सोलुखुम्बु– सोलुखुम्बुको देउसामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। देउसा ७ का १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा स्थानीयले सोही ठाउँका कुमारसिंह राईलाई प्रहरीको जिम्मा लगाएका हुन्।
तीन दिनअघि नै ती बालिका बलात्कारमा परेको स्थानीय बताउँछन्। स्थानीयले पक्राउ गरी नेले प्रहरी चौकीमा बुझाएपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ। भोलि अदालतमा म्याद थपका उपस्थित गराइने प्रहरीले जनाएको छ।
यसैबीच सोताङको वीरेन्द्रज्योति उमाविका शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय हातामा प्रवेश गरेपछि पक्राउ परेका छन्। प्रावि तहमा पढाउने पंचन ९ का ४१ वर्षीय चक्रबहादुर राईलाई इलाका प्रहरी कार्यालय सोताङले नियन्त्रणमा लिएको हो। बिहीबार विद्यालय समयमै मादकपदार्थ सेवन गरी विद्यालय प्रवेश गरेर जथाभावि होहल्ला गरेपछि राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।