३ फिट बाक्लो हिउँ परेको छ।

जोमसोम विमानस्थलका प्रमुम अनुप जोशीका अनुसार रातिदेखि जोमसोम र आसपासका क्षेत्रमा पानी परिरहेको छ। पानी परेपछि हिउँले डाडाँ सेताम्य छन्। रातीदेखि पानी पर्न थालेपछि जोमसोम र आसपासका केही हिउँ पग्लेको छ। हिमपातले चिसो बढाएको उनले बताए।

जोशीका अनुसार जोमसोममा शनिबार रातिको तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको थियो। 'राति निकै चिसो बढेको थियो। तर, पानी परेपछि बिहान केही कम भएको छ, तापक्रम ५ पाँच डिग्री सेल्सियस छ,' उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका प्रमुख विदुर कुइँकेलले हिमपातले गर्दा जनजीवन सुनसान भएको बताए। 'पर्यटक आगमन पनि छैन। दिनभरिमा १०-१२ जना पर्यटक आवागमन भएको तथ्यांक छ,' उनले भने, 'चिसो पछि बढेको छ, जोमसोम बजार सुनसान छ।

स्थानीयबासी घरबाहिर निस्कन सकेका छैनन्।' हिमपातले गर्दा सवारी आवागमनमा पनि समस्या रहेको उनले बताए। जोमसोमभन्दा तल्लो भेगमा सवारी चलेपनि माथिल्लो भेगमा गाडी नचलेको उनले बताए।

मनाङमा पनि बाक्लो हिमपात भएको पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिए। उनका अनुसार मनाङको तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरेको छ। 'राति निकै चिसो थियो। शनिबार मध्यान्हदेखि पर्न थालेको हिउँ अझै रोकिएको छैन,' उनले भने, 'चिसो निकै बढेको छ। हिमपातले गर्दा हिँडडुलमा समेत समस्या भएको छ।' गुरुङका अनुसार माथिल्लो मनाङमा एकफिट बाक्लो हिउँ जमेको छ। घरको छतमा बाक्लो हिउँ जमेपछि फ्याक्नुपरेको उनले बताए।

उनका अनुसार सदरमुकाम चामे माथिका सबै डाँडा हिउँले सेताम्य भएका छन्। हिउँ परेपछि पर्यटकहरु होटलभित्रै हिटर थापेर बसिरहेका छन्। पर्यटकका लागि यतिबेला अफसिजन भएकोले अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने मनाङमा विदेशी पर्यटक निकै कम छन्। पुगेका केही पर्यटक पनि हिँडडुल गर्न पाएका छैनन्। हिमपातपछि बढेको चिसोले घरबाहिर निस्कनसमेत समस्या परेको उनले बताए।

मनाङका डीएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार समुन्द्री सतहभन्दा ३ हजार २ सय मिटरमाथिका सबै गाउँ र क्षेत्रमा हिउँ परेकेा छ। मनाङको माथिल्लो भेगमा तीन फिटसम्म बाक्लो हिउँ परेको उनले बताए। 'हिउँले गर्दा बजार सुनसान भएको छ। पर्यटक आगमन पनि ठप्पजस्तै भएको छ,' उनले भने, 'माथिल्लो भेगमा झनै बढी हिउँ छ।' हिमपातले गर्दा जनजीवन प्रभावित भएको उनले बताए।

त्यस्तै सोलुखुबम्बु संबादादाता भानभक्त निरौलाका अनुसार खुम्बु क्षेत्रमा परेकेा अविरल वर्षसँगै रातभर भारी हिमपात भएपछि जन जीवन कष्टकर बनेको छ। मध्यराति १२ बजेदेखि जारी हिमपातले नाम्चे, खुम्जुङ क्षेत्रमा झण्डै २ फिट सम्म हिउँ जमेको छ। 'हिउँ पर्ने क्रम अझै रोकिएको छैन, स्थानीय जनजीवन निकै कष्टकर बन्दैछ,' सगरमाथा राष्ट्रिय निकुञ्जका लेखापाल गिताचारी आचार्यले भने।
रातभरदेखि जारी हिमापातले नाम्चे बजार तथा खुम्जुङ भ्यालीका सर्वसाधरणको जनजीवन प्रभाबित भएको हो। यता सो सिजनमा पहिलो पटक हिउँ परेपछि विदेशी पर्यटकहरु भने हिउँसँग खेलिरहेका छन्। चोरीखर्कको लुक्ला बजारमा सामान्य हिमपात भएको छ भने सदरमुकाम सल्लेरी आसपासका क्षेत्रमा सिमसिम वर्षा भएको छ। चिसोका कारण बालबालिका र वृद्धवृद्धाहरुलाई कठिन भएको छ।
यता, मुलुककै अति ब्यस्त हुने लुक्ला एयरपोर्ट पनि वर्षा र हिमपातका कारण सञ्चालनमा आउन सकेको छैन। आज बिहानदेखि कुनै पनि जहाज अवतरण तथा उडान भर्न नसकेको एटीसी अफिसर किरण काफ्लेले जानकारी दिए।
जाहाज अवतरण हुन नपाएपछि काठमाडौं जान टिकटसमेत लिइसकेका विदेशी पर्यटकहरु मौसम अनुकल्ताको प्रतिक्षामा बसिरहेका छन्।

त्यस्तै मुगु संबाददाता सुमन मल्लका अनुसार शनिबार दिउँसोदेखि लगातार भएको हिमपातका कारण जिल्लाको जनजीवन कष्टकर हुनुका साथै हवाइ सेवासमेत अवरुद्ध भएको छ। जिल्लाको हवाइ यातायातको एकमात्र विकल्प रहेको ताल्च विमानस्थल हिउँले ढाकेपछि मौसममा सुधार आए पनि केही दिनसम्म हवाई यातायात सुचारु हुन नसक्ने नेपाल नागरिक उड्ययन कार्यालय ताल्च विमान स्थलले जनाएको छ।

नेपालगञ्ज, सुर्खेत तथा राजधानीमा कामको सिलसिलामा जान लागेका र स्वास्थ्य उपचारका लागि जान लागेका हवाई यात्रुहरु शुक्रबारदेखि ताल्च विमान स्थलमै रोकिएका छन्। विमान स्थलको धावन मार्ग कालो पत्रे भइनसकेको र कच्ची नै भएकाले हिउँ र पानी पर्दा धावन मार्ग हिलाम्मे हुँदा हवाइ सेवा अवरुद्ध हुने गरेको छ।

शनिबार बेलुकीदेखि जिल्ला सदरमुकाम गमगढीमा समेत हिउँ पर्न थालेपछि सदरमुकामको जन जीवनमा समेत प्रभाव परेको छ। शनिबार मध्यान्हदेखि लगातार परेको हिमपातले जिल्लाका रारा, रोवा, पिना, पूर्वी करान भेगका पाँच गाविसको जनजीबन नराम्ररी प्रभावित बनाएको छ। हिमपातका कारण नाग्म गमगढी सडक समेत अबरुद्ध बनेको छ।

जुम्ला र मुगुको सिमानामा पर्ने घुच्ची लेकमा सबैभन्दा बढी हिउँ जमेका कारण यो सडक सञ्चालन हुन धेरै दिन लाग्ने बताइएको छ। सुर्खेतदेखि गमगढीका लागि व्यापारिक सामान बोकेर आएका मालबाहक गाडीहरु सिंजाको गाठी जिउलामा नै रोकिएका छन् भने गमगढी पुगेका गाडीहरु समेत हिमपातका कारण फर्किन सकेका छैनन।

दैनिक उपभोग्य वस्तु, निर्माण सामाग्री तथा अन्य व्यापारिक सामान बोकेर आएका दर्जन बढी मालबाहक गाडी बीच बाटोमा नै रोकिएका मुगु उद्योग वाणिज्य संघले जनाएको छ। शनिबारदेखि बिग्रिएको मौसम आइतबार बिहानसम्म पनि सुधार आउन सकेको छैन।

उता जुम्ला संवाददाता डिबी बुढाका अनुसार शनिबार बिहानदेखि परेको हिमपातका कारण जनजीवन जुम्ला आसपासका क्षेत्रको जनजीवन प्रभावित बनेको छ। लगभग आधा फिट हिउँ जमेको छ।


तस्बिर : विनोद गुरुङ/सुमन मल्ल/ डिबी बुढा