डढेलोसँगै वायु प्रदूषणमा पनि वृद्धिः काठमाडौं पहिलो प्रदूषित सहर
११ वैशाख २०८३
•
५ मिनेट पाठ
डढेलोसँगै वायु प्रदूषणमा पनि वृद्धिः काठमाडौं पहिलो प्रदूषित सहर
देशका विभिन्न स्थानमा वन डढेलोका घटना बढ्न थालेका छन् भने काठमाडौं उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण पनि वृद्धि हुन थालेको छ। केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था बढेकाले डढेलो र प्रदूषण दुवैमा वृद्धि देखिएको सम्बन्धित निकायको तथ्याङ्कले देखाएको छ।




विशेषगरी सुक्खा मौसम र उच्च तापक्रमका कारण सानो झिल्काले समेत आगलागी निम्त्याउने जोखिम बढेको वन तथा भूसंरक्षण विभागले जनाएको छ। वन डढेलोबाट निस्कने धुवाँ र वायुमण्डलमा जमेको धुलोको कणले उपत्यकाको वायु गुणस्तरलाई समेत खराब बनाउन थालेको छ।

वन डढेलोको उच्च जोखिम रहने चैत महिनामा चालु वर्ष भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमी देखिएको थियो। प्रि–मनसुन अवधिमा औसतभन्दा बढी वर्षा भएकाले सुक्खापन कम हुँदा डढेलोका घटनामा गिरावट आएको थियो। तर पछिल्ला दिनहरूमा वर्षा अभावसँगै पुनः सुक्खा बढ्न थालेकाले डढेलोको जोखिम पुनः बढ्ने सङ्केत देखिएको विज्ञहरूले बताएका छन्।

वन तथा भूसंरक्षण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार चैत महिनामा आर्थिक वर्ष २०७८ मा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए। यो सङ्ख्या २०७९ मा घटेर २६७ मा झरे पनि २०८० मा २४९ र २०८१ मा पुनः बढेर ३३१ पुगेको थियो। चालु आर्थिक वर्ष २०८२ मा भने ७९ वटामात्रै घटना दर्ता भए, जसलाई विज्ञहरूले मौसमीय अवस्थासँग जोडेर हेरेका छन्। प्रिमनसुन अवधिमा भएको राम्रो वर्षाका कारण अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा उल्लेखनीय गिरावट आएको थियो।  

वन तथा भूसंरक्षण विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखको पहिलो सातादेखि नै देशभर डढेलोका घटना पुनः बढ्दो क्रममा देखिएका छन्। विभागको  तथ्याङ्कले वैशाख ६ देखि ९ गतेसम्मको दैनिक विवरण सार्वजनिक गर्दै चार दिनमै १०२ वटा डढेलोका घटना दर्ता भएको जनाएको छ।

विभागका अनुसार सबैभन्दा बढी डढेलो घटना दाङमा १७ वटा दर्ता भएका छन्। त्यसपछि कपिलवस्तुमा १४, नवलपुरमा नौवटा डढेलोको घटना भएका छन्। सल्यान, सुर्खेत तथा कैलालीलगायतका जिल्लामा पनि उल्लेख्य सङ्ख्यामा डढेलोका घटना देखिएका छन्।  

तथ्याङ्कअनुसार केही जिल्लामा डढेलोको ‘विश्वसनीयता स्तर’ (६० प्रतिशतभन्दा बढी) उच्च रहेको छ। विशेषगरी कैलालीमा १२, डोटीमा ११, अर्घाखाँचीमा सात, गुल्मीमा छ र पाल्पामा पाँचवटा उच्च विश्वसनीयताका घटना देखिएको विभागले जनाएको छ।  

त्यस्तै यस अवधिमा संरक्षित क्षेत्रभित्र पनि डढेलोको जोखिम कायम रहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी २३ वटा घटना दर्ता भएका छन् भने पर्सा राष्ट्रिय निकुञ्जमा १० र बाँके राष्ट्रिय निकुञ्जमा नौवटा डढेलोका घटना देखिएका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा पनि डढेलो फैलिएको विवरणमा उल्लेख छ। संरक्षित क्षेत्रतर्फ कुल ५७ वटा डढेलोका घटना र ३३ वटा उच्च विश्वसनीयताका घटना रेकर्ड भएका छन्। त्यसैगरी, बुधबारदेखि बिहीबारसम्म मात्र १५ वटा वन डढेलोको घटना भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले पछिल्ला दिनमा डढेलोका घटना फेरि बढ्न थालेको बताए। ‘अस्तिबाट डढेलोको घटना बढेको छ’, उनले भने, ‘मनसुनले केही समय साथ दिएको थियो, तर अहिले पुनः सुक्खा अवस्था छ। सुक्खा भएका कारण सानो झिल्काले पनि आगो लाग्ने जोखिम उच्च छ।’

प्रधानका अनुसार यदि निकट भविष्यमा वर्षा नभए डढेलोको जोखिम अझै बढ्न सक्नेछ। ‘अब पानी नपरेमा डढेलो थप फैलिन सक्छ’, उनले भने। महानिर्देशक प्रधानले बढ्दो तापक्रम, सुक्खा मौसम र मानवीय असावधानीलाई डढेलोका मुख्य कारणका रूपमा औँल्याउँदै सचेतना र पूर्वतयारी बढाउन आवश्यक रहेको बताए।

विभागकै वन अधिकृत विजय ढकालले डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको बताए। वन क्षेत्रमा आगो लगाउने, खरानी फाल्ने वा असावधानीपूर्वक आगो प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए) का अध्यक्ष राकेश कर्णले वन डढेलो नियन्त्रणका लागि प्रभावकारी वन व्यवस्थापन अपरिहार्य रहेको बताए। ‘जहाँ व्यवस्थित रूपमा वन व्यवस्थापन गरिएको छ, त्यहाँ डढेलोका घटना न्यून देखिएका छन्, तर व्यवस्थापन अभाव भएका क्षेत्रमा डढेलोको समस्या जटिल बन्दै गएको छ’, उनले भने।  

डढेलोसँगै वायु प्रदूषणमा पनि वृद्धिः काठमाडौं पहिलो प्रदूषित सहर  

देशका विभिन्न स्थानमा बढ्दै गएको डढेलोको असर काठमाडौं उपत्यकाको वायुमण्डलमा स्पष्ट देखिन थालेको छ। पछिल्ला दिनमा वर्षा अभाव र सुक्खा मौसमका कारण डढेलोका घटना बढेसँगै उपत्यकामा वायु प्रदूषण पनि तीव्र रूपमा वृद्धि भएको हो।  

एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मंगलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बढेर १९६ पुगेको छ। यससँगै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा सूचीकृत भएको छ। बिहीबार भने एक्युआई अझै बढेर २४७ पुगेको थियो, जुन ‘अत्यन्त अस्वस्थ’ तहमा पर्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नहुनु, हावाको गति कम हुनु र तापक्रम बढ्नुजस्ता मौसमी अवस्थाले प्रदूषित कणहरू वायुमण्डलमै थुप्रिएको र उपत्यकामा वायु प्रदूषण बढेको जानकारी दिए।  

वातावरण युवा अभियन्ता राजन थापाले डढेलोबाट निस्कने धुवाँ, धुलो तथा सुक्ष्म कण (पीएम २.५)ले वायुमण्डललाई गम्भीर रूपमा प्रदूषित बनाउने जानकारी दिए। देशभर फैलिएको वायु प्रदूषणको अवस्थाबारे टिप्पणी गर्दै थापाले पछिल्लो तथ्याङ्कले व्यापक र गम्भीर प्रदूषणको अवस्था देखाएको बताए।

एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। स्वास्थ्य विज्ञहरूले प्रदूषण बढेको समयमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र सुरक्षित रहन सुझाव दिएका छन्।

अझै केही दिन सुक्खा

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार देशका विभिन्न भागमा देखिएको तुवाँलो र तातो मौसम क्रमिक रूपमा सुधार हुने सङ्केत देखिए पनि पूर्ण रूपमा हट्न भने अझै केही दिन कुर्नुपर्ने भएको छ।

‘आइतबारदेखि मौसममा सुधार देखिन थाले पनि तुवाँलो पूर्ण रूपमा हट्नका लागि बुधबारसम्म प्रतीक्षा गर्नुपर्नेछ’, उनले भने, ‘अर्को सातादेखि मात्रै राम्रो वर्षा हुने सम्भावना छ, वन डढेलो र प्रदूषण नियन्त्रणमा सहयोग गर्न सक्छ।’

विभागका अनुसार आज पनि मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा ‘तातो दिन’को अवस्था कायम रहने सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ‘तातो हावाको लहर’ (लु) चल्ने जोखिमसमेत रहेको छ। मौसमविद्हरूले उच्च तापक्रम र तुवाँलोको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस