काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विभिन्न सयममा भइरहने हरेक जात्रापात्राहरुमा पानी बोकेर पानी खुवाउन हिड्ने भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकका रत्नभक्त प्रजापतिले आफूले गरेको समाजसेवाबाट कहिले पनि पुरस्कारको आशा गरेका थिएनन् । तर उही समाजसेवी प्रजापति शुक्रबार भक्तपुरमा ५० हजार नगदसहित सम्मानित भएका छन् ।
भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनलाई यो सम्मान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सम्मान गरेका हुन् ।
प्रजापति ७७ वर्षका भए । उनका अनुसार उनले किशोर उमेरै पानी खुवाउने समाजसेवा थालेका थिए । पहिलो पटक भक्तपुरबाटै यो काम थालेका थिएँ, उनले सम्मानित भएपछि नागरिकसँग कुराकानी गर्दै सम्झे, अहिले त उपत्यकामा मात्रै होइन, उपत्यका बाहिरका पनि विभिन्न ठाउँहरुमा हुने जात्राहरुमा पनि पानी खुवाउन हिड्छु ।
त्यही कारण उनलाई सवैले नामले चिन्दैनन्, बरु पानी बाजे, पानी बा भनेर चिन्दछन् । उनी काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा हुने विस्केट जात्रा, दसैं, भोटेजात्रालगायतका अनेक जात्रापात्राहरुमा पानीका दुई वटा गाग्री बोकेर एउटा अंखुरा (पानी खाने भाँडो) सहित पुग्छन् । र सहभागीलाई पानी खुवाउँदै हिड्छन् । उनले दुईवटा गाग्रीको पानी सकेपछि नजिकै आफनै खर्चमा जारको पानी किन्छन् र खुवाएर हिड्छन् । पाँच दशकदेखि यो काममा निस्वार्थरुपमा रहेका उनका अनुसार पहिला पहिला जारको पानी किन्ने नहुँदा घरकै धाराबाट पानी थापेर लाने गर्दथे । शुक्रबार सम्मानित भइसक्ने वितिकै उनी मञ्चबाट ओर्लेर कार्यक्रममा सहभागीहरुलाई पानी खुवाउनमै व्यस्त रहे ।
कार्यक्रममा एक लाख ३० हजार नगदसहित जेस संस्कृति सम्पदा सिरपाबाट भक्तपुर नगरपालिका वडा नं ८ का राजेश गाइजूलाई सम्मान गरियो । संस्कृति सम्पदाको क्षेत्रमा गरेको योगदानको कदर गरी उनलाई यो सम्मान र हौसला प्रदान गरेको हो । साथै स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं १० का सफाइ कर्मचारीहरुमध्ये दुई जनालाई पनि सम्मान गरेको थियो । उनीहरुलाई जनही नगद रु २५ पच्चीस हजारसहित सम्माान गरेको थियो । सम्मानित हुने सफाई मजदुरहरुमा उर्मीला देउला र सीताराम कर्माचार्य रहेका छन् ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष विजुक्छेंले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सरकार (स्थानीय)ले मात्रै कदर नगरी समाजको एउटा अंगको रुपमा रहेको स्कुलको पनि जिम्मेबारी हो भन्न सन्देशका साथ यो पुरस्कारको स्थापना गरेको जानकारी गराए । पुरस्कारमा नगद राशीसहित सम्मानपत्र रहेको थियो । सम्मानका लागि भक्तपुर नगरबासी हुनुपनुका साथै स्नातकोतर उतीर्ण गरी संस्कृति क्षेत्रमा योगदान दिएको हुनुपर्ने जनाइयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, त्रिभुबन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभागका निवर्तमान विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा पुस्तक र स्मारिका पनि विमोचन गरिएको थियो । साथसाथै ३० औं वार्षिकोत्सवको अवसरमा स्कुलले आयोजना गरेका विभिन्न प्रतियोगितामा विजयीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । वार्षिकोत्सवको अवसरमा स्कुलले साउन १७ गतेदेखि विभिन्न १८ वटा कार्यक्रमहरु गरेको थियो ।
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।
त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।
उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।
'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'
प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।
सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।