हरियाली डाँडापाखा र बुकीफूल हेर्न मनसुन पर्खिन्छन् पदयात्री
०१ साउन २०८३
•
६ मिनेट पाठ
हरियाली डाँडापाखा र बुकीफूल हेर्न मनसुन पर्खिन्छन् पदयात्री
वर्षायामलाई पर्यटनमा बेमौसम (अफसिजन) मानिन्छ। सामान्यतया यो बेला पर्यटकीय गतिविधि न्यून हुने गर्छन्।




प्रतिकूल हावापानी, विपद्को जोखिम, आवतजावतमा कठिनाइजस्ता कारणले मानिस हत्तपत्त घुमफिरमा निस्कँदैनन्। तर, केही यस्ता गन्तव्य छन्, जहाँको पर्यटन यही याममा बढी चलायमान हुन्छ। मनसुन पदयात्रामा बढ्दो आकर्षणले कास्कीको कोरी, बागलुङको ढोरपाटन, पूर्वीरुकुमको चुङ्ग्रीबुकीलगायत गन्तव्यमा मध्यबर्खामा पनि पर्यटकीय चहलपहल बढेको हो।

उच्च पहाडी भेगका पाटन र खर्कमा फुल्ने बुकीफूल, लेकाली जनजीवन, वर्षात्मा हरियाली देखिने डाँडापाखा, रिमझिम वर्षा र बादलभित्र लुकामारी खेल्ने हिमालको सौन्दर्य नियाल्न पदयात्रीहरु मनसुन पर्खिरहेका हुन्छन्।

यो याममा गरिने घुमफिरको अनुभव बेग्लै खालको हुने बताउछन्, पदयात्री सन्दीप शर्मा। हालै पूर्वीरुकुमको भूमे गाउँपालिका–१ स्थित चुङ्ग्रीबुकी पुगेर फर्किएका उनले त्यहाँका पाटनमा फुल्ने रङ्गीचङ्गी भुइँफूलले पर्यटकलाई लोभ्याउने गरेको बताए।

‘फूलैफूलले ढाकिएका पाटन, भेँडीगोठ र नजिकबाट नियाल्न सकिने हिमाली सौन्दर्य यहाँका मुख्य आकर्षण हुन्’, उनले भने, ‘छोटो दूरीको पदयात्रापछि पुग्न सकिने भएकाले पनि चुङ्ग्रीबुकीमा पर्यटकको आवतजावत बढेको हो।’

बागलुङ र पूर्वीरुकुमको सीमास्थल पातीहाल्नेदेखि पाँच किमीको पदयात्रामा चुङ्ग्रीबुकी पुग्न सकिने शर्माले बताए। यो बेला चुङ्ग्रीबुकी, बागलुङको ढोरपाटनलगायत क्षेत्रमा देखिएको पर्यटकीय चहलपहलले नेपाल हरेकयाम घुम्नका लागि उपयुक्त गन्तव्य हो भन्ने प्रमाणित गरेको उनको भनाइ छ।

मनसुन पदयात्रामा जाँदा विशेष रुपमा चनाखो हुनुपर्ने र सोहीअनुसारको बन्दोबस्ती मिलाउनुपर्ने शर्माको सुझाव छ।

‘बाढीपहिराको जोखिम हुने भएकाले मौसमसम्बन्धी पूर्वसूचना र चेतावनीको सधैँ ख्याल गर्नुपर्छ, ज्यान जोखिममा पारेर यात्रा गर्नुहुँदैन’, उनले भने, ‘अरु याममाभन्दा योबेला पदयात्राका लागि अलि बढी समय छुट्याउनुपर्छ।’

चुङ्ग्रीबुकीमा रहेको ‘पहाडी आँगन क्याम्प’का सञ्चालक नवीन अधिकारीले मनसुन सुरु भएपछि पर्यटकको आगमन बढेको बताए। उक्त क्याम्पले चार हजार मिटर उचाइमा रहेको त्यस क्षेत्रमा पर्यटकलाई खाना र बासको सेवा दिँदै आएको छ।

पर्यटकीय राजधानी पोखरादेखि एक दिनको यात्रामा चुङ्ग्रीबुकी पुग्न सकिन्छ। मध्यपहाडी लोकमार्गबाट पर्वत, बागलुङ हुँदै पातीहाल्नेसम्म मोटर यात्रा र त्यहाँबाट पदयात्रा सुरु हुने अधिकारीको भनाइ छ।

‘पोखरादेखि दुई दिनमै चुङ्ग्रीबुकीको यात्रा पूरा गर्न सकिन्छ, मध्यपहाडी लोकमार्गसँग जोडिएकाले नेपालको जुनसुकै सहरबाट पनि यहाँ सजिलै आउन सकिन्छ’, उनले भने, ‘काठमाडौंसहित टाढाटाढा पनि घुम्न आइरहनुभएको छ, यहाँ आउने धेरैजसो आन्तरिक पर्यटक नै हो।’

बागलुङ र रुकुमपूर्वको सीमास्थल पातीहाल्नेदेखि दुईदेखि तीन घण्टाको पदयात्रामा चुङ्ग्रीबुकी पुग्न सकिन्छ। पर्यटकलाई दुई छाक खाना, खाजा र ‘टेन्ट क्याम्प’मा एक रात सुतेकोसहित प्रतिव्यक्ति रु दुई हजार ५०० को प्याकेज तय गरिएको अधिकारीले बताए।

एकरातमा ४५ जनासम्म पाहुना राख्न सकिने उनको भनाइ छ। अन्य कुनै होटल, रेष्टुराँ नभएकाले टेन्ट क्याम्प राखेर पर्यटकलाई सेवा प्रदान गरिएको अधिकारीले बताइन्।

यात्रा ब्लगर दिव्या ढकाल पर्यटकले मनसुन याममा चुङ्ग्रीबुकी, ढोरपाटनजस्ता गन्तव्य रोज्नुमा बुकीफूल र भेँडीगोठको आकर्षण मुख्य रुपमा जोडिएको बताउछन्।

‘ढोरपाटन उपत्यका र बुकी क्षेत्रमा पाइने थरीथरीका फूल, भेँडीगोठ र रमणीय भू–बनोटले जोकोहीलाई लोभ्याउने गर्छ’, उनले भने। विकास निर्माण र पर्यटकीय गतिविधि बढेसँगै पर्यावरण संरक्षणमा जोखिम बढेको उनको भनाइ छ।

‘यसअघि कहिल्यै मानिस नपुगेका ठाउँमा एकैपटक ठूलो सङ्ख्यामा पुग्दा त्यसले पारिस्थितिक प्रणालीमा असर पुग्छ’, ढकालले भने, ‘ढोरपाटनजस्ता ठाउँमा दिगो पर्यटनलाई अगाडि बढाउनुपर्छ, स्थानीयस्तरमा वातावरणीय संरक्षणका विषयमा सचेतनाको खाँचो छ।’

पर्यटकले जथाभावी फूल टिप्ने, फोहर गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई बेलैमा निराकरण गर्न नसके पर्यटनमा नकारात्मक असर पुग्ने उनको भनाइ छ। चार हजार मिटरमाथिसम्म विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले यो याममा बुकीको आकर्षण बढाउने गरेको छ।

ढोरपाटन उपत्यका पनि अहिले रङ्गीचङ्गी भुइँफूलले सजिएको छ। वनफूलले ढाकिएको उपत्यकामा घोडा सयर गर्न पाउनु ढोरपाटनको अर्को आकर्षण हो। चार/पाँच वर्षयता मनसुन याममा ढोरपाटन घुम्ने पर्यटकको सङ्ख्या बढेको छ। फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले पनि ढोरपाटन र बुकी क्षेत्रको प्रचारप्रसारमा व्यापक्वता ल्याएको हो।

विशेषगरी शरद् र वसन्तऋतुमा बढी पर्यटकीय गतिविधि गरेकामा पछिल्लो समय मनसुन याममा पनि पदयात्रामा जाने क्रम बढ्नुले नेपाल पर्यटनका लागि हरेक मौसममा उपयुक्त छ भन्ने देखाएको छ।

ढोरपाटनको गर्पाछेडामा रहेको ‘हाइअल्टिच्युड गोठ एण्ड टेन्ट स्टे’का सञ्चालक महेन्द्र घर्तीले ढोरपाटनको बुकी क्षेत्र घुम्नका लागि साउन–भदौ महिना उत्तम रहेको बताए।

‘मनसुनमा हरेक हप्ता यहाँ नयाँनयाँ भुइँफूल फूल्ने गर्छ, यहाँ रहेका भेँडीगोठ र उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ’, उनले भने, ‘अहिले दैनिक दुई÷तीन सय पर्यटक यहाँ आउने गरेका छन्।’

ढोरपाटन उपत्यकाबाट चारदेखि पाँच घण्टाको पदयात्रामा गर्पाछेडा पुग्न सकिन्छ। पर्यटकहरु त्योभन्दामाथि ४२ सय मिटरमा रहेको टीकाधारासम्म पुग्ने गरेको घर्तीले सुनाए।

गर्पाछेडामा पर्यटकका लागि गोठस्टे र टेन्ट क्याम्पको व्यवस्था छ। घर्तीसहित सात जना व्यवसायीले त्यहाँ लगानी गरेका छन्।

‘हामीले सञ्चालन गरेको गोठस्टे र टेन्ट क्याम्पमा एक रातमा ७० जनासम्म पाहुना राख्न सकिन्छ’, घर्तीले भने, ‘प्रतिव्यक्ति दुई हजारदेखि दुई हजार ४०० सम्मको प्याकेजमा सेवा उपलब्ध गराएका छौँ।’

रु दुई हजारमा एक छाक सादा खाना, खाजा, एक रात बास र ढोरपाटन सिकार आरक्षलाई तिर्ने पर्यटक शुल्कसमेत समावेश गरिएको छ। रु दुई हजार ४०० तिर्ने पर्यटकले खानामासुसहितको सुविधा पाउँछन्।

पदयात्रा गर्न नसक्नेका लागि ढोरपाटन उपत्यकाबाट घोडा सवारकोसमेत सुविधा उपलब्ध छ। घोडा व्यवसायीले रु तीन हजार ५०० मा पर्यटलाई गर्पाछेडासम्म पुर्याउँछन्। पर्यटक बढ्न थालेपछि आतिथ्य सेवादेखि फोहर व्यवस्थापनसम्ममा चुनौती थपिएको घर्तीको भनाइ छ।

कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कोरी पनि मनसुन पदयात्रा लागि रोजाइको गन्तव्य हो। पर्यटकीय गाउँ सिक्लेसबाट पदयात्रा सुरु गरी अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार ८०० मिटरको कोरी लेक पुग्न सकिने सिक्लेसस्थित नमस्ने गेष्टहाउसका सञ्चालक झरना गुरुङले बताइन्।

‘दुई दिनमा कोरीको पदयात्रा पूरा गर्न सकिन्छ, विशेष गरी मनसुन याममा यहाँ पर्यटक घुम्न आउँछन्’, उनले भनिन्, ‘यो बेला फुल्ने थरीथरीका फूल, नजिकै देखिने हिमाली दृश्य र छिनछिनमा फेरिइरहने मौसम कोरी ट्रेकको आकर्षण हो।’

मनसुन याममा कोरीको प्राकृतिक सौन्दर्य पनि लोभलाग्दो हुने गरेको उनको भनाइ छ। सामाजिक सञ्जाल फेसबुक, टिकटकजस्ता माध्यमबाट कोरीको प्रवर्द्धनमा टेवा पुगेको उनले बताए। स्तरीय पदमार्गसहित पर्यटकीय सुविधा पनि उपलब्ध भएकाले कोरीको यात्रा सहज छ।

सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आवतजावत बढेको हो। सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन्। तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ। पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन्।

ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रचुर सम्भावना भएर पनि नेपालमा मनसुन याम केन्द्रित पर्यटकीय गतिविधि अपेक्षित रुपमा बढ्न नसकेको बताए।

पर्यटनलाई बाह्रैमास चलायनमान बनाउने गरी नीति र प्रवर्द्धनका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।
अर्को समाचार
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
१ मिनेट अघि
•
१ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।




महानगरको सुशासनदेखि विकास निर्माणसम्मका धेरैजसो वाचा अधुरै रहेका हुन्। नगरप्रमुख कोइराला आफूले चुनावमा नगरवासीसँग गरेको संकल्प चुनाव जितेपछि व्यवहारमा लागु गर्न सफल नभएको पाइएको छ।

विराटनगरका नगरप्रमुख र उपप्रमुखले निर्वाचित हुनेबित्तिकै महानगरको यातायातलगायत कुनै पनि सेवासुविधा नलिने भन्दै गरेको घोषणा एक वर्ष पनि पुग्न नपाउँदै तुहिएको थियो। केही महिना महानगरपालिकाको गाडीको सुविधा नलिई आफ्नै गाडी प्रयोग गरेका प्रमुख र उपप्रमुखले पुनः महानगरपालिकाकै सवारीसाधन प्रयोग गरेका थिए। महानगरको गाडी सुविधा नलिने घोषणा सार्थक नभएजस्तै चुनावका बेला महानगरवासीसँग गरेका ६६ बुँदे संकल्पपत्रका अधिकांश बुँदाले सार्थकता पाउन सकेनन्। विराटनगरमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउनेलगायत संकल्पहरू व्यवहारतः कार्यान्वयनमा नआउँदै कार्यकाल अन्तिम चरणमा पुगिसकेको छ।

संकल्पपत्रको पहिलो बुँदा नै महानगरमा कार्यान्वयनमा आउन नसकेको पाइएको छ। उक्त बुँदामा उल्लेख थियो, ‘भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने। सूचनाको हक प्रत्याभूत गर्दै पारदर्शी एवम् जवाफदेही महानगरपालिका निर्माण गर्ने।’

यस्तै दोस्रो बुँदामा महानगरले गर्ने विकास निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्ने भनिएको थियो। तेस्रो बुँदामा उल्लेख ‘महानगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण गर्ने’ र ‘महानगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा गर्ने’ विषय पनि कार्यान्वयनमा आउन नसकेको पाइएको छ। चौथो बुँदामा रहेको ‘महानगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सेवा र सुविधा सामाजिक कार्यमा प्रदान गर्ने’ विषयत पूर्ण रूपमै कार्यान्वयनमा आउन नसकेको देखिन्छ।

महानगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको विज्ञ समूह गठन गर्ने, विराट राजाको दरबार रहेको विराटनगरको भेडियारी क्षेत्रलाई समुचित विकास गर्दै पर्यटन केन्द्रका रूपमा विकास गर्ने संकल्प संकल्पपत्रमै सीमित देखिएको छ।

सामुदायिक विद्यालयमा समयानुकूल शैक्षिक गुणस्तर सुधार गर्न नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) तथा अनुसन्धान केन्द्र (रिसर्च सेन्टर) निर्माण गर्ने, अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्‍याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड बैंक स्थापना गर्ने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने, विराटनगर महानगरपालिका क्षेत्रमा भूमिगत पार्किङसहितको दुई हजार पाँच सय क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने विषयमा हालसम्म खासै प्रगति हुन सकेको छैन।

चुनाव जितेपछि सभागृह निर्माणको विषयलाई प्रमुख कोइरालाले औपचारिक कार्यक्रममा समेत उच्चारण गरेका छैनन्। विराटनगर–१९ मा सभागृह निर्माण गर्न डिपीआरसमेत बनाई भौतिक निर्माणको चरणमा पुगेको उक्त सभागृहका लागि अधिग्रहण गर्ने तयारी गरिएको जग्गामा महानगरपालिकाले काम अघि बढाउने संकेत नदेखाएपछि स्थानीयले आ–आफ्नो जग्गामा पुनः खेतीपाती गरिरहेका छन्।

विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्र्रहालयको निर्माण गर्ने, रानीदेखि विराटनगर–१९ स्थित रंगशालासम्म सटल बस सञ्चालन गर्ने, बिजुली, टेलिफोन, इन्टरनेटलगायत तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गर्ने विषयमा पनि महानगरले कुनै प्रगति गरेको देखिएको छैन।

बिग्रन थालेका सडक, पेटी, ढल तथा अन्य संरचनालाई द्रुत गतिमा प्रारम्भिक चरणमै मर्मत गर्ने, ट्राफिकसम्बन्धी चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी) सहितको आकासे पुल निर्माण गर्ने काम पनि साढे चार वर्षको अवधिमा अघि बढ्न सकेका छैनन्। महानगरको सौन्दर्यीकरण अभियानअन्तर्गत सडक, बाल उद्यान, मनोरञ्जन केन्द्र निर्माण, संरक्षण र सरसफाइका काम अघि बढाउने विषयमा भने आंशिक रूपमा कामहरू भएका छन्।

सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने, पिछडिएका समुदाय तथा सुकुम्बासीको पहिचान गरी लालपुर्जासहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गर्ने कार्यलाई गति दिने संकल्पपत्रका बुँदाहरू पनि कार्यान्वयनमा आउन सकेका छैनन्। मनोरञ्जन तथा पारिवारिक वातावरणयुक्त पार्कहरू निर्माण गर्ने, केसलिया र सिंघिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने, प्रदेश राजधानीका लागि आवश्यक स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने विषयमा पनि काम अघि बढ्न नसकेको देखिएको छ। प्रतिमहिना ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरवासीलाई निःशुल्क विद्युत् उपलब्ध गराउनेलगायत थुप्रै लोकप्रिय कार्यक्रम संकल्पपत्रमै सीमित भएको छ।

समग्रमा हेर्दा महानगरपालिकाले नियमित गर्ने कामबाहेक उल्लेख्य रूपमा उदाहरणीय काम पछिल्लो कार्यकालमा हुन नसके पनि केही क्षेत्रमा भने विगतको तुलानामा राम्रो काम भएको छ। पछिल्लो कार्यकालमा विराटनगरको फोहोर व्यवस्थापन, सरसफाइ, सडक बत्तीको व्यवस्थापन, ट्राफिक लाइटको व्यवस्थापन, नाला सरसफाइलगायत काममा भने महानगरपालिकाले राम्रो गरेको देखिन्छ। यो कार्यकालमा विकास निर्माणतर्फ एउटा मात्रै ठुलो आयोजना कार्यान्वयन भएको पाइएको छ। विराटनगरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले जापान सरकारको सहयोगमा सञ्चालित खानेपानी परियोजना भने सम्पन्न भएको छ।

करिब अढाइ अर्बको यो आयोजनाले विराटनगरको खानेपानीको गुणस्तर सुधार गर्दै मुख्य सहरी क्षेत्रको ५९ किलोमिटर क्षेत्रमा पाइपलाइनसमेत विस्तार भएको छ। तर यो आयोजना पूर्ण रूपमा सफल बनाउन सहायक सडकको करिब एक सय किलोमिटर क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्न आवश्यक रहेको नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले जनाएको छ।

यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संकल्पपत्रका धेरै काम पूरा हुन नसके पनि आफ्नो कार्यकालमा उल्लेख्य काम भएको दाबी गरेका छन्। कोइरालाले संकल्पपत्रमार्फत चुनावामा गरेको वाचाअनुसार विराटनगर महानगरपालिका १५ स्थित नगर अस्पतालमा डाक्टर नियुक्ति, ल्याबलगायत पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए।

यस्तै शिक्षा क्षेत्रमा पनि आफ्नो कार्यकालमा उल्लेख्य सुधार भएको प्रमुख कोइरालाले बताए। विगतमा तीन वटा मात्रै विद्यालयमा विद्यार्थीको आकर्षण रहेकोमा अहिले १५–२० वटा विद्यालयमा गुणस्तर सुधार गरिएको कोइरालाको दाबी छ। तर विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्न विभिन्न कानुनी अड्चनहरूले सम्भव नभएको कोइरालाले बताए। सार्वजनिक शौचालयको व्यवस्था गर्न सहरी क्षेत्रमा जग्गा अभावका कारण नसिकिएको कोइरालाले बताए।

उनले सार्वजनिाक शौचालय महानगरपालिकाले निर्माण गर्न नसके पनि त्यसको विकल्पमा विराटनगरका पेट्रोल पम्पहरूमा शौचालय निर्माण गर्न लगाई सर्वसाधारणका लागि पनि प्रयोग खुला गरिएको बताए। विराटनगरमा नगरबस सञ्चालनका लागि प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने महानगरपालिकाको योजना भए पनि सटल बस सञ्चालनका लागि निजी क्षेत्र इच्छुक नदेखिँदा योजना सफल नभएको स्पष्ट पारे।

प्रदेशको स्थायी संरचनाका लागि जग्गा उपलब्ध गराउने विषय पनि एक महिनाभित्रै टुंगिने चरणमा रहेको कोइरालाले दाबी गरे। ‘प्रदेशको स्थायी संरचनाका लागि १० बिघा जग्गा आवश्यक रहेकोमा आठ बिघा प्राप्त भइसकेको र थप दुई बिघा पनि प्राप्त हुने क्रममा छ,’ कोइरालाले भने।

कोइरालाले बजेट अभाव र विभिन्न अवरोधका बिचमा पनि आफ्नो कार्यकालमा विकास निर्माण, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनलगायत धेरै क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। कोइराला आफूले गरेका वाचा पूरा गर्न पाँच वर्षको कार्यकाल कम रहेको बताए। अझै एक कार्यकाल महानगरको जिम्मेवारी पाए आफूले परिकल्पना गरेका कामहरूले पूर्णता पाउने उनको भनाइ छ।

सुधारको प्रयास, न्यून उपलब्धि
विराटनगर महानगरपालिकाले स्थानीय कानुन निर्माण, विकास निर्माण र प्रशासनिक सुधारमा केही प्रगति गरे पनि वित्तीय अनुशासन, कर्मचारी व्यवस्थापन र बजेट कार्यान्वयनमा अपेक्षित सुधार गर्न सकेको छैन। नगर प्रमुख नागेश कोइरालाको कार्यकालमा बेरुजु घटाउने, प्रशासनिक खर्च नियन्त्रण गर्ने र विकास योजनालाई व्यवस्थित बनाउने प्रयास भए पनि अपेक्षित सुधार भने हुन नसकेको देखिएको छ।

महानगरको वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म महानगरको अद्यावधिक बेरुजु एक अर्ब ६३ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो।

त्यसपछि निरन्तर सम्परीक्षण हुँदा बेरुजु घट्दै आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड एक लाख, २०७९/८० मा ५० करोड ३८ लाख ३८ हजार र २०८०/८१ मा ३९ करोड ५२ लाखमा झरेको थियो। यद्यपि आर्थिक वर्ष २०८१/८२ मा नयाँ बेरुजु आठ करोड दुई लाख थपिँदा कुल अद्यावधिक बेरुजु पुनः ३७ करोड ६८ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

महानगरको प्रशासनिक खर्चमा पनि उल्लेख्य रकम विनियोजन हुँदै आएको छ। विविध खर्च, इन्धन, सवारी मर्मत, बैठक भत्ता, पत्रपत्रिका, भ्रमण र मसलन्द गरी सात वटा चालु शीर्षकको कुल खर्च आर्थिक वर्ष २०७९/८० मा ६ करोड ५ लाख १४ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ४७ लाख ४९ हजार र २०८१/८२ मा चार करोड १४ लाख नौ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा बैठक भत्ता एक करोड पाँच लाखबाट घटाएर ३४ लाख ५० हजार रुपैयाँमा सीमित गरिएको छ। स्थानीय कानुन निर्माणलाई भने महानगरले तीव्रता दिएको छ।

आर्थिक वर्ष २०८१/८२ सम्म महानगरले पाँच वटा ऐन, ७५ वटा नियमावली र १९८ वटा कार्यविधि निर्माण गरेको छ। नगर विकास कोषबाट बस टर्मिनल, फोहोरमैला प्रशोधन केन्द्र र वीरेन्द्र सभागृहका लागि लिएको ऋणको साँवा–ब्याज नियमित भुक्तानी गरी बाँकी ऋण ३४ करोड १४ लाखबाट घटाएर ३२ करोड ६ लाखमा झारिएको विवरणमा उल्लेख छ।

नगर प्रमुख कोइरालाले पुरानो बेरुजु घटाउने, बजेटको आकार सानो बनाउने र प्रशासनिक शीर्षकमा खर्च कम गर्ने प्रयास गरे पनि महानगरको मूल आर्थिक संरचनामा परिवर्तन आउन सकेको देखिँदैन। आन्तरिक राजस्व ६० देखि ६१ करोड रुपैयाँकै वरिपरि अड्किनु, करार कर्मचारी र भत्ताको भार बढ्दै जानु तथा पुँजीगत खर्च घटेर कुल खर्चको एक तिहाइमा सीमित हुनु महानगरको वित्तीय व्यवस्थापनका प्रमुख चुनौती हुन्। महानगरको कर्मचारी व्यवस्थापन पनि खर्च बढ्नुको अर्को कारण बनेको छ।

श्वेतपत्रको पहिलो बुँदामा ६०९ कर्मचारी (३३१ करार र आठ अस्थायी) को जम्बो संरचनाले आर्थिक बोझ बढाएको उल्लेख थियो। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महानगरमा कार्यरत कुल कर्मचारी संख्या घटेर ५४३ (२३८ स्थायी, ५ अस्थायी र ३०० करार) मा झरेको छ। तर कर्मचारी संख्या घटे पनि करार र दैनिक हाजिरीको खर्च भने बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा करारतर्फ १० करोड ४३ लाख र दैनिक हाजिरीमा ६८ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा करार सेवा शुल्कमा १४ करोड ४४ लाख १३ हजार र दैनिक हाजिरीमा एक करोड ३५ लाख ११ हजार गरी करिब १५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै कोसी प्रदेशको कानुनविपरीत प्रतिस्पर्धाबिनै दैनिक हाजिरीका २४ जनालाई सोझै करारमा नियुक्त गरिएको, जिल्ला प्रशासन कार्यालय मोरङका ६ कर्मचारीलाई महानगरको कोषबाट २२ लाख ७५ हजार रुपैयाँ तलब खुवाइएको तथा विभिन्न शीर्षकमा प्रोत्साहन, अतिरिक्त समय र खाजा भत्ता वितरण गरिएको विवरणले कर्मचारी व्यवस्थापनमा प्रश्न उठाएको छ। महानगरले आवधिक योजना निर्माणमा पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।

विगतमा हचुवाका भरमा बजेट विनियोजन हुने र आवधिक योजना नबनाउने गरेको आलोचनापछि कोइरालाको कार्यकालमा आर्थिक वर्ष २०८०/८१ मा १९ लाख ६३ हजार रुपैयाँ खर्च गरेर आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मको आवधिक योजना तयार पारिएको थियो। तर उक्त योजना पूर्ण कार्यान्वयनमा आउन सकेको छैन।

त्यस्तै बजेट रकमान्तर गर्ने प्रवृत्तिमा पनि सुधार देखिएको छैन। आर्थिक वर्ष २०८०/८१ मा २२ करोड ३५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ८३ लाख ६१ हजार रुपैयाँ रकमान्तर गरिएको छ। विराटनगर महानगरपालिकाले कानुन निर्माण, ऋण भुक्तानी र केही प्रशासनिक खर्च कटौतीमा सुधार गरे पनि आन्तरिक राजस्व वृद्धि, कर्मचारी खर्च नियन्त्रण, बेरुजु व्यवस्थापन, योजना कार्यान्वयन र पुँजीगत खर्च बढाउने विषयमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको देखिँदैन।

प्रमुख–उपप्रमुखबिच सुमधुर सम्बन्ध
विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट नागेश कोइराला र नेकपा एमालेबाट शिल्पा निराला कार्की निर्वाचित भए पनि सम्बन्ध सुमधुर देखिएको छ। निर्वाचित भएदेखि हालसम्म प्रमुख–उपप्रमुखबिच कुनै दरार आएन। फरक पार्टीका प्रमुख–उपप्रमुख मात्रै होइन, एउटै पार्टीका प्रमुख–उपप्रमुख निर्वाचित भएका स्थानीय तहहरूमा प्रमुख–उपप्रमुखबिच समेत असमझदारी हुने गरेकोमा विराटनगर महानगरपालिकाको साढे चार वर्षे कालमा प्रमुख–उपप्रमुखबिचको सुमधुर सम्बन्ध उदाहरणीय नै देखिएको छ।

विगतमा नेपाली कांग्रेसबाटै प्रमुख र उपप्रमुख निर्वाचित हुँदा पनि बेलाबेला खटपट हुने गरेको थियो। यस्तै वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिहरूका बिचमा पनि यो कार्यकालमा खासै खटपट देखिएन। सबै पक्षबाट सहयोग पाउँदा पनि उल्लेख्य काम हुन नसक्दा भने नगरवासी निराश बनेका छन्।

विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री महानगरपालिकाका पदाधिकारीहरूले पाँच वर्षको अवधिमा गौरव गर्न लायक कुनै पनि काम गर्न नसकेको बताए। उनले चुनावमा आफैले गरेको संकल्पका अधिकांश बुँदा कार्यान्वयनमा ल्याउन नसक्नु विडम्बना भएको बताए। ‘केही पनि काम भएन भन्ने कुरा त होइन तर महानगरपालिकाको स्रोत र सामर्थले गर्न सक्ने जति काम पनि नभएकाले पाँच वर्षे कार्यकालको कामप्रति सन्तुष्ट हुने अवस्था छैन,’ क्षेत्रीले भने, ‘धाराको पानी ढुक्कसँगले पिउने बनाउने मुख्य वाचा गरेका नगरप्रमुखको कार्यकाल सकिनै लाग्दासम्म महानगरपालिकाका विद्यार्थीहरूले विद्यालय जाँदा घरबाटै खोनेपानीको बोतल बोकेर जानुपर्ने अवस्था अन्त्य नहुनुले के भनियो र के गरियो भन्ने स्पष्ट हुन्छ।’

रोजगारी सिर्जना र नगरवासीको आर्थिक अवस्था सुधारका विषयमा त कुनै पनि काम नभएको क्षेत्रीले बताए। महानगरपालिकाको विकासका लागि गुरुयोजना नबनाउनु महानगरपालिकाका जनप्रतिनिधिहरू चुक्नुको प्रमुख कारण भएको प्राध्यापक डा. भेषप्रसाद धमला बताउँछन्। उनका अनुसार आफूले पटकपटक गुरुयोजना बनाएर विकासका गतिविधिहरू सञ्चालन गर्न आग्रह गरेको भए पनि जनप्रतिनिधिहरूले ध्यान नदिएको गुनासो गरे। ‘के बनाउने, कसरी बनाउने, कस्तो बनाउने भन्ने नै स्पष्ट नभएपछि विकासका काम व्यवस्थित नभएको हो,’ धमलाले भने।

महानगरपालिकाको न्यून स्रोत सधान रहेको, साधारण खर्च धेरै रहेको र उपलब्ध स्रोतसाधनलाई पनि परिचालन गर्ने असमर्थ हुँदा नगरवासीको अपेक्षा र महानगरपालिकाको काम गराईबिच तालमेल नमिलेको उनी बताउँछन्। महानगरपालिकाका जनप्रतिनिधिले पछिल्लो कार्यकालमा आम्दानी बढाउने सम्भावना हुँदाहुँदै पनि आम्दानी बढाउन नसकेको र खर्च पनि घटाउन नसकेको धमला बताउँछन्।

महानगरपालिकाले गुरुयोजना बनाएर गुरुयोजनाअनुसार विकास निर्माण गर्ने, राजस्व संकलन बढाउने र साधारण खर्च घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस