वायुमण्डलमा हरितगृह ग्यास उच्च बिन्दुमा
१८ कार्तिक २०८३
•
६ मिनेट पाठ
वायुमण्डलमा हरितगृह ग्यास उच्च बिन्दुमा
वायुमण्डलमा कार्बन डाइअक्साइडसहित अन्य प्रमुख हरितगृह ग्यासको मात्रा सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यसले पृथ्वीको तापक्रम दीर्घकालसम्म थप बढ्ने अवस्था बनेको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) को एक प्रतिवेदनले देखाएको छ।




डब्लुएमओको पछिल्लो ‘ग्रिनहाउस ग्यास बुलेटिन’ अनुसार सन् २०२५ मा वायुमण्डलमा रहेको प्रति १० लाख भाग वायुमा कार्बन डाइअक्साइडको विश्वव्यापी औसत मात्रा ४२६.८ भाग (पीपीएम) पुगेको छ। यो सन् १७५० को औद्योगिक युगपूर्वको स्तरको तुलनामा १५३ प्रतिशतले बढी हो। मानव गतिविधिसँग प्रत्यक्ष हिसाबले सम्बन्धित दोस्रो र तेस्रो प्रमुख हरितगृह ग्यास मिथेन र नाइट्रस अक्साइडको मात्राले पनि सो वर्ष नयाँ कीर्तिमान बनाएका छन्।

“लगातार अर्को वर्ष पनि नयाँ कीर्तिमान कायम भएको छ। हरितगृह ग्यासले वायुमण्डलमा अहिलेसम्मकै ठूलो स्तरमा ताप शोषण गरेका छन्। यसले चरम मौसमी घटनाहरू निम्त्याएको छ र यसबाट अर्थतन्त्र र समाजमा जोखिम बढेको छ। पछिल्ला ११ वर्ष अहिलेसम्मकै सबैभन्दा ताता वर्षका रूपमा रहेका छन् र यो प्रवृत्ति निरन्तर हुने देखिन्छ,” डब्लुएमओकी उपमहासचिव ‘को ब्यारेट’ ले प्रतिवेदन प्रस्तुत गर्ने  क्रममा जारी विज्ञप्तिमा भनेकी छन्।

व्यारेटले कार्बन डाइअक्साइड वायुमण्डलमा निकै लामो समयसम्म रहने भएकाले यसको प्रभाव विश्व जलवायुमा वर्षौंसम्म मात्र नभई दशकौँ र शताब्दीसम्म पर्ने बताइन्।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा वार्ताकारहरूलाई आधिकारिक वैज्ञानिक जानकारी उपलब्ध गराउने उद्देश्यले डब्लुएमओले हरेक वर्ष आफ्ना प्रमुख प्रकाशनको रूपमा यो बुलेटिन सार्वजनिक गर्दै आएको छ।

जलवायु प्रतिबद्धतालाई ठोस कार्यमा रूपान्तरण गर्ने उद्देश्यसहित नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा कोप–३१ सम्मेलन हुँदैछ।

कार्बन डाइअक्साइड वृद्धिदर तीन गुणा

डब्लुएमओको यो बुलेटिनमा हरितगृह ग्यासको वार्षिक उत्सर्जन सहित हालसम्म वायुमण्डलमा जम्मा भएको ग्यासको औसम मात्राको विवरण प्रस्तुत गरिएको छ। प्रत्येक वर्ष उत्सर्जन हुने कुल कार्बन डाइअक्साइडमध्ये करिब आधा वायुमण्डलमै रहन्छ भने बाँकी पृथ्वीका स्थलीय पारिस्थितिक प्रणाली र समुद्रले सोस्ने गर्छन्।

सन् २००४ मा पहिलोपटक यो बुलेटिन प्रकाशित हुँदा डब्लुएमओको विश्व वायुमण्डलीय निगरानी सञ्जालअन्तर्गतका केन्द्रहरूले मापन गरेको कार्बन डाइअक्साइडको वार्षिक औसत मात्रा ३७७.५ पीपीएम मात्र थियो।

अमेरिकाको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) को वार्षिक हरितगृह ग्यास सूचकांकअनुसार सन् १९९० देखि २०२५ सम्म दीर्घकालीन हरितगृह ग्यासका कारण जलवायु प्रणालीमा पर्ने तापमानवृद्धिको प्रभाव ५६ प्रतिशतले बढेको छ। यस वृद्धिमा कार्बन डाइअक्साइडको योगदान करिब ८१ प्रतिशत छ।

यसैगरी सन् १९६० को दशकयता कार्बन डाइअक्साइडको वृद्धिदर तीन गुणाले बढेको छ। सन् १९६० को दशकमा यसको वार्षिक औसत वृद्धि ०.८ पीपीएम रहेकोमा सन् २०११ देखि २०२० सम्मको दशकमा बढेर प्रतिवर्ष २.४ पीपीएम पुगेको थियो।

सन् २०२४ देखि २०२५ सम्ममा वायुमण्डलमा कार्बन डाइअक्साइडको विश्वव्यापी औसत मात्रा (कन्सनट्रेसन) २.८ पीपीएमले बढेको छ। यो पछिल्लो दशकको औसतभन्दा बढी भए पनि सन् २०२३–२०२४ मा देखिएको असाधारण वृद्धिभन्दा केही कम हो।

सन् २०२३–२०२४ को शक्तिशाली एल निनोपछि सन् २०२५ मा जमिनका कार्बन सोस्ने प्रणालीमा आएको सुधार र डढेलोबाट हुने कार्बन उत्सर्जनमा आएको कमीका कारण सन २०२४ देखि २०२५सम्मको वृद्धिदर केही कम देखिएको वैज्ञानिक तर्क छ।

जीवाश्म इन्धनको प्रयोग र शक्तिशाली एल निनोको विकासका कारण सन् २०२६ मा पनि वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा (कन्सनट्रेसन) थप बढ्ने अपेक्षा गरिएको छ।

एल निनोले सन् २०२३–२०२४ मा जस्तै जमिनको कार्बन सोस्ने क्षमतामा असर पार्न सक्छ  र बदलिँदो जलवायुका कारण समुद्रको कार्बन सोस्ने क्षमता घट्ने जोखिमसमेत बढेको वैज्ञानिक तर्क छ।

मिथेन र नाइट्रस अक्साइड पनि कीर्तिमानी स्तरमा

दीर्घकालीन हरितगृह ग्यासबाट हुने तापमान वृद्धिमा मिथेनको योगदान करिब १६ प्रतिशत छ तर कार्बन डाइअक्साइडको तुलनामा मिथेन वायुमण्डलमा कम समयसम्म रहन्छ।

वायुमण्डलमा पुग्ने मिथेनमध्ये करिब ३५ प्रतिशत प्राकृतिक स्रोतबाट आउँछ। सिमसार क्षेत्र यसको प्रमुख प्राकृतिक स्रोत हो। बाँकी करिब ६५ प्रतिशत पशुपालन, धानखेती, जीवाश्म इन्धन उत्खनन, फोहोर विसर्जनस्थल र जैविक पदार्थ जलाउनेजस्ता मानवीय गतिविधिबाट उत्सर्जन हुन्छ।

प्रतिवेदनका अनुसार सन् २०२५ मा मिथेनको विश्वव्यापी औसत मात्रा(कन्सनट्रेसन) प्रति एक अर्ब भाग वायुमा १ हजार ९४८ भाग (पीपीबी) पुगेको छ। यो सन् १७५० को स्तरको तुलनामा २६७ प्रतिशत हो।

त्यस्तै नाइट्रस अक्साइड तेस्रो प्रमुख दीर्घकालीन हरितगृह ग्यास हो। यसको उत्सर्जन प्राकृतिक स्रोतका साथै जैविक पदार्थ जलाउने, रासायनिक मलको प्रयोग र विभिन्न औद्योगिक प्रक्रियाबाट हुन्छ।

सन् २०२५ मा वायुमण्डलमा नाइट्रस अक्साइडको विश्वव्यापी औसत मात्रा (कन्सनट्रेसन) ३३९.१ पीपीबी पुगेको छ। यो औद्योगिक युगपूर्वको स्तरभन्दा १२६ प्रतिशत बढी हो।

स्वच्छ ऊर्जातर्फको रूपान्तरणमा सावधानी आवश्यक

डब्लुएमओको विश्व वायुमण्डलीय निगरानी सञ्जालले कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड लगायत दीर्घकालीन प्रभाव पार्ने अन्य ग्यासको निगरानी गर्दै आएको छ।

विश्वका राष्ट्रहरूले ऊर्जा प्रणालीलाई कार्बन उत्सर्जनरहित बनाउने दिशामा रूपान्तरण गरिरहेका बेला विद्युत् उत्पादन र वितरणको क्रममा निस्कने दुई शक्तिशाली ग्यास हाइड्रोजन र सल्फर हेक्साफ्लोराइडलाई पनि विशेष ध्यान दिनुपर्ने डब्लुएमओले जनाएको छ।

विश्वभर  विद्युतीकरण बढेसँगै पछिल्लो तीन दशकमा सल्फर हेक्साफ्लोराइडको मात्रा निरन्तर बढिरहेको छ। विद्युत् वितरण प्रणालीमा विद्युतीय स्पार्क नियन्त्रण गर्न मुख्यतः यो ग्यास प्रयोग गरिन्छ।

सल्फर हेक्साफ्लोराइड वायुमण्डलमा एक हजार वर्षभन्दा बढी समयसम्म रहन सक्छ। यसको सय वर्षको अवधिमा तापमान वृद्धि गर्ने क्षमता कार्बन डाइअक्साइडको तुलनामा करिब २४ हजार ३०० गुणा बढी छ। सन् २०२५ मा यसको मात्रा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

त्यस्तै सन् २०१० देखि २०२४ सम्म वायुमण्डलमा हाइड्रोजनको मात्रा ५.३ प्रतिशतले बढेको छ। इस्पात उत्पादन, सामुद्रिक यातायात र लामो समयसम्म ऊर्जा भण्डारण गर्न कठिन हुने क्षेत्रमा हाइड्रोजनलाई ऊर्जा भण्डारणको माध्यमका रूपमा प्रयोग गरिँदै आएको छ।

नवीकरणीय ऊर्जाको उपयोग तथा यातायात क्षेत्रमा पनि यसको प्रयोग बढिरहेको छ तर उत्पादन केन्द्र, पाइपलाइन, भण्डारण ट्यांकी र इन्धन सेलबाट हाइड्रोजन चुहिएर वायुमण्डलमा पुग्नु चिन्ताको विषय बनेको वैज्ञानिक मान्छन्।

हाइड्रोजन आफैँमा हरितगृह ग्यास होइन तर यसले वायुमण्डलीय रासायनिक प्रक्रियामा प्रभाव पार्ने भएकाले अप्रत्यक्ष रूपमा तापवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ।

यसरी, लामो समयसम्म वायुमण्डलमा रहन भएकाले औद्योगिक प्रक्रिया मार्फत उत्पन्न हुने सल्फर हेक्साफ्लोराइडले चुनौती सिर्जना गरेको र ऊर्जा स्रोतका रूपमा प्रयोग हुने हाइड्रोजनले पनि अप्रत्यक्ष जलवायु प्रभावको जोखिम बढाएको  प्रतिवेदनमा उल्लेख छ।

यी दुवै ग्यासको चुहावट र वायुमण्डलमा लामो समयसम्म रहने प्रवृत्तिले स्वच्छ ऊर्जातर्फको रूपान्तरणबाट प्राप्त हुने जलवायु लाभलाई कमजोर बनाउन सक्ने डब्लुएमओको चेतावनी छ।

त्यसैले पृथ्वीको वायुमण्डलको संरचनामा हुने परिवर्तनको नियमित निगरानी गर्नु, त्यसलाई बुझ्नु र अनपेक्षित जलवायु प्रभाव रोक्नु आवश्यक रहेको संगठनको तर्क छ।

डब्लुएमओले आफ्नो विश्व वायुमण्डलीय निगरानी कार्यक्रममार्फत यी दुवै ग्यासको विश्वव्यापी ‘अवलोकन’मा  समन्वय गर्दै आएको छ। साथै, वायुमण्डलमा सल्फर हेक्साफ्लोराइड र हाइड्रोजनको मात्रा मापन गर्न स्थिर तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड विकास र प्रयोगमा सहयोग गर्दै आएको छ।

यस कार्यक्रमअन्तर्गत विश्वका विभिन्न अनुसन्धान कार्यक्रमबाट प्राप्त तथ्यांकलाई एकीकृत रूपमा प्रयोग गर्न सकिने भएकाले वैज्ञानिकहरूलाई यी ग्यासको वायुमण्डलीय मात्रा हुने परिवर्तन, तिनका स्रोत र सोसिने प्रक्रियाबारे विश्वसनीय अध्ययन गर्न सहयोग पुगेको डब्लुएमआको तर्क छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३८ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस