पनौती हिलेजात्रा : यौनिकता दर्साउने अनौठो परम्परा
१५ असार २०८३
•
६ मिनेट पाठ
पनौती हिलेजात्रा : यौनिकता दर्साउने अनौठो परम्परा
हरेक वर्षको ‘जेष्ठ शुक्ल पूर्णिमा’का अवसरमा काभ्रेपलाञ्चोकको पनौतीमा हिलेजात्राअर्थात् ज्याःपुन्ही मनाइन्छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी।




जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको परम्परा नै हो। अझ ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यतासमेत यहाँ रहिआएको छ।

यहाँको परम्परा पनि अनौठो, मौसम पनि अनौठो तरिकाले जात्रासँगै मेलोमेसोमा लागेकै पाइन्छ। जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ।

यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र भइरहेको पनि यहाँका स्थानीयसँग अनुभव छ। स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ। यस वर्षको जात्रा गत शनिबारदेखि सुरु भएको छ।

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको हो।

किम्वदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए। त्यसैको स्मरणमा जात्रा मनाउँदै आइएको स्थानीय वृद्ध विकुनारायण ताम्राकार बताउछन्।

करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रुपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर देवतालाई तार्ने काम गरिन्छ।

तीन दिनसम्म मनाइने यो जात्रालाई  निकै ठूलो जात्राका रुपमा लिने गरिन्छ। जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गर्ने चलन छ।

यस्तै सोही दिन इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामका साथ नगर परिक्रमा गराइन्छ। जात्राको मुख्य आकर्षणअर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा ‘यौन क्रियाकलाप’मा रथलाई एकापसमा जुधाउने काम हुन्छ। यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ।

स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन्। महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मक्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन्।

भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ। रथ जुधाइसँगै भव्यरुपमा अबीर जात्रा पनि हुन्छ। लखेट्दै गएर भैरवले चौतर्फी घेरा हाली भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन्।

धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइएको हो। रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती अबिर जात्रासहित रथ जुधाउन तँछाडमछाड गर्छन्। इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो।

विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर पछिल्ला केही वर्षदेखि देवता रुपी रथलाई दिउँसो जुधाउने गरिँदै आएको छ।

जात्राको विधि÷परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू) हरु सुस्तरी हिँड्नुपर्छ। यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने गरिन्छ। कर्माचार्य खोला पारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नाग राजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास रहेको छ।

कुनै वर्ष कारणवश जात्रा रोकिएमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता जनविश्वासकै आधारमा यो जात्रालाई निरन्तरता दिएको छ। अर्को रोचक प्रसङ्ग जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता पनि छ।

जात्रामा चिउली चपाएर जीब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन्। स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गर्छन्। भोजका लागि अधिकांशका घरमा बलि दिने प्रथा अझै कायम रहेको छ।

पनौती धार्मिक रुपले पनि उत्तिकै महत्वको क्षेत्र मानिँदै आएको छ। पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला)लाई काठमाडौंको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रुपमा गनिएको छ।

शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या (भक्ति) गर्दा पापमुक्त भएपछि सोही बेलादेखि १२ वर्षे मकर मेला निरन्तर रुपमा चल्दै आएको जनविश्वास छ।

यस्तै राजा प्रताप मल्लले १७२७ सालमा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्। तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पूण्यमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्यमावती मानिदै आइएको हो। 

स्कन्दपूराणअन्तर्गत हिमवत्खण्ड (नेपाल महात्म्य)मा वर्णन गरिएअनुसार परापूर्वकालमा श्रृष्किर्ता परब्रम्हाले ‘अहिल्या’ सुन्दरी सिर्जना गरी दश इन्द्रिया वशमा राख्नसक्ने गौतम ऋषिलाई नासोको रुपमा सुम्पिएपछि यो कुरा थाहा पाएका देवराज इन्द्रले अहिल्याको रुपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्व हरण गरेका थिए।

स्नान गरी फर्कंदा इन्द्रबाट अहिल्याको सतित्व हरण भएको थाहा पाएपछि रिसले चुर भएका ऋषिले उनलाई ‘जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएँ’ भनेपछि इन्द्रमा हजारौँ योनीहरु पाप चिन्हका रुपमा देखिएको कथन छ।

सतित्व हरणपछि पत्थर झैँ विवेकरहीत अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएको र त्रेता युगमा मर्यादापुरुष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्शपछि उनको श्राप मोचन भयो भनिएको छ।

अर्को किम्वदन्तीअनुसार पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिकहरु फुल्चोकीमाई कहाँ पूजापाठ गरी पानी माग्थे। दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहेपछि फुल्चोकी माताले जसले पहिले चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भन्नुभएको थियो।

यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले सोहीअनुसार फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मूलाको फूल (सुन र चाँदीजस्तो देखिने)चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मूला, तोरी र साग खेती गर्नेलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाएकी थिइन्।

छ वर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि वरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन्। यसपछि छ÷छ वर्षको अन्तरमा गोदावरी मेला र १२÷१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ।

जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणीमा हरेक वर्ष माघ महिनामा साँखु र भक्तपुरका माधवनारायण देवतालाई यहाँ ल्याई दुई दिनसम्म राखिने पनि गरिन्छ। बाह्रवर्षे मकर सङ्क्रान्तिमा पनौतीस्थित त्रिवेणीघाटमा एकमहिने मकर मेला लाग्ने गर्दछ।

मेलामा उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गर्दछन्। उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ। 
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१५ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस