मधेस प्रदेशका राजधानी जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ।
गुठी संस्थानको स्वामित्वमा रहेका अतिक्रमित जग्गा संरक्षण तथा अतिक्रमण हटाउने उद्देश्यले पहिलो चरणमा पोखरीका अतिक्रमित क्षेत्र खाली गराउन डोजर प्रयोग गरिएको हो। शनिबार बिहान देखि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ को ऐतिहासिक गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने काम सुरु भएको हो।
लामो समयदेखि अतिक्रमणमा परेको पोखरीको डिलमा बनाइए को संरचना हटाउनुका साथै सार्वजनिक तथा गुठी सम्पत्तिको संरक्षण गर्ने काम अघि बढाइएको बताइएको छ। गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य–सचिव जनक पोखरेलले जनकपुरका सात वटा पोखरीमा रहेको अतिक्रमण हटाउने तयारी सुरु गरेको बताए।
अतिक्रमित क्षेत्र खाली गर्न गत साउन १ गते नै सार्वजनिक सूचना जारी गरिएको थियो। पहिलो चरणमा पहिचान गरिएका ५० वटा अतिक्रमित पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना रहेको पोखरेलले बताए। कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा गुठीका अन्य अतिक्रमित जग्गा खाली गराउने गरी अभियानलाई वर्गीकरण गरिएको छ। अतिक्रमण हटाउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले जनकपुरका गुठी जग्गाको अतिक्रमण पहिचान गरी तयार पारेको प्रतिवेदनलाई मुख्य आधार बनाइएको समितिले जनाएको छ।
वर्षौंदेखि सार्वजनिक प्रयोजन तथा धार्मिक–सांस्कृतिक सम्पत्तिका रूपमा रहेका पोखरी, मन्दिर परिसर र गुठीका जग्गा अतिक्रमणको चपेटामा पर्दै आएका थिए। पछिल्लो समय गुठी सम्पत्तिको संरक्षणका लागि अतिक्रमण हटाउने अभियान अघि बढाइएपछि जनकपुरका ऐतिहासिक तथा धार्मिक सम्पदालाई पुरानै स्वरूपमा फर्काउने अपेक्षा गरिएको छ। समितिले अतिक्रमित संरचना हटाउने क्रममा सम्बन्धित पक्षलाई दिइएको सूचनाको पालना गर्न आग्रह गरेको छ। अभियानलाई चरणबद्ध रूपमा अघि बढाउँदै जनकपुरका गुठी सम्पत्तिलाई अतिक्रमणमुक्त बनाउने तयारी गरिएको छ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...