कलाकारहरूको एकै स्वर: 'देश पूर्णरूपमा बालविवाहमुक्त बनोस्'
२० जेष्ठ २०८३
•
१३ मिनेट पाठ
कलाकारहरूको एकै स्वर: 'देश पूर्णरूपमा बालविवाहमुक्त बनोस्'
सिरहाकी रजनी (नाम परिवर्तन) ले सानो उमेरमै विवाह भएदेखि नै खुसीको अनुभूति गर्न पाएकी छैनन्। आमाबुबाले १४ वर्षकै उमेरमा विवाह गरिदिए र सानै उमेरमा तीन जना छोराछोरीका आमा बनेकी रजनी विगत तीन वर्षदेखि पाठेघरको समस्यासँग जुधिरहेकी छिन्। घरमा श्रीमानसहित दुई छोरी, एक छोरा गरी पाँच जनाको परिवार छ। उनको पनि घरको अवस्था निकै कमजोर छ। श्रीमानले दैनिक ज्यालादारी गर्दै छोराछोरी पढाइरहेका छन् भने उनी घरायसी काम गरेर जीविकोर्पाजन गरिरहेकी छिन्।




घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले पाठेघरको औषधि उपचार गर्न पाएकी छैनन्। बिरामी हुँदा पनि उनलाई घरको जिम्मेवारीले थिचेको छ।

यस्तै, सिरहाकै देवी (नाम परिवर्तन)को अवस्था पनि रजनीको भन्दा कम छैन। १५ वर्षकै उमेरमा आमाबुबाले विवाह गरिदिए। सानै उमेरमा उनको पनि छोराछोरी जन्मिए। उनी पनि अहिले विगत तीन वर्षदेखि पाठेघरमा घाउ भएपछि समस्यामा छिन्।  

श्रीमान् र घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनले उपयुक्त उपचार पाउन सकेकी छैनन्। उनका दुई छोरी, दुई छोरा र श्रीमान् गरी जम्मा ६ जनाको परिवार छ। ४६ वर्षीय उनका श्रीमान् विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीमा छन्। देवीकी जेठी छोरी घरको काम गर्छिन्। कान्छी छोरी आमासँगै सानो पसल गरिरहेका छिन् भने जेठो छोरा दैनिक ज्यालादारी गर्छन्। यसरी नै देवीको परिवार चलिरहेको छ।

श्रीमान् एक वर्षदेखि अर्कै महिलासँगको सम्बन्धमा भएकाले आफू र छोराछोरीलाई बेवास्ता गरेको उनले सुनाइन्। उनले आफू लाउलाउ खाउखाउको उमेरमै आमा बन्नु परेको सम्झिँदै भनिन्, ‘१५ वर्षमा बिहे भयो अनि आमा बनिहालेँ। अहिले पाठेघरमा घाउ छ। उपचार गर्न पैसा छैन। श्रीमानले अर्कै केटी राखेर बसेका छन्। हामीलाई हेर्दैन। घरखर्च चलाउन र छोराछोरी हुर्काउन साह्रै गाह्रो भयो।’ उनी आफू यो अवस्थामा पुग्नुको प्रमुख कारण नै बालविवाह र पारिवारिक जिम्मेवारी भएको बताउँछिन्।

यी घटना हाम्रो समाज तथा समुदायमा रहेका कैयन महिलाहरूको अवस्था हो। उनीहरू जस्तै धेरै महिलाहरू अहिले पनि घरपरिवार र समाजमा पिल्सिएरै बस्नु परेको अवस्था छ। यी महिलाहरू यो स्थितिमा आउनुको कारण भनेको सानो उमेरमै अर्थात् उमेर नपुगी विवाह गरिदिनु हो।  

सानै उमेरमा विवाह गर्दा हुने हानिनोक्सानीले भविष्यमा शारीरिक र मानसिक स्वास्थ्यमा नै ठूलो असर गरेको यी घटना ज्वलन्त उदाहरण हुन्।  

राष्ट्रिय मानव अधिकार आयोगदखि बालबालिका तथा महिलाहरूको हक अधिकारका लागि लड्ने धेरै संघसंस्थाहरूले बालविवाह न्यूनीकरणका लागि वकालत गर्दै आएका छन्। यसैबीच मनोरञ्जनका माध्यमबाट समाजलाई सुसूचीत गर्ने जिम्मेवारी बोकेका कलाकारहरू पनि बालविवाह समाजका लागि अभिषाप हुनेमा एक मत राख्छन्।

हास्य कलाकार तथा अभिनेता जितु नेपालले बालविवाहविरुद्धको अभियान सभा–समारोह र प्रतिबद्धतामा सीमित नराखी प्रत्यक्ष प्रभावित समुदायसम्म पुर्‍याउनुपर्ने बताएका छन्।

उनले बालविवाहबाट पीडित भएका व्यक्ति र समुदायसम्म पुगेर नाटक, गीत, कविता र संवादमार्फत सचेतना फैलाउन सके अभियान प्रभावकारी हुने धारणा राखे। 'जहाँ पीडितहरू छन्, जहाँ बालविवाह भयो, जसले बालविवाह गरेर दुःख पाए, त्यहीँ पुगेर गीत गाउनेलाई गाउन लगाऔँ, नाटक देखाऔँ, संवाद गरौँ,' उनले भने, 'त्यो अलि प्रभावकारी हुन्छ जस्तो मलाई लाग्छ।'

उनले कार्यक्रमहरूमा फोटो खिच्ने र प्रतिबद्धता जनाउने कार्य मात्रै पर्याप्त नभएको उल्लेख गर्दै बालविवाह अन्त्यका लागि समुदायमै केन्द्रित अभियान आवश्यक रहेको बताए। 'हामीले यहाँ फोटो खिच्दै गर्दा, प्रतिबद्धता जनाउँदै गर्दा यो समस्या हट्छ त? सबैभन्दा ठूलो प्रश्न यही हो,' उनले नागरिकसँग भने।

नेपालले बालविवाहविरुद्धको अभियानमा पीडितकै आवाजलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

यस्तै, लोक गायिका एवं कलाकार लक्ष्मी नेपालीले सञ्चारमाध्यम र सार्वजनिक बहसमा पीडितका अनुभव, भावना, कविता र कथाहरूलाई स्थान दिन सकिए सामाजिक परिवर्तनमा थप प्रभाव पर्न सक्ने बताइन्। 'हामी अगाडि बस्ने होइन, उनीहरूलाई अगाडि बढाउने हो,' उनले भनिन्, 'ती बालविवाहितहरू, ती पीडितहरू, तिनका कविता, तिनका गीत र भावना समाजले सुन्नुपर्छ।'

नेपालले सामाजिक सचेतनाका कार्यक्रमका लागि आफू निःशुल्क रूपमा सहभागी हुन तयार रहेको पनि बताए। 'कुनै पनि सामाजिक कामका लागि म निःशुल्क जान सक्छु,' उनले भने, 'जाने, आउने, खाने र बस्ने व्यवस्था गरिदिनुभयो भने म जहाँ पनि पुग्छु।'

कलाकार भीमा मैनालीले कलाकारहरूलाई समुदायस्तरमा परिचालन गर्न सके बालविवाहजस्ता सामाजिक समस्याविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न सकिने बताउँछिन्।

यस्तै, सिन्धुपाल्चोकका स्थायी बासिन्दा जितु नेपालले आफ्नो बाल्यकालमा देखेको एक बालविवाहको घटना सम्झिँदै त्यसले आफूलाई अझै झस्काउने बताए। उनका अनुसार गाउँमा एक सानी बालिकालाई विवाहपछि डोलीमा राखेर विदाइ गरिँदै गर्दा उनी रोइरहेकी थिइन्। घर छोड्न नमानेर बीच बाटोबाटै फर्किन खोजेकी ती बालिकालाई पुनः समातेर डोलीमा राखिएको दृश्य उनले आफ्नै आँखाले देखेका थिए।

'त्यो उमेरमा म जन्ती गएको मान्छे हुँ,' उनले भने, 'त्यो दृश्य आज पनि सम्झँदा मन दुख्छ।'

बालविवाहको विषयलाई कानुनी व्यवस्थाभन्दा पनि बालबालिकाको जीवन र भविष्यसँग जोडिएको संवेदनशील विषयका रूपमा हेर्नुपर्ने लोक गायिका राधिका हमालको भनाइ छ।

प्रविधिको पहुँच बढेर अहिले सबैको हातमा मोबाइल फोन पुगेको भए पनि बालविवाहविरुद्धको सन्देश लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुग्न सकेको छ कि छैन भन्ने प्रश्न अझै कायम रहेको उनले बताइन्।

कलाकार शिवशङ्कर रिजालले बालविवाह अन्त्यका लागि समाजका सबै क्षेत्रले आ-आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने बताउँछन्।

उनले बाल्यकाललाई भगवानको रूप मानिने भए पनि विगतमा धेरै बालिकाले सानै उमेरमा विवाहका कारण पीडा भोग्नुपरेको स्मरण गरे। उनले पछिल्लो समय बालविवाह न्यूनीकरण भए पनि मधेश र कर्णाली प्रदेशका केही क्षेत्रमा यसको प्रभाव अझै कायम रहेको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरेर यस्ता सचेतनामूलक कार्यक्रम गाउँ–गाउँसम्म पुर्‍याउनुपर्ने बताए।

रिजालले कलाकार, लेखक, सञ्चारकर्मी तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूले आफ्ना-आफ्ना माध्यमबाट बालविवाहविरुद्ध जनचेतना फैलाउन सके अभियान प्रभावकारी हुने धारणा राखे। उनले आफू पनि बालविवाहमुक्त समाज निर्माणका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

'देशलाई पूर्ण रूपमा बालविवाहमुक्त घोषणा गर्ने दिन चाँडै आओस्,' उनले भने, 'त्यसका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान दिन आवश्यक छ।'

गायक तथा सांस्कृतिक अभियन्ता रुपेश झाले बालविवाह अन्त्यका लागि विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम रहनुपर्ने बताएका छन्।

उनले बालविवाहले बालबालिकाको अधिकार र भविष्यमा नकारात्मक असर पार्ने भएकाले यसलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे। प्रत्येक बालिका र बालकको आफ्नै अधिकार हुने उल्लेख गर्दै उनले उनीहरूलाई आफ्नो क्षमता विकास गर्ने पर्याप्त अवसर दिन आवश्यक रहेको बताए।

'छोरा र छोरीबीच कुनै भिन्नता हुनुहुँदैन। सबैले समान अधिकार पाउनुपर्छ,' उनले नागरिकसँग भने, 'आफ्नो खुट्टामा उभिनुअघि विवाह गर्दा विशेषगरी छोरीहरूलाई भविष्यमा विभिन्न समस्या भोग्नुपर्ने अवस्था आउन सक्छ।'

सरकारले विवाहको न्यूनतम उमेर २० वर्षबाट १८ वर्षमा झार्ने विषयमा भइरहेको बहसबारे प्रतिक्रिया दिँदै झाले व्यक्तिगत रूपमा उक्त प्रस्तावसँग सहमत नरहेको बताए। उनका अनुसार पछिल्ला वर्षहरूमा युवायुवतीहरू उमेरभन्दा चाँडै परिपक्व बन्दै गएको देखिए पनि १८ वर्ष विवाहका लागि पर्याप्त उमेर नभएको उनको बुझाइ छ।

'१८ वर्षमा छोरी वा छोराको मानसिक विकास पूर्ण रूपमा भइसकेको हुँदैन। त्यसैले विवाहको न्यूनतम उमेर २० वर्ष नै हुनु उपयुक्त हुन्छ भन्ने मेरो धारणा हो,' उनले भने।

जनकपुरसँग सम्बन्धित झाले विगत पाँच–छ वर्षदेखि छोरीहरूको महत्व, महिला सशक्तीकरण तथा मैथिली भाषा–संस्कृतिको संरक्षणका विषयमा गीतसंगीत र विभिन्न सांस्कृतिक कार्यक्रममार्फत काम गर्दै आएको बताए। हाल उनी ‘भजन साँझ’ मार्फत पनि नियमित रूपमा सांगीतिक प्रस्तुति दिँदै आएको बताउँछन्।

गायिका आस्था राउतले बालविवाहले बालबालिकाको बाल्यकाल, शिक्षा, स्वास्थ्य, आत्मविश्वास र भविष्यका सपनाहरू खोस्ने भएकाले यसको अन्त्यका लागि सबै क्षेत्रबाट आवाज उठाउन आवश्यक रहेको बताएकी छन्।

उनले कलाकारको भूमिका मनोरञ्जनमा मात्र सीमित नहुने उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तन र चेतना फैलाउन पनि कलाकारहरूले योगदान गर्नुपर्ने धारणा राखिन्। 'बालविवाहले बाल्यकाल नै खोस्छ। शिक्षा, स्वास्थ्य, आत्मविश्वास र जीवनमा केही गर्ने सपनाहरूलाई कमजोर बनाउँछ,' उनले भनिन्, 'प्रत्येक बालबालिकाले बढ्ने, सिक्ने र आफ्नो भविष्य स्वतन्त्र रूपमा रोज्ने अधिकार पाउनुपर्छ।'

महिला अधिकार, बाल अधिकार र समानताका विषयमा आफूले संगीत र विभिन्न सार्वजनिक मञ्चमार्फत निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै राउतले समाजका हरेक व्यक्तिले आफ्नो-आफ्नो क्षेत्रबाट बालविवाहविरुद्ध बोल्नुपर्ने आवश्यकता औँल्याइन्।

आफ्नो सांगीतिक यात्राको सुरुआती चरण स्मरण गर्दै उनले बाल्यकालमै गाएको गीतमार्फत छोरीमाथि हुने विभेदको विषय उठाइएको बताइन्। आफ्नो चर्चित गीत ‘झुम्के बुलाकी’ को सन्दर्भ उल्लेख गर्दै उनले उक्त गीतले छोरीलाई पनि छोरासरह शिक्षा, अवसर र आत्मनिर्भरता दिनुपर्ने सन्देश बोकेको स्पष्ट पारिन्।

राउतले विवाहलाई बन्धन नभई सन्तुलनको सम्बन्धका रूपमा व्याख्या गर्दै शारीरिक तथा मानसिक रूपमा परिपक्व भएपछि मात्रै विवाह उचित हुने धारणा व्यक्त गरिन्। 'सही उमेर, परिपक्व सोच र आफ्नै रोजाइका आधारमा जीवनसाथी चयन गर्दा मात्र विवाह सफल र सन्तुलित हुन्छ,' उनले भनिन्।

बालविवाह अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै उनले सबैलाई ‘विवाहमुक्त बाल्यकाल’ अभियानमा आ-आफ्नो स्थानबाट समर्थन जनाउन आग्रह गरिन्।

कलाकार श्वेता खड्काले बालविवाह, बालअधिकार उल्लङ्घन तथा महिलामाथि हुने विभेदविरुद्ध निरन्तर आवाज उठाउन आफू प्रतिबद्ध रहेको बताएकी छन्।

उनले सामाजिक परिवर्तनका लागि प्रभावशाली व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने बताइन्। सामाजिक सञ्जाल, सञ्चारमाध्यम र कला क्षेत्रमार्फत उठाइने आवाजले समाजमा सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ। 'बालविवाह अन्त्य गर्ने जिम्मेवारी अरू कसैको मात्र होइन, हाम्रो पनि हो। अहिले हामीले आवाज उठाएनौँ भने कहिले उठाउने?' उनले प्रश्न गरिन्।

आफू एक छोरीकी आमा भएकाले बालिकाहरूको भविष्यप्रति अझ बढी संवेदनशील रहेको उल्लेख गर्दै खड्काले परम्परा, सामाजिक दबाब र अन्धविश्वासका कारण अझै पनि धेरै बालबालिका अधिकारबाट वञ्चित हुनुपरेको बताइन्। उनले विभिन्न जिल्लामा अभियानका क्रममा पुग्दा विद्यालय जान नपाएका बालबालिका, कम उमेरमै विवाहका लागि बाध्य बनाइएका किशोरी तथा दाइजोका कारण पीडित महिलाहरूको कथा सुनेर भावुक हुने गरेको अनुभव सुनाइन्।

उनले चलचित्रलाई मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक सन्देश प्रवाह गर्ने प्रभावकारी साधनका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन्। आफ्नो पहिलो चलचित्र ‘कहाँ भेटिएला’मा पनि बालश्रम, गरिबी र बालविवाहको दबाब झेल्ने किशोरीको कथा प्रस्तुत गरिएको स्मरण गर्दै सामाजिक यथार्थलाई पर्दामा उतार्न कलाकारहरूको भूमिका महत्वपूर्ण हुने बताइन्।

खड्काले महिला तथा बालबालिकाको उद्धार र संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाहरूसँगको सहकार्यबाट आफूले धेरै पीडितहरूको जीवनकथा नजिकबाट सुन्ने अवसर पाएको बताइन्। सानो उमेरमै बेचबिखन, हिंसा वा शोषणमा परेका बालिकाहरूको अवस्था अत्यन्त पीडादायी रहेको उल्लेख गर्दै यस्ता घटनाविरुद्ध कडा कानुनी र सामाजिक पहल आवश्यक रहेको उनको भनाइ छ।

उनले बालविवाह, लैङ्गिक हिंसा, बलात्कार र मानव बेचबिखनका घटनाविरुद्ध राज्यले प्रभावकारी नीति र कानुन कार्यान्वयन गर्नुपर्ने मागसमेत गरिन्। 'कुनै पनि बालबालिकामाथि अन्याय नहोस्, महिलाले स्वतन्त्र र सुरक्षित जीवन बाँच्न पाऊन् भन्ने मेरो चाहना हो,' उनले भनिन्।

कलाकार, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा डिजिटल प्लेटफर्ममा सक्रिय व्यक्तिहरूले संयुक्त रूपमा बालविवाहविरुद्ध अभियान चलाए समाज परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै खड्काले आफू भविष्यमा पनि यस्ता अभियानमा सक्रिय रहने प्रतिबद्धता जनाइन्।

'हामीले उठाएको एउटा आवाज, एउटा गीत, एउटा चलचित्र वा एउटा सन्देशले कसैको जीवन परिवर्तन गर्न सक्छ,' उनले नागरिकसँग भनिन्, 'त्यसैले बालविवाहमुक्त समाज निर्माणका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।'

अभिनेता तथा निर्देशक मनिष राउतले बालविवाहले बालिका तथा महिलाको जीवनका सपना, अवसर र स्वतन्त्रता समयअघि नै खोस्ने भएकाले यसको अन्त्य आवश्यक रहेको बताएका छन्।

उनले बालविवाहलाई फूल बन्न नपाउँदै कोपिला टिपिनुसरहको अवस्थासँग तुलना गरे। बालविवाहको असर बुझ्नका लागि बालविवाह भोगेका महिला र पुरुषको जीवनलाई उनीहरूकै दृष्टिकोणबाट हेर्न आवश्यक रहेको उनको भनाइ छ।

'बालविवाहमा परेका महिलाले आफ्ना धेरै सपना त्यागेर बाँच्नुपरेको हुन्छ। उनीहरूले भोगेको पीडा र बाध्यता एकपटक महसुस गर्न सकियो भने कसैले पनि आफ्ना छोराछोरीको बालविवाह गराउँदैन,' उनले भने।

राउतले आफ्नो साहित्यिक तथा चलचित्रकर्ममार्फत महिलाका सपना, अधिकार र अस्तित्वका विषयलाई निरन्तर उठाउँदै आएको बताए। आफ्नो कथा ‘जनै हराएको मान्छे’ मा आमाहरूका अधुरा सपना र उनीहरूको जीवनबारे प्रश्न उठाइएको उल्लेख गर्दै उनले हरेक सन्तानले आफ्नी आमालाई ‘तपाईंको सपना के थियो?’ भनेर सोध्नुपर्ने धारणा व्यक्त गरे।

'महिलालाई पनि आफ्नै सपना देख्ने, आफ्नो जीवन आफ्नो तरिकाले बाँच्ने अधिकार छ,' उनले भने, 'हामीले उनीहरूलाई केवल परिवार र समाजका जिम्मेवारी पूरा गर्ने भूमिकामा मात्र सीमित गर्नु हुँदैन।'

उनले नेपालमा महिलाको जनसंख्या र मतदाताको संख्या उल्लेखनीय भए पनि निर्णय निर्माण र नीति निर्माण तहमा महिला सहभागिता अझै पर्याप्त हुन नसकेको टिप्पणी गरे। महिलासम्बन्धी विषयमा प्रभावकारी कानुन र नीतिनिर्माणका लागि महिलाको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता उनले औँल्याए।

बालविवाह नियन्त्रणका लागि विवाहको न्यूनतम उमेर घटाउनु उपयुक्त नहुने उनको धारणा थियो। उनका अनुसार कुनै पनि महिला आफ्नो खुट्टामा उभिन, शिक्षा हासिल गर्न र जीवनबारे स्वतन्त्र निर्णय लिन सक्षम भएपछि मात्र विवाहको निर्णय गर्न सक्नुपर्छ।

'महिला अरूको सपना पूरा गर्ने साधन होइनन्। उनीहरूले आफ्नै सपना देख्न, आफ्नै संसार निर्माण गर्न र आफ्नो भविष्यबारे आफैँ निर्णय गर्न पाउनुपर्छ,' उनले भने।

राउतले अझै पनि नेपाली समाजमा छोरी र बुहारीबीच व्यवहारिक विभेद कायम रहेको उल्लेख गर्दै बालविवाहमुक्त समाज निर्माणका लागि परिवार, समुदाय, नीति निर्माता र प्रभावशाली व्यक्तिहरू सबैले संयुक्त रूपमा पहल गर्नुपर्ने बताए।

बालअधिकार महासन्धिले १८ वर्षमुनिका सबैलाई बालबालिका भन्छ। नेपालमा २०७२ को विधानले बालबालिकाको हकलाई मौलिक हकमा समावेश गरेको छ। संविधानमा भएका अधिकार प्रवर्द्धन गर्न बालबालिका ऐन, २०७५ आयो। ऐनले गरेका व्यवस्था कार्यान्वयन गर्न बालबालिकासम्बन्धी नियमावली, २०७८ कार्यान्वयनमा छ।  

१८ वर्षमुनिका मानिसलाई बालबालिका भने पनि २० वर्षभन्दा कम उमेरमा विवाह गरे/गराइए त्यसलाई बालविवाह भनिन्छ र नेपालको अहिलेको कानुनले यसलाई वर्जित गरेको छ। सरकार आफैँले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८० लागू गरेको छ। रणनीतिमा २०३० सम्ममा बालविवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ।

२०७८ को जनगणनाअनुसार १५ देखि १७ वर्ष उमेरका करिब २२ प्रतिशत र १० देखि १४ वर्ष उमेरका सात प्रतिशतले विवाह गरेको देखिन्छ। सानै उमेरमा विवाह गर्नेमा निमुखा, दलित, सीमान्तकृत समुदायका विशेष गरी तराई मूलका मधेस क्षेत्रमा सानै उमेरमा विवाह गर्ने बालबालिका धेरै छन्। कतिपयले विवाहको उमेर घटाइयो भने बलात्कार कम हुने र बालविवाहको अवस्थामा पनि न्यूनीकरण हुने तर्क गरेका छन्। यी तर्कहरू गरिरहँदा सरकार र बालबालिकाको हकअधिकारका लागि आवाज उठाउने सरोकारवाला निकायले के बिहेको उमेर घटाए बालविवाह अन्त्य हुन्छ भनेर सम्बन्धित पक्षसँग छलफल गर्नु आवश्यक देखिन्छ।
अर्को समाचार
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
२७ मिनेट अघि
•
१ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।




महानगरको सुशासनदेखि विकास निर्माणसम्मका धेरैजसो वाचा अधुरै रहेका हुन्। नगरप्रमुख कोइराला आफूले चुनावमा नगरवासीसँग गरेको संकल्प चुनाव जितेपछि व्यवहारमा लागु गर्न सफल नभएको पाइएको छ।

विराटनगरका नगरप्रमुख र उपप्रमुखले निर्वाचित हुनेबित्तिकै महानगरको यातायातलगायत कुनै पनि सेवासुविधा नलिने भन्दै गरेको घोषणा एक वर्ष पनि पुग्न नपाउँदै तुहिएको थियो। केही महिना महानगरपालिकाको गाडीको सुविधा नलिई आफ्नै गाडी प्रयोग गरेका प्रमुख र उपप्रमुखले पुनः महानगरपालिकाकै सवारीसाधन प्रयोग गरेका थिए। महानगरको गाडी सुविधा नलिने घोषणा सार्थक नभएजस्तै चुनावका बेला महानगरवासीसँग गरेका ६६ बुँदे संकल्पपत्रका अधिकांश बुँदाले सार्थकता पाउन सकेनन्। विराटनगरमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउनेलगायत संकल्पहरू व्यवहारतः कार्यान्वयनमा नआउँदै कार्यकाल अन्तिम चरणमा पुगिसकेको छ।

संकल्पपत्रको पहिलो बुँदा नै महानगरमा कार्यान्वयनमा आउन नसकेको पाइएको छ। उक्त बुँदामा उल्लेख थियो, ‘भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने। सूचनाको हक प्रत्याभूत गर्दै पारदर्शी एवम् जवाफदेही महानगरपालिका निर्माण गर्ने।’

यस्तै दोस्रो बुँदामा महानगरले गर्ने विकास निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्ने भनिएको थियो। तेस्रो बुँदामा उल्लेख ‘महानगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण गर्ने’ र ‘महानगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा गर्ने’ विषय पनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ। चौथो बुँदामा रहेको ‘महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सेवा र सुविधा सामाजिक कार्यमा प्रदान गर्ने’ विषयत पूर्ण रूपमै कार्यान्वयनमा आउन नसकेको देखिन्छ।

महानगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको विज्ञ समूह गठन गर्ने, विराट राजाको दरबार रहेको विराटनगरको भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रका रूपमा विकास गर्ने संकल्प संकल्पपत्रमै सीमित देखिएको छ।

सामुदायिक विद्यालयमा समयानुकूल शैक्षिक गुणस्तर सुधार गर्न नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) तथा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) निर्माण गर्ने, अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्‍याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड बैंक स्थापना गर्ने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने, विराटनगर महानगरपालिका क्षेत्रमा भूमिगत पार्किङसहितको दुई हजार पाँच सय क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने विषयमा हालसम्म खासै प्रगति हुन सकेको छैन।

चुनाव जितेपछि सभागृह निर्माणको विषयलाई प्रमुख कोइरालाले औपचारिक कार्यक्रममा समेत उच्चारण गरेका छैनन्। विराटनगर–१९ मा सभागृह निर्माण गर्न डिपीआरसमेत बनाई भौतिक निर्माणको चरणमा पुगेको उक्त सभागृहका लागि अधिग्रहण गर्ने तयारी गरिएको जग्गामा महानगरपालिकाले काम अघि बढाउने संकेत नदेखाएपछि स्थानीयले आ–आफ्नो जग्गामा पुनः खेतीपाती गरिरहेका छन्।

विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्र्रहालयको निर्माण गर्ने, रानीदेखि विराटनगर–१९ स्थित रंगशालासम्म सटल बस सञ्चालन गर्ने, बिजुली, टेलिफोन, इन्टरनेटलगायत तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गर्ने विषयमा पनि महानगरले कुनै प्रगति गरेको देखिएको छैन।

बिग्रन थालेका सडक, पेटी, ढल तथा अन्य संरचनालाई द्रुत गतिमा प्रारम्भिक चरणमै मर्मत गर्ने, ट्राफिकसम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गर्ने काम पनि साढे चार वर्षको अवधिमा अघि बढ्न सकेका छैनन्। महानगरको सौन्दर्यीकरण अभियानअन्तर्गत सडक, बाल उद्यान, मनोरञ्जन केन्द्र निर्माण, संरक्षण र सरसफाइका काम अघि बढाउने विषयमा भने आंशिक रूपमा कामहरू भएका छन्।

सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने, पिछडिएका समुदाय तथा सुकुम्बासीको पहिचान गरी लालपुर्जासहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई गति दिने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। मनोरञ्जन तथा पारिवारिक वातावरणयुक्त पार्कहरू निर्माण गर्ने, केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने, प्रदेश राजधानीका लागि आवश्यक स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने विषयमा पनि काम अघि बढ्न नसकेको देखिएको छ। प्रतिमहिना ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम संकल्पपत्रमै सीमित भएको छ।

समग्रमा हेर्दा महानगरपालिकाले नियमित गर्ने कामबाहेक उल्लेख्य रूपमा उदाहरणीय काम पछिल्लो कार्यकालमा हुन नसके पनि केही क्षेत्रमा भने विगतको तुलानामा राम्रो काम भएको छ। पछिल्लो कार्यकालमा विराटनगरको फोहोर व्यवस्थापन, सरसफाइ, सडक बत्तीको व्यवस्थापन, ट्राफिक लाइटको व्यवस्थापन, नाला सरसफाइलगायत काममा भने महानगरपालिकाले राम्रो गरेको देखिन्छ। यो कार्यकालमा विकास निर्माणतर्फ एउटा मात्रै ठुलो आयोजना कार्यान्वयन भएको पाइएको छ। विराटनगरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले जापान सरकारको सहयोगमा सञ्चालित खानेपानी परियोजना भने सम्पन्न भएको छ।

करिब अढाइ अर्बको यो आयोजनाले विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्दै मुख्य सहरी क्षेत्रको ५९ किलोमिटर क्षेत्रमा पाइपलाइनसमेत विस्तार भएको छ। तर यो आयोजना पूर्ण रूपमा सफल बनाउन सहायक सडकको करिब एक सय किलोमिटर क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न आवश्यक रहेको नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले जनाएको छ।

यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संकल्पपत्रका धेरै काम पूरा हुन नसके पनि आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गरेका छन्। कोइरालाले संकल्पपत्रमार्फत चुनावामा गरेको वाचाअनुसार विराटनगर महानगरपालिका १५ स्थित नगर अस्पतालमा डाक्टर नियुक्ति, ल्याबलगायत पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए।

यस्तै शिक्षा क्षेत्रमा पनि आफ्नो कार्यकालमा उल्लेख्य सुधार भएको प्रमुख कोइरालाले बताए। विगतमा तीन वटा मात्रै विद्यालयमा विद्यार्थीको आकर्षण रहेकोमा अहिले १५–२० वटा विद्यालयमा गुणस्तर सुधार गरिएको कोइरालाको दाबी छ। तर विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्न विभिन्न कानुनी अड्चनहरूले सम्भव नभएको कोइरालाले बताए। सार्वजनिक शौचालयको व्यवस्था गर्न सहरी क्षेत्रमा जग्गा अभावका कारण नसिकिएको कोइरालाले बताए।

उनले सार्वजनिाक शौचालय महानगरपालिकाले निर्माण गर्न नसके पनि त्यसको विकल्पमा विराटनगरका पेट्रोल पम्पहरूमा शौचालय निर्माण गर्न लगाई सर्वसाधारणका लागि पनि प्रयोग खुला गरिएको बताए। विराटनगरमा नगरबस सञ्चालनका लागि प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने महानगरपालिकाको योजना भए पनि सटल बस सञ्चालनका लागि निजी क्षेत्र इच्छुक नदेखिँदा योजना सफल नभएको स्पष्ट पारे।

प्रदेशको स्थायी संरचनाका लागि जग्गा उपलब्ध गराउने विषय पनि एक महिनाभित्रै टुंगिने चरणमा रहेको कोइरालाले दाबी गरे। ‘प्रदेशको स्थायी संरचनाका लागि १० बिघा जग्गा आवश्यक रहेकोमा आठ बिघा प्राप्त भइसकेको र थप दुई बिघा पनि प्राप्त हुने क्रममा छ,’ कोइरालाले भने।

कोइरालाले बजेट अभाव र विभिन्न अवरोधका बिचमा पनि आफ्नो कार्यकालमा विकास निर्माण, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत धेरै क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। कोइराला आफूले गरेका वाचा पूरा गर्न पाँच वर्षको कार्यकाल कम रहेको बताए। अझै एक कार्यकाल महानगरको जिम्मेवारी पाए आफूले परिकल्पना गरेका कामहरूले पूर्णता पाउने उनको भनाइ छ।

सुधारको प्रयास, न्यून उपलब्धि
विराटनगर महानगरपालिकाले स्थानीय कानुन निर्माण, विकास निर्माण र प्रशासनिक सुधारमा केही प्रगति गरे पनि वित्तीय अनुशासन, कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयनमा अपेक्षित सुधार गर्न सकेको छैन। नगर प्रमुख नागेश कोइरालाको कार्यकालमा बेरुजु घटाउने, प्रशासनिक खर्च नियन्त्रण गर्ने र विकास योजनालाई व्यवस्थित बनाउने प्रयास भए पनि अपेक्षित सुधार भने हुन नसकेको देखिएको छ।

महानगरको वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म महानगरको अद्यावधिक बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो।

त्यसपछि निरन्तर सम्परीक्षण हुँदा बेरुजु घट्दै आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड एक लाख, २०७९/८० मा ५० करोड ३८ लाख ३८ हजार र २०८०/८१ मा ३९ करोड ५२ लाखमा झरेको थियो। यद्यपि आर्थिक वर्ष २०८१/८२ मा नयाँ बेरुजु आठ करोड दुई लाख थपिँदा कुल अद्यावधिक बेरुजु पुनः ३७ करोड ६८ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

महानगरको प्रशासनिक खर्चमा पनि उल्लेख्य रकम विनियोजन हुँदै आएको छ। विविध खर्च, इन्धन, सवारी मर्मत, बैठक भत्ता, पत्रपत्रिका, भ्रमण र मसलन्द गरी सात वटा चालु शीर्षकको कुल खर्च आर्थिक वर्ष २०७९/८० मा ६ करोड ५ लाख १४ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ४७ लाख ४९ हजार र २०८१/८२ मा चार करोड १४ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा बैठक भत्ता एक करोड पाँच लाखबाट घटाएर ३४ लाख ५० हजार रुपैयाँमा सीमित गरिएको छ। स्थानीय कानुन निर्माणलाई भने महानगरले तीव्रता दिएको छ।

आर्थिक वर्ष २०८१/८२ सम्म महानगरले पाँच वटा ऐन, ७५ वटा नियमावली र १९८ वटा कार्यविधि निर्माण गरेको छ। नगर विकास कोषबाट बस टर्मिनल, फोहोरमैला प्रशोधन केन्द्र र वीरेन्द्र सभागृहका लागि लिएको ऋणको साँवा–ब्याज नियमित भुक्तानी गरी बाँकी ऋण ३४ करोड १४ लाखबाट घटाएर ३२ करोड ६ लाखमा झारिएको विवरणमा उल्लेख छ।

नगर प्रमुख कोइरालाले पुरानो बेरुजु घटाउने, बजेटको आकार सानो बनाउने र प्रशासनिक शीर्षकमा खर्च कम गर्ने प्रयास गरे पनि महानगरको मूल आर्थिक संरचनामा परिवर्तन आउन सकेको देखिँदैन। आन्तरिक राजस्व ६० देखि ६१ करोड रुपैयाँकै वरिपरि अड्किनु, करार कर्मचारी र भत्ताको भार बढ्दै जानु तथा पुँजीगत खर्च घटेर कुल खर्चको एक तिहाइमा सीमित हुनु महानगरको वित्तीय व्यवस्थापनका प्रमुख चुनौती हुन्। महानगरको कर्मचारी व्यवस्थापन पनि खर्च बढ्नुको अर्को कारण बनेको छ।

श्वेतपत्रको पहिलो बुँदामा ६०९ कर्मचारी (३३१ करार र आठ अस्थायी) को जम्बो संरचनाले आर्थिक बोझ बढाएको उल्लेख थियो। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महानगरमा कार्यरत कुल कर्मचारी संख्या घटेर ५४३ (२३८ स्थायी, ५ अस्थायी र ३०० करार) मा झरेको छ। तर कर्मचारी संख्या घटे पनि करार र दैनिक हाजिरीको खर्च भने बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा करारतर्फ १० करोड ४३ लाख र दैनिक हाजिरीमा ६८ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा करार सेवा शुल्कमा १४ करोड ४४ लाख १३ हजार र दैनिक हाजिरीमा एक करोड ३५ लाख ११ हजार गरी करिब १५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै कोसी प्रदेशको कानुनविपरीत प्रतिस्पर्धाबिनै दैनिक हाजिरीका २४ जनालाई सोझै करारमा नियुक्त गरिएको, जिल्ला प्रशासन कार्यालय मोरङका ६ कर्मचारीलाई महानगरको कोषबाट २२ लाख ७५ हजार रुपैयाँ तलब खुवाइएको तथा विभिन्न शीर्षकमा प्रोत्साहन, अतिरिक्त समय र खाजा भत्ता वितरण गरिएको विवरणले कर्मचारी व्यवस्थापनमा प्रश्न उठाएको छ। महानगरले आवधिक योजना निर्माणमा पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।

विगतमा हचुवाका भरमा बजेट विनियोजन हुने र आवधिक योजना नबनाउने गरेको आलोचनापछि कोइरालाको कार्यकालमा आर्थिक वर्ष २०८०/८१ मा १९ लाख ६३ हजार रुपैयाँ खर्च गरेर आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको आवधिक योजना तयार पारिएको थियो। तर उक्त योजना पूर्ण कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै बजेट रकमान्तर गर्ने प्रवृत्तिमा पनि सुधार देखिएको छैन। आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ३५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ८३ लाख ६१ हजार रुपैयाँ रकमान्तर गरिएको छ। विराटनगर महानगरपालिकाले कानुन निर्माण, ऋण भुक्तानी र केही प्रशासनिक खर्च कटौतीमा सुधार गरे पनि आन्तरिक राजस्व वृद्धि, कर्मचारी खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, योजना कार्यान्वयन र पुँजीगत खर्च बढाउने विषयमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको देखिँदैन।

प्रमुख–उपप्रमुखबिच सुमधुर सम्बन्ध
विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट नागेश कोइराला र नेकपा एमालेबाट शिल्पा निराला कार्की निर्वाचित भए पनि सम्बन्ध सुमधुर देखिएको छ। निर्वाचित भएदेखि हालसम्म प्रमुख–उपप्रमुखबिच कुनै दरार आएन। फरक पार्टीका प्रमुख–उपप्रमुख मात्रै होइन, एउटै पार्टीका प्रमुख–उपप्रमुख निर्वाचित भएका स्थानीय तहहरूमा प्रमुख–उपप्रमुखबिच समेत असमझदारी हुने गरेकोमा विराटनगर महानगरपालिकाको साढे चार वर्षे कालमा प्रमुख–उपप्रमुखबिचको सुमधुर सम्बन्ध उदाहरणीय नै देखिएको छ।

विगतमा नेपाली कांग्रेसबाटै प्रमुख र उपप्रमुख निर्वाचित हुँदा पनि बेलाबेला खटपट हुने गरेको थियो। यस्तै वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूका बिचमा पनि यो कार्यकालमा खासै खटपट देखिएन। सबै पक्षबाट सहयोग पाउँदा पनि उल्लेख्य काम हुन नसक्दा भने नगरवासी निराश बनेका छन्।

विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री महानगरपालिकाका पदाधिकारीहरूले पाँच वर्षको अवधिमा गौरव गर्न लायक कुनै पनि काम गर्न नसकेको बताए। उनले चुनावमा आफैले गरेको संकल्पका अधिकांश बुँदा कार्यान्वयनमा ल्याउन नसक्नु विडम्बना भएको बताए। ‘केही पनि काम भएन भन्ने कुरा त होइन तर महानगरपालिकाको स्रोत र सामर्थले गर्न सक्ने जति काम पनि नभएकाले पाँच वर्षे कार्यकालको कामप्रति सन्तुष्ट हुने अवस्था छैन,’ क्षेत्रीले भने, ‘धाराको पानी ढुक्कसँगले पिउने बनाउने मुख्य वाचा गरेका नगरप्रमुखको कार्यकाल सकिनै लाग्दासम्म महानगरपालिकाका विद्यार्थीहरूले विद्यालय जाँदा घरबाटै खोनेपानीको बोतल बोकेर जानुपर्ने अवस्था अन्त्य नहुनुले के भनियो र के गरियो भन्ने स्पष्ट हुन्छ।’

रोजगारी सिर्जना र नगरवासीको आर्थिक अवस्था सुधारका विषयमा त कुनै पनि काम नभएको क्षेत्रीले बताए। महानगरपालिकाको विकासका लागि गुरुयोजना नबनाउनु महानगरपालिकाका जनप्रतिनिधिहरू चुक्नुको प्रमुख कारण भएको प्राध्यापक डा. भेषप्रसाद धमला बताउँछन्। उनका अनुसार आफूले पटकपटक गुरुयोजना बनाएर विकासका गतिविधिहरू सञ्चालन गर्न आग्रह गरेको भए पनि जनप्रतिनिधिहरूले ध्यान नदिएको गुनासो गरे। ‘के बनाउने, कसरी बनाउने, कस्तो बनाउने भन्ने नै स्पष्ट नभएपछि विकासका काम व्यवस्थित नभएको हो,’ धमलाले भने।

महानगरपालिकाको न्यून स्रोत सधान रहेको, साधारण खर्च धेरै रहेको र उपलब्ध स्रोतसाधनलाई पनि परिचालन गर्ने असमर्थ हुँदा नगरवासीको अपेक्षा र महानगरपालिकाको काम गराईबिच तालमेल नमिलेको उनी बताउँछन्। महानगरपालिकाका जनप्रतिनिधिले पछिल्लो कार्यकालमा आम्दानी बढाउने सम्भावना हुँदाहुँदै पनि आम्दानी बढाउन नसकेको र खर्च पनि घटाउन नसकेको धमला बताउँछन्।

महानगरपालिकाले गुरुयोजना बनाएर गुरुयोजनाअनुसार विकास निर्माण गर्ने, राजस्व संकलन बढाउने र साधारण खर्च घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस