‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’
२६ कार्तिक २०८३
•
७ मिनेट पाठ
‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन्।




टर्किएको अन्ताल्यामा बुधबार आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र पछिल्ला चार वर्ष विश्वकै सबैभन्दा ताता वर्ष बनेको बताए।

जीवाश्म इन्धनको व्यापारबाट केही स्वार्थ समूहले ठूलो नाफा कमाइरहेको तर त्यसको मूल्य विश्वले जलवायु सङ्कट र वातावरणीय विनाशका रूपमा चुकाउनुपरेको उनको भनाइ थियो। जलवायुसम्बन्धी विपद्ले विश्वभर मानिसको जीवन, जीविकोपार्जन र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई सामूहिक विनाशतर्फको यात्राको संज्ञा दिए।

सन् २०१५ मा पेरिसमा भएको जलवायु सम्झौतामार्फत विश्वले पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै महासचिव गुटेरेसले उक्त सीमा अस्थायी रूपमा नाघ्ने अवस्था अपरिहार्य देखिएको बताए।

यद्यपि, त्यसलाई स्थायी अवस्था बन्न नदिन तथा तापक्रम कति बढ्ने र कति समयसम्म उच्च रहने भन्ने निर्धारण गर्न अझै अवसर रहेको उनले स्पष्ट पारे।

“विज्ञानले हामीलाई आत्मसमर्पण गर्न भनेको छैन, अझ कडा सङ्घर्ष गर्न भनिरहेको छ”, उनले भने, “हामीलाई सत्य थाहा छ, अब त्यसअनुसार काम गर्नुपर्छ।”

महासचिव गुटेरेसले एक दशकको जलवायु कार्यबाट प्रमुख तीन पाठ सिकिएको उल्लेख गर्दै स्वच्छ ऊर्जाको विस्तार तीव्र गतिमा सम्भव भएको, जीवाश्म इन्धनको औचित्य कमजोर हुँदै गएको र विश्वव्यापी जलवायु कार्य भने अझै सुस्त रहेको बताए।

उनका अनुसार एक दशकअघि विश्वको कुल विद्युत् उत्पादनमा सौर्य ऊर्जाको योगदान एक प्रतिशत मात्र रहेकामा गत वर्ष विश्वव्यापी विद्युत् मागमा भएको वृद्धिको झण्डै तीन चौथाइ हिस्सा सौर्य ऊर्जाले पूरा गरेको थियो।

त्यसैगरी, दश वर्षअघि बिक्री हुने प्रत्येक १०० वटा कारमध्ये एउटा मात्र विद्युतीय रहेकामा यस वर्ष बिक्री हुने प्रत्येक तीनमध्ये झण्डै एउटा विद्युतीय कार हुने अनुमान छ।

विश्वका अधिकांश क्षेत्रमा नयाँ विद्युत् उत्पादनका लागि स्वच्छ ऊर्जा सबैभन्दा सस्तो स्रोत बनिसकेको उल्लेख गर्दै उनले राजनीतिक अवरोधका बाबजुद यसको विस्तार भइरहेको बताए।

जीवाश्म इन्धन आयातमा निर्भर विश्वका तीन चौथाइ जनसङ्ख्या मूल्यवृद्धि र अन्तर्राष्ट्रिय द्वन्द्वबाट सिर्जित ऊर्जा असुरक्षाको जोखिममा रहेको उनले बताए। त्यसैले विज्ञानमा आधारित, न्यायपूर्ण, व्यवस्थित र समतामूलक ढङ्गले नवीकरणीय ऊर्जातर्फ सङ्क्रमण गर्नुपर्नेमा उनले जोड दिए।

जीवाश्म इन्धनको पक्षमा रहेका स्वार्थ समूहले वैज्ञानिक तथ्यलाई तोडमरोड गर्ने, नीतिगत निर्णय र कार्यान्वयनमा ढिलाइ गर्ने तथा जवाफदेहिताबाट पन्छिने रणनीति अपनाइरहेको उनको आरोप थियो।

विश्वव्यापी उत्सर्जन प्रत्येक वर्ष करिब छ प्रतिशतका दरले घटाउनुपर्ने आवश्यकता रहे पनि हालका राष्ट्रिय योजनाले त्यसको बढीमा एक तिहाइ मात्र कटौती सुनिश्चित गर्ने देखिएको उनले बताए। ती योजना पूर्ण रूपमा कार्यान्वयन भए पनि यस शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने र त्यसले खतरनाक तथा अपरिवर्तनीय सीमाबिन्दु पार गर्ने जोखिम रहेको उनको भनाइ थियो।

महासचिव गुटेरेसले आगामी दशकको प्रमुख चुनौतीका रूपमा जलवायु न्याय औँल्याउँदै विकासशील देशलाई अर्थतन्त्र रूपान्तरणका लागि आवश्यक वित्तीय तथा प्राविधिक साधन उपलब्ध गराउनुपर्ने बताए। चीनबाहेकका उदीयमान तथा विकासशील अर्थतन्त्रमा विश्वको झण्डै दुई तिहाइ जनसङ्ख्या बसोबास गरे पनि ती देशले विश्वव्यापी स्वच्छ ऊर्जा लगानीको पाँच भागको एक भागभन्दा कम मात्र प्राप्त गरिरहेको उनले उल्लेख गरे।

ती देशमध्ये अधिकांशले ऋण लिन अन्य देशको तुलनामा दुईदेखि तीन गुणासम्म बढी ब्याज तिर्नुपर्ने अवस्था रहेको बताउँदै उनले सस्तो स्वच्छ ऊर्जामा पहुँच नहुँदा जीवाश्म इन्धनमाथिको निर्भरता दशकौँसम्म कायम रहने चेतावनी दिए।

उनले साझा जिम्मेवारी, साझा सुरक्षा र साझा लाभमा आधारित नयाँ ‘जलवायु न्याय सम्झौता’ आवश्यक रहेको उल्लेख गर्दै त्यसका चार प्रमुख स्तम्भ प्रस्तुत गरे।

पहिलो, जीवाश्म इन्धनबाट न्यायपूर्ण सङ्क्रमणलाई तीव्रता दिने, दोस्रो, जलवायु परिवर्तनका असरबाट मानिस र समुदायको संरक्षण गर्ने, तेस्रो, पर्याप्त, सस्तो र सहज रूपमा उपलब्ध जलवायु वित्त सुनिश्चित गर्ने तथा चौथो, विश्वव्यापी विभाजनको सट्टा अन्तरराष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने।

जीवाश्म इन्धनबाट न्यायपूर्ण सङ्क्रमणका लागि सन् २०३५ सम्ममा सन् २०२५ को तुलनामा नवीकरणीय ऊर्जा उत्पादन क्षमता कम्तीमा तीन गुणाले बढाउनुपर्ने र कार्बन उत्सर्जन नियन्त्रण नगरिएको कोइलामा आधारित विद्युत् उत्पादन कम्तीमा ७५ प्रतिशतले घटाउनुपर्ने उनले बताए।

सन् २०४० सम्ममा यस्तो कोइलामा आधारित विद्युत् उत्पादन लगभग पूर्ण रूपमा बन्द गर्नुपर्ने तथा तेल र ग्यासको प्रयोग करिब एक तिहाइले घटाउनुपर्ने उनको भनाइ थियो।

यसका लागि नयाँ कोइला परियोजना तथा १.५ डिग्रीको लक्ष्य हासिल गर्न बाधक बन्ने नयाँ तेल र ग्यास पूर्वाधार निर्माण रोक्न, मिथेन उत्सर्जन घटाउन तथा नवीकरणीय ऊर्जा, विद्युत् प्रसारण सञ्जाल र ऊर्जा भण्डारणमा लगानी बढाउन उनले आह्वान गरे। वन, महासागर र जैविक विविधताको संरक्षणलाई पनि न्यायपूर्ण ऊर्जा सङ्क्रमणको अभिन्न हिस्सा बनाउनुपर्ने उनले बताए।

जलवायु अनुकूलनलाई जीवन रक्षाको विषयका रूपमा व्याख्या गर्दै उनले नयाँ पुस्ताका राष्ट्रिय अनुकूलन योजना निर्माण र कार्यान्वयनका लागि विकासशील देशलाई अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताए।

पृथ्वीका प्रत्येक व्यक्तिलाई पूर्वचेतावनी प्रणालीको पहुँचमा पुर्‍याउनुका साथै प्रत्येक समुदायलाई बाढी, खडेरी र समुद्री सतह वृद्धिको जोखिमबाट सुरक्षित गर्नुपर्ने उनको भनाइ थियो। अनुकूलनका उपाय प्रभावकारी हुन नसक्ने अवस्थामा हानि तथा क्षतिसम्बन्धी सहायता छिटो र सहज रूपमा उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिए।

जलवायु वित्तका सम्बन्धमा विकसित देशले सन् २०३५ सम्म वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर उपलब्ध गराउन नेतृत्व गर्नुपर्ने र सोही अवधिसम्म अनुकूलन वित्त कम्तीमा तीन गुणाले बढाउने ठोस योजना प्रस्तुत गर्नुपर्ने उनले बताए।

विकासशील देशका लागि प्रस्तावित एक दशमलव तीन ट्रिलियन अमेरिकी डलरको लक्ष्य वास्तविक वित्तीय प्रवाहमा परिणत हुनुपर्ने उनको भनाइ थियो।

बहुपक्षीय विकास बैंकले सन् २०३० सम्म वार्षिक १२० अर्ब अमेरिकी डलर उपलब्ध गराउने बाकु प्रतिबद्धताभन्दा बढी सहयोग गर्नुपर्ने, निजी लगानी परिचालन गर्नुपर्ने र जोखिममा रहेका विकासशील देशको आवश्यकता सम्बोधन गर्न नवीन वित्तीय उपकरण प्रयोग गर्नुपर्ने उनले बताए।

हरित जलवायु कोष तथा हानि तथा क्षति सम्बोधन कोषमा दातृ निकायले थप स्रोत सुनिश्चित गर्नुपर्ने र दक्षिण–दक्षिण सहकार्यबाट प्रविधि तथा वित्तमा पहुँच विस्तार गर्नुपर्ने उनको आग्रह थियो।

जीवाश्म इन्धनबाट अत्यधिक नाफा कमाउने कम्पनीले जलवायु क्षतिको लागत बेहोर्नुपर्ने उल्लेख गर्दै महासचिव गुटेरेसले पछिल्लो एक त्रैमासिक अवधिमा विश्वका नौ ठूला तेल कम्पनीले ९५ अर्ब अमेरिकी डलर नाफा कमाएको तर हानि तथा क्षति कोषमा करिब ६० करोड अमेरिकी डलर मात्र जम्मा भएको बताए।

ती कम्पनीले करिब १४ घण्टामा कमाउने नाफाबराबरको रकम मात्र उक्त कोषमा रहेको उल्लेख गर्दै उनले सरकारले जीवाश्म इन्धन कम्पनीको अप्रत्याशित नाफामा कर लगाएर जोखिममा रहेका देशको पुनरुत्थानमा खर्च गर्नुपर्ने बताए। “प्रदूषण गर्नेहरूले यसको मूल्य चुकाउनुपर्छ”, उनले भने।

अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिँदै उनले व्यापार अवरोध, प्रविधिमा एकाधिकार र भूराजनीतिक प्रतिस्पर्धाले ऊर्जा सङ्क्रमणलाई महँगो र कठिन बनाउनुका साथै अर्बौँ मानिसलाई पछाडि पार्ने बताए। सबै विषयमा सहमति आवश्यक नभए पनि कुनै एक देशले एक्लै समाधान गर्न नसक्ने विषयमा सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

जलवायु वार्ताको सफलता सम्झौतामा मात्र नभई त्यसको वास्तविक कार्यान्वयनबाट मापन हुनुपर्ने उल्लेख गर्दै उनले विद्युत् प्रसारण सञ्जाल, महत्त्वपूर्ण खनिज, मिथेन उत्सर्जन र पूर्वचेतावनी प्रणालीका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले विभिन्न देश तथा साझेदारबीच सहकार्य अघि बढाइरहेको बताए।

महासचिव गुटेरेसले जलवायु कार्यलाई दिगो विकास, शान्ति, सुरक्षा र मानव मर्यादासँग जोड्दै स्वच्छ अर्थतन्त्र र न्यायपूर्ण समाज निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

जलवायु कार्यको अग्रपङ्क्तिमा रहेका युवा, वैज्ञानिक, आदिवासी समुदाय, नागरिक समाज तथा साना टापु विकासशील राष्ट्रहरूको योगदानको प्रशंसा गर्दै उनले उनीहरूलाई जलवायु सङ्घर्षको नैतिक चेतनाका रूपमा चित्रण गरे।

आगामी वर्षदेखि संयुक्त राष्ट्रसङ्घको महासचिव पदमा नरहे पनि जलवायु सङ्कटको सत्य उजागर गर्ने र त्यसविरुद्धको सङ्घर्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले जलवायु कार्यका अभियन्तासँगै उभिने बताए।

“जलवायु सङ्कटको सत्यबारे बोलिरहौँ, त्यसले माग गरेको कार्यका लागि आवाज उठाइरहौँ र हाम्रो आफ्नै हातमा रहेको दिगो भविष्यका लागि सङ्घर्ष गरिरहौँ”, उनले भने।
अर्को समाचार
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
२६ मिनेट अघि
•
१ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ।




सडक किनारमा रोकेर टायर फेर्दै गरेको बा प्र ०१–०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४५० नम्बरको ट्रकले आज दिउँसो पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक मकवानपुरको हेटौँडाका ३० वर्षीय अमर देउलाको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएका देउलालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको मनहरि गाउँपालिका–५ का ३० वर्षीय खुसिलाल घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घलानविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
यो पनि पढौँ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस