झापामा पहिलो पटक व्यावसायिक मखनाखेती सुरु
२८ वैशाख २०८३
•
६ मिनेट पाठ
झापामा पहिलो पटक व्यावसायिक मखनाखेती सुरु
मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन्। यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको।




कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते। तर, यसपालि उहाँले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गरेनन्। वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उनले आफ्नो जग्गा भाडामा दिए।

‘वर्षौंदेखि धान र मकैको खेती गर्दै आएको थिएँ’, उनी भन्छन्, ‘यसपालि मखनाखेती गर्छु भन्दै आउनेलाई जग्गा दिएँ । नयाँ खेती अरे, हेरौँ कस्तो हुँदोरहेछ।’ जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कट्ठा जग्गा झापा गाउँपालिका–४ का शाहिल शेखलाई मखनाखेतीका लागि भाडामा दिएका छन्।

स्थानीय किसानहरूका लागि यो एक प्रकारको प्रयोग हो भने व्यवसायीका लागि ठूलो सम्भावनाको ढोका। मखनाखेती यहाँका बासिन्दाका लागि नौलो भएकाले सबैलाई यसको सम्भावनाबारे कौतुहलता छ। विर्तामोडका जनक खड्काले त झन आफ्नो २० बिघा जग्गा यही मखनाखेतीका लागि दिएका छन्। यसरी धेरै किसानबाट भाडामा लिइएको १०० बिघा जमिनमा अहिले मखनाकोखेती विस्तार भइसकेको छ।

कचनकबलमा मखनाखेती भित्र्याउने श्रेय शाहिल शेखलाई जान्छ। उनले भारतको पूर्णियामा रहेका आफ्ना नातेदारसँग साझेदारी गरेर कचनकबलमा यो नौलो कृषि व्यवसायको थालनी गरेका हुन्। नेपालमा मखनाको व्यावसायिक खेतीको इतिहास खासै नभएका बेला शेखले १०० बिघाभन्दा बढी जग्गा भाडामा लिएर ठूलो लगानी गरेका हुन्।

दुई महिनाअघिदेखि रोप्न सुरु गरिएको मखना अहिले खेतका गराहरूमा कतै वयस्क हुँदैछ भने कतै भर्खर पात पलाउँदैछ। डिप बोरिङ गरेर खेतमा निरन्तर सिँचाइको व्यवस्था गरिएको छ, किनकि मखनालाई गरामा निरन्तर भरिएको पानी चाहिन्छ।

शेखका अनुसार भारतमा मखना प्रतिकिलो रु एक हजारभन्दा बढीमा बिक्री हुन्छ। एक बिघा जमिनमा झण्डै १०० केजी मखना उत्पादन हुने उनको अनुमान छ। यदि यो अनुमान सही ठहरियो भने कचनकबलको सिमखेतले धानको तुलनामा कयौँ गुणा बढी आर्थिक लाभ दिने निश्चित छ।

मखना, जसलाई अङ्ग्रेजीमा ‘फक्स नट’ वा ‘लोटस सिड’ पनि भनिन्छ। यो एक प्रकारको जलीय बिरुवा हो। कमलको फूलजस्तै देखिने यसको बोटमा काँडेदार पातहरू हुन्छन् र यसको दानादार फल पानीमुनि फल्छ। स्वास्थ्यको दृष्टिकोणले मखनालाई ‘सुपरफुड’ मानिन्छ। सेतो दाना हुने र बजार भाउ उच्च भएकाले यसलाई ‘सेतो सुन’ भनिएको हो।

धानखेतीमा जस्तै माटो हिल्याएर मखनाको बीउ र बिरुवा रोप्ने कार्य गरिन्छ। पानी सुक्यो भने मखनाको बोट र पातहरुमा असर पर्ने भएकाले खेती गरिएको मिसखेतमा वैकल्पिक सिँचाइको भरपर्दो व्यवस्था मिलाइएको हुन्छ।

यसमा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ। मधुमेह, मुटुसम्बन्धी समस्या भएका र तौल घटाउन चाहनेहरूका लागि यो अमृत समान मानिन्छ। यसमा कोलस्टोरलको मात्रा शून्य हुन्छ।

नेपालमा हाल मखना पूर्ण रूपमा भारतबाट आयात हुन्छ। भुटेर बनाइने ‘मखना फूल’ खाजाका रूपमा र पूजाआजामा प्रसादका रूपमा निकै लोकप्रिय छ। मखनाखेतीले जग्गाधनीलाई मात्र होइन, स्थानीय मजदुरहरूलाई पनि नयाँ रोजगारी दिएको छ।

काँडेदार पातका बीचबाट पानीमुनि फल्ने दाना टिप्नु, रोप्नु र गोडमेल गर्नु चुनौतीपूर्ण काम हो। यसका लागि भारतबाट दक्ष प्राविधिकहरू ल्याइएका छन् भने उनीहरूलाई सघाउन स्थानीयले पनि काम पाएका छन । स्थानीय मजदूरले दैनिक रु ६०० देखि ९०० सम्म पारिश्रमिक पाइरहेका छन्, जसले गाउँको अर्थतन्त्रलाई थप चलायमान बनाएको छ।

स्थानीय ५९ वर्षीय राहिबुद्दिन मियाँ यस खेतीलाई कौतुहलका साथ नियालिरहेको बताउछन्। ‘भारतबाट बीउ र प्राविधिक आएका छन्’, उनी भन्छन्, ‘राम्रो फाइदा हुने देखियो भने अर्को वर्षदेखि हामी आफैँ पनि यो खेती गर्न सिक्नेछौँ।’

कुनै पनि नयाँ सुरुआत जोखिममुक्त हुँदैन। जेलेल मियाँले धानखेती गर्दा प्रतिबिघा ७० देखि १०० मनसम्म उत्पादन हुने गरेको थियो। मखनाका लागि लिइएको भाडा दर त्यो तुलनामा कम भए पनि जोखिम मोलेको बताउँदै मियाँ भन्छन्, ‘खेती कस्तो हुने हो भन्ने यकिन नभएकाले अहिले सस्तोमै जग्गा दिएका हौँ।’

आगामी दुई महिनापछि मखनाले फल दिन थाल्नेछ । अहिले फूल फुल्ने मौसम हो। यदि यो खेतीको परीक्षण सफल भयो भने कचनकबलको सिमखेतमा मात्र होइन, नेपालका अन्य तराईका जिल्लामा पनि मखनाखेतीको लहर चल्नेछ। बर्खामा जलमग्न भएर खेती कठिनाइ व्यहोर्दै आएका कचनकबलका किसानहरु मखनाखेतीप्रति आकिर्षत हुँदैछन्।

तराई क्षेत्रका सिमखेत मात्र होइन, सदाबहार पानी रहने प्राकृतिक र कृत्रिम पोखरीहरुमा समेत मखनाखेतीको राम्रो सम्भावना छ। सप्तरी, धनुषा र महोत्तरीलगायतका मधेस प्रदेशका जिल्लामा यसको सानो आकारमा खेती गरिएको पाइएको छ।

मखनाखेती गरिएको जग्गामा अटुट रुपमा पानी जम्ने हुनाले माछापालन गरेर दोहोरो लाभ लिन सकिने जानकारहरु बताउँछन्। माछाको मलले मखनालाई उर्बर बनाउने र मखनाको पातले माछालाई सुरक्षा प्रदान गर्ने कचनकबलका मखनाखेती सञ्चालक शाहिल शेख बताउछन्। झापा र मोरङसँग सीमा जोडिएको भारतको विहार प्रदेश विश्वकै मखनाखेतीको प्रमुख उत्पादक हो।

विश्व बजारमा विहारको मखनाले ९० प्रतिशत स्थान ओगटिरहेको जनाइएको छ। विहारको उत्पादन प्रविधि, जनशक्ति र अनुभव नेपालको तराई क्षेत्रका लागि उपयोगी नमूना हुने देखिन्छ। विहारको मधुवनी, दरभंगा, कटिहार, पूर्णिया, सहरसा र सीतामणि मखनाखेतीको पकेट क्षेत्र मानिन्छन्।

झापाको कचनकबलमा मखनाखेती गर्न पूर्णियाबाटै लगानी साझेदार आएका हुन्। भारत सरकारले गत वर्ष मखनाखेतीलाई अनुदान दिन र प्रोत्साहित गर्न ‘मखना बोर्ड’ गठन गरेको छ।

महँगो मूल्यमा बिक्री हुने र धानको तुलनामा बढी आम्दानी हुने भएकाले निकट भविष्यमा झापाको कचनकबल गाउँपालिका क्षेत्रलाई मखनाखेतीको पकेट क्षेत्र विकास गरेर लैजान सकिने सम्भावना छ। यसका लागि स्थानीय सरकारले पनि सरोकार बढाउनुपर्ने शेख बताउछन्।

कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई यस नवीन कृषि प्रयासलाई सकारात्मक रूपमा लिन्छन्। ‘यो हाम्रा लागि एउटा नमूना खेती हो, यसबाट किसानले कति वास्तविक फाइदा पाउँछन् भन्ने कुरा हेर्नुछ’, उपाध्यक्ष भट्टराई भन्छन्, ‘बाली पाकेपछि मात्र थाहा हुन्छ। यदि यो खेती सफल भयो भने पालिकाले किसानहरूलाई मखनाखेतीतर्फ आकर्षित गर्न विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याउनेछ।’

कचनकबल स्तम्भ रहेको नेपालकै होचो भूभाग अवलोकन गर्न बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक कचनकबलमा आउने गरेका छन्। कचनकबल स्तम्भ नजिकै रहेको मखनखेतीले समेत पर्यटक आकर्षित गर्ने सम्भावना देखिएको उपाध्यक्ष भट्टराई बताउछन्।

उनले मखनाखेतीमा लागिरहेका व्यवसायीहरुसँग सम्पर्क र संवाद गरेर खेतीको सम्भावनाबारेमा जानकारी लिने कार्य भइरहेको बताए।

नेपालले वार्षिक करोडौँको मखना भारतबाट आयात गर्दै आएको छ। कचनकबलमा सुरु भएको यो जमर्कोले मुलुकलाई मखनामा आत्मनिर्भर बनाउने नयाँ बाटो अवश्य देखाउनेछ। धानको विकल्पमा उच्च मूल्य दिने खेतीका रूपमा मखनाले कचनकबलका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ।

सिमखेतको टिलपिल पानीमा तैरिइरहेका ती ठूला हरिया पातहरू एउटा बिरुवा मात्र होइनन्, ती त झापाका किसानका सपना हुन्। जसले भोलिका दिनमा ‘सेतो सुन’ फलाएर गाउँकै अनुहार बदल्ने अठोट बोकेका छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस