लाङ्टाङ जीवन : हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
लाङ्टाङ जीवन : हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष
वरिपरि सेताम्मै हिमशृङ्खला। अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका। हिमाली काखमा बसेको ‘लाङ्टाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुनगुनाउन मन लाग्छ–




‘हिमालको काखमा छ, सानो मेरो गाउँ  

पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ...’ 

हिमालको काखमा हुर्किएको ‘लाङ्टाङ भ्याली’ सुन्दर छ। त्यो भन्दा पनि सुन्दर हिउँजस्तै निर्मल र निश्चल मन भएका हिमाली जनजीवन अझै सुन्दर छन्।

यहाँका बासिन्दाहरू एकातिर हिउँजस्तै मुस्कान लिएर मुस्कुराइरहेका छन् भने अर्कातिर जीवनका अनेक सङ्घर्षलाई चट्टानजस्तै सहर्ष स्वीकार गर्न सक्षम छन्।

लाङ्टाङ भ्यालीकी ५० वर्षीया फुर्पु शेर्पा भन्छिन्, ‘हामी हिमालीवासीहरू खुसी हुँदा हिमालझैँ हाँस्छौँ, दुस्ख पर्दा चट्टानझैँ जुध्न सक्छौँ। शेर्पालाई खुसी हुन धेरै ठूलो कुरा केही चाहिँदैन।’

हिमाली गाउँ हेर्न आउने पर्यटक देख्दा उनलाई खुसी लाग्छ। विशेषगरी आफ्नो छोराछोरीकै उमेरका युवा पर्यटक गाउँ आइपुग्दा उनी आफ्नै सन्तानजस्तै ठान्छिन्।

‘कहाँसम्म पुग्ने हो ?, आउनु, चिया खाउँ’, भन्दै पर्यटकलाई बोलाउँछिन्। व्यापारका दृष्टिले हेर्दा यो ग्राहक बोलाउने सामान्य शैली हुनसक्छ तर फुर्पुका लागि भने पर्यटकसँगको आत्मीयता र सन्तानको सम्झनासँग जोडिएको भावनात्मक सम्बन्ध पनि हो।

भूकम्पले परिवारका सदस्य गुमाएपछि एक्लै जीवनको जिम्मेवारी सम्हाल्दै आएकी छिन् उनी। चार सन्तानकी आमा उनी अहिले एक्लै छिन्।

विसं २०७२ को भूकम्पले ठूलो बज्रपात ल्यायो। भूकम्पमा उनले जेठो छोरा, छोरी र श्रीमान् गुमाउनुपर्यो। अहिले उनका दुई छोरीमध्ये एक छोरी क्यानडामा अध्ययनरत छिन् भने अर्की छोरी काठमाडौंमा पढिरहेकी छन्।

गाउँ आउन आग्रह गर्दा छोरीले ‘हेलिकप्टर पठाइदिनु, हिँडेर त आउँदिन’ भन्ने गरेको उनले सुनाइन्। छोरीको यस्तो जवाफ सम्झेर उनी एकछिन मुस्कुराउछिन्। तर, त्यो हाँसोभित्र सन्तानसँगको भेटको प्रतीक्षा र कतै उनीहरूले आफूलाई बिर्सने हुन् कि भन्ने चिन्ता पनि लुकेको हुन्छ। ‘जिन्दगी के नै रहेछ र ?’, उनी छोटो वाक्यमा आफ्नो जीवनको पीडा पोख्छिन्।

लाङ्टाङका ७२ वर्षे तेन्जेन लामा र उनकी ७० वर्षीया पत्नी याङ्जेन जाङ्डुम्पाको जीवन पनि देखेजस्तो सजिलो छैन। यहाँ बस्ने प्रत्येक व्यक्तिका आ–आफ्नै कथा छन्।

जसमध्ये लामा दम्पतीको कथा रोचक छ। उनीहरूका एक छोरा र तीन छोरी छन्। दुई छोरी र छोरा बुहारी अमेरिकामा छन्। सन्तान विदेशमा भए पनि उनीहरूको मन भने आफ्नै गाउँ र हिमालसँग जोडिएको छ।

लाङ्टाङमा अहिलेसम्म सहज सडक पहुँच छैन। दैनिक उपभोग्य सामग्रीसमेत कठिनाइका साथ ढुवानी गर्नुपर्छ। बजारमा दुई हजार ५०० पर्ने चामल गाउँसम्म ल्याउँदा ढुवानी खर्च जोडिएर पाँच हजारसम्म पर्ने स्थानीय बताउँछन्।

खाद्यान्नदेखि निर्माण सामग्रीसम्म महँगो मूल्य तिर्नुपर्ने बाध्यता यहाँका बासिन्दाले भोगिरहेका छन्। त्यसमाथि लाङ्टाङ राष्ट्रिय निकुञ्चभित्र पर्ने भएकाले स्थानीयले विभिन्न शुल्क र नियमको भारसमेत व्यहोर्नुपरेको गुनासो गर्छन्।

विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार र नेपाली पर्यटकबाट प्रतिव्यक्ति एक सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ। पर्यटकबाट शुल्क उठाइए पनि पदमार्ग, फोहर व्यवस्थापन र स्थानीय पूर्वाधार सुधारमा त्यसअनुसार काम नभएको स्थानीयको गुनासो छ।

प्रकृतिले मन खोलेर दिएको सौन्दर्यका बीच लाङ्टाङवासीको दैनिकी भने सहज छैन। पर्यटकको आगमनबाट जीविका चलाउने यहाँका बासिन्दा बाटो, स्वास्थ्य सेवा, खाद्यान्न ढुवानी र पर्यटन व्यवस्थापनको अभावसँग जुधिरहेका छन्।

गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङ्टाङ उपत्यका नेपालको लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक हो। सगरमाथा र अन्नपूर्णपछि चर्चामा आउने लाङ्टाङमा हिमाली दृश्य, स्थानीय तामाङ तथा शेर्पा समुदायको संस्कृति र मौलिक जीवनशैली हेर्न बर्सेनि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् तर पर्यटकलाई लोभ्याउने यही गन्तव्यसम्म पुग्ने बाटो र त्यहाँको आधारभूत सेवा भने अझै व्यवस्थित हुनसकेको छैन।

ठूलो स्याफ्रुस्थित नमस्ते होटलका सञ्चालक कर्मा लामाका अनुसार लाङ्टाङ नाम रहनुका पछाडि स्थानीय जनविश्वासमा आधारित रोचक किंवदन्ती छ। उनका अनुसार पहिले तिब्बतबाट एउटा जनावर गोठालोसँगै भागेर आएको थियो। गोठालाले फर्काउन खोज्दा पनि नमानेपछि किलाले बाँधेर राखिएको र पछि किला फुकाएर भागेको उक्त जनावरलाई धेरै दुःख दिएको भन्दै गोठालाले हतियार प्रहार गरी मारेको स्थानीयको भनाइ छ।

त्यसपछि त्यस स्थानको नाम लाङ्टाङ रहन गएको जनविश्वास रहेको उनले बताए। यस्ता किंवदन्ती र स्थानीय संस्कृति लाङ्टाङको पर्यटकका थप आर्कषण हुन्। यद्यपि प्राकृतिक एवं सांस्कृतिक सम्पदाको प्रचार र संरक्षणसँगै यहाँका बासिन्दाको जीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन।  

बिरामी पर्दा हेलिकप्टरको भर

हिमाली जीवनको अर्को ठूलो चुनौती स्वास्थ्य सेवा हो। सामान्य अवस्थामा जसोतसो जीवन चलाए पनि बिरामी पर्दा उपचारका लागि अस्पताल पुग्ने चिन्ताले स्थानीयलाई सताउने गरेको छ।

अरु बेला त जसोतसो चलेको छ, बिरामी पर्दा उपचार नपाइने डरले सताउँछ’, फुर्पु शेर्पा भन्छिन्, ‘बिरामी भए हेलिकप्टरबिना अस्पताल पुग्न सकिँदैन। हेलिकप्टरको व्यवस्था गर्न बैंक खातामा तीन लाखदेखि पाँच लाखसम्म जम्मा भएकै हुनुपर्छ।’

आपतकालीन अवस्थामा हेलिकप्टर नै एकमात्र विकल्पजस्तो बन्नु यहाँको स्वास्थ्य सेवाको कमजोर पहुँचको चित्र हो।

आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो खर्च जुटाउनु झन् कठिन हुन्छ। पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनिएको लाङ्टाङमा स्थानीयले सामान्य स्वास्थ्योपचारका लागि समेत ठूलो आर्थिक जोखिम मोल्नुपर्ने अवस्था छ।

बाढीपछि घट्यो पर्यटकको चहलपहल

विसं २०७२ को भूकम्पले तहसनहस भएको लाङ्टाङ विस्तारै पुनः उठ्दै थियो। त्यसपछि भोटेकोशी नदीको बाढीले स्याफ्रुबेँसी क्षेत्रमा क्षति पुर्याएपछि पर्यटन गतिविधिमा थप असर परेको स्थानीय व्यवसायी बताउँछन्।

ओर्जिनल लामा होटलका सञ्चालक राजु गुरुङका अनुसार बाढीपछि स्याफ्रुबेँसी हुँदै पदयात्रा प्रभावित भएको छ। त्यसको असर लाङ्टाङ आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ। ‘पहिला नेपाली पर्यटनको पनि आकर्षणको केन्द्र थियो। अहिले पर्यटकको सङ्ख्या निकै घटेको छ’, उनले भने।

उनका अनुसार बाढीका कारण पुरानो पदमार्ग प्रयोग गर्न कठिन भएपछि पर्यटकले अहिले ठूलो स्याफ्रु हुँदै यात्रा सुरु गर्नुपर्ने अवस्था छ। पदयात्राको मार्ग परिवर्तन हुँदा पर्यटकलाई आवतजावतमा थप कठिनाइ भएको छ।

यसले होटल, रेष्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा निर्भर स्थानीयको आम्दानीसमेत प्रभावित बनाएको छ। लाङ्टाङमा होटल व्यवसाय सञ्चालन गर्ने सोनाम शेर्पाले निकुञ्जले वार्षिक रु चार लाख लिने गरेको बताउछन्।

पर्यटन व्यवसायबाट आम्दानी गर्न खोज्ने स्थानीयले महँगो शुल्क तिर्नुपरे पनि पदमार्गको अवस्था र व्यवस्थापनमा सुधार नदेखिएको उनको गुनासो छ।

त्यस्तै केन्जिङ गुम्बाका २७ वर्षीय पेम्बा तामाङका अनुसार उक्त क्षेत्रमा करिब ३० घर छन्। स्थानीयले आफ्नै प्रयासमा पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउँदै आएका छन्।

गोसाइँकुण्ड गाउँपालिका–४ का जनप्रतिनिधि लाक्पा तेन्जिङ तामाङ लाङ्टाङ भ्याली पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि तीनै तहका सरकारले प्राथमिकता दिन नसकेको बताउछन्।

स्थानीयले भत्किएको पदमार्ग आफ्नै बलबुतामा मर्मत गरेर पर्यटकलाई गाउँसम्म ल्याउने प्रयास गरिरहेको उनले सुनाए। ‘निकुञ्जको भालुले हामीलाई खायो भने पाँच लाख क्षतिपूर्तिमा चित्त बुझाउनुपर्छ। यदि हामीले ज्यान जोगाउन प्रतिकार गर्दा भालु मर्यो भने आजीवन कैदी बन्नुपर्छ’, उनले भने, ‘के गर्नु ? हाम्रो मूल्य जनावरको जति पनि छैन।’

प्रचुर सम्भावना, व्यवस्थापन कमजोर

लाङ्टाङ उपत्यकाको अर्को चुनौती पदमार्गको अवस्था र फोहर व्यवस्थापन हो। यात्राका क्रममा निकुञ्ज क्षेत्र पार गर्दै लाङ्टाङ भ्याली पुग्दासम्म फोहर सङ्कलन गर्ने डस्टबिन देखिँदैनन्। कतिपय स्थानमा ठूला पहिरो खसेका छन्। जोखिमपूर्ण बाटो हुँदै पर्यटकले यात्रा गर्नुपर्ने अवस्था छ।

तिहारको समयमा लाङ्टाङ पदयात्रामा पुगेका स्याङजाका प्रविन न्यौपानका अनुसार पर्यटकको आकर्षण गन्तव्य भए पनि यहाँ सुरक्षित र व्यवस्थित पदमार्ग बनाउन खासै ध्यान नदिएको गुनासो गरे।

उनले भने, ‘यति सुन्दर ठाउँ छ, फोहर व्यवस्थापन र पदमार्ग व्यवस्थित नुहँदा दुःख लाग्यो।’  नमस्ते होटलका सञ्चालक कर्मा लामा भन्छन्, ‘नेपालीले सफा गर्ने हो भने पदमार्ग फोहर हुँदैन।’

काठमाडौंबाट करिब छदेखि सात घण्टाको बस यात्रापछि ठूलो स्याफ्रु पुगेर लाङ्टाङ पदयात्रा सुरु गर्न सकिन्छ। क्यान्जिन गुम्बा यस क्षेत्रको प्रमुख आर्कषण हो।

त्यहाँबाट करिब चार हजार ९८४ मिटर उचाइमा रहेको ‘त्सेर्को री’ पुगेर वरिपरिका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

हिमाल, हिमनदी, पहाड र उपत्यकाको प्राकृतिक दृश्यसँगै तामाङ तथा शेर्पा समुदायको संस्कृति, परम्परा र जीवनशैलीले लाङ्टाङलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाएको छ।

स्थानीय संस्कृति बुझ्न, हिमाली जनजीवन अनुभव गर्न र पदयात्रामा रमाउन चाहने पर्यटकका लागि यो क्षेत्र विशेष आकर्षणको केन्द्र हो।

नेपाल पर्यटन बोर्डको पदयात्रा गन्तव्यसम्बन्धी वर्गीकरणमा लाङ्टाङलाई सगरमाथा र अन्नपूर्णपछि चर्चित पदयात्रा क्षेत्रका रूपमा लिने गरिन्छ।

यसको वास्तविक सम्भावना उपयोग गर्न पदमार्गको स्तरोन्नति, सुरक्षित आवागमन, स्वास्थ्य सेवाको पहुँच, खाद्यान्न ढुवानीको सहजता र फोहर व्यवस्थापनमा लगानी आवश्यक देखिन्छ। रासस
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३१ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस