पेडा मिठो बरमझियाको
१० माघ २०८२
•
५ मिनेट पाठ
पेडा मिठो बरमझियाको
पूर्व–पश्चिम राजमार्ग भएर यात्राको क्रममा सप्तरीको कञ्चनपुर नगरपालिका–२, बरमझिया पुगेपछि राजमार्गसँगै लम्बिएको पेडा बजारमा एकछिन जो पनि अलमलिन्छ।




यहाँ उस्तै उस्तै नामका झन्डै एक सयवटा पेडा पसल छन्। पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने मेचीदेखि महाकालीका यात्रुलाई यहाँको पेडाले मिठो स्वाद दिएको छ। स्वाद मात्र होइन, बरमझियाको पेडा उद्योगले सप्तरी, सिरहा, उदयपुर, सुनसरी र झापाका पशुपालक किसानलाई उत्साहित र प्रोत्साहितसमेत गरेको छ।

यहाँ सयको हाराहारीमा सञ्चालित पेडा पसल सबै गुणस्तरीय भने छैनन्। सबै पसलेले अघिल्तिर ‘असली’, ‘पुरानो’ जस्ता शब्द झुन्ड्याएका छन्। जसले गर्दा असली पेडा पसलको खोजीमा अधिकांश ग्राहक झुक्किने गरेका छन्। असली बुढो बाजेले खोलेको पेडा पसल भने सशस्त्र प्रहरीको ब्यारेक छेउमै छ।

बरमझियामा निकै पहिलेदेखि भैंसीपालन क्षेत्र भएको राजकुमार साहले बताए। दुधको कमी कहिल्यै भएन। पछिल्लो समय पेडाका निम्ति प्रसिद्ध भएपछि आफ्नो क्षेत्रले मुलुकभरि पहिचान पाएकोमा उनलाई गर्व लागेको छ।

‘पेडाकै निम्ति गाउँको दुधले मात्र नपुगेर हरेक बिहान उदयपुर, सुनसरी सिरहादेखि ओसार्ने गरिन्छ,’ उनले थपे, ‘दैनिक चारपाँच हजार लिटर दुध त पेडामै जान थालेको छ।’ यो ठाउँले पेडाको पहिचान बनाउँदै गएपछि स्थानीय किसान र व्यवसायीलाई लाभ मिल्न थालेकोमा उनी खुसी छन्।

बरमझियामा पेडा बनाउन सुरुवात गर्ने व्यक्ति बैजनाथ साह हुन्। ‘श्री बैजनाथ साह पेडा भण्डार’का संस्थापक बैजनाथ साहको २०६९ साउनमा निधन भयो। परिवारका बाँकी सदस्यले पसल चलाइरहेका छन्। चौथो पुस्तामा चलिरहेको यो पसल अकल साहले सुरु गरेका हुन्। यहाँ पेडा भिœयाएको भने उनका छोरा बैजनाथले हो। बैजनाथका दुई छोरा छन्, जेठा जयराम र कान्छा राजकुमार।

जेठा जयराम मोरङमा छन् भने कान्छा राजकुमार निजी स्कुलमा पढाउँछन्। राजकुमारका छोरा विवेक साहले पुस्तैनी पेसालाई निरन्तरता दिइरहेका छन्। उनलाई आफैं पनि पेडा बनाउन आउँछ।

बैजनाथसँग जगेश्वरी साह बिहे गरेर आउँदा ससुराको मिठाई पसल थियो। पेडा बनाउने चलन भने थिएन। त्यतिबेलै बैजनाथ काम विशेषले सुनसरीतिर गएका थिए। त्यहाँबाट फर्किएर आएपछि नै उनले पेडा बनाउन थालेको परिवारजन बताउँछन्।

सुनसरी पुगेका बेला कुनै मिठाई पसलमा पेडा बनाएको देखेपछि बैजनाथले यो परिकार यहाँ भित्र्याएका रहेछन्। दुधलाई घोटेर पेडा बनाउने तरिका सजिलो थियो। पेडा बनाउन सिकेर आएका बैजनाथले घरमा भनेछन्, ‘मैले एउटा नयाँ मिठाई बनाउन सिकेर आएको छु, सजिलै छ। त्यो यहाँ बनाउन सके राम्रो चल्छ।’ बैजनाथले पेडा बनाउन थालेपछि त्यसैको देखासिकी वरपरका सबैले गर्न थाले। बिस्तारै यहाँको पेडा लोकप्रिय हुँदै गयो। लोकप्रियतासँगै पेडा पसलहरू पनि थपिँदै गए।

गिरिजाबाबुदेखि दरबारसम्मलाई मनपर्ने पेडा

बरमझियाको पेडाको स्वादले पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने सबैलाई तानेको थियो नै। बैजनाथ साहको पेडाको स्वादले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई पनि लोभ्याएको रहेछ। ‘एकदिन अचानक गिरिजाबाबु यहाँ आइपुग्नुभएछ,’ हजुरबुबाले सुनाएको घटना सम्झँदै विवेकले भने, ‘चिउरा र दुधको छालीसँगै पेडा खाएर जानुभएछ।’ कोइरालाले स्वाद मानेर खाएको पेडाको चर्चा सबैतिर फैलियो। ‘हुँदाहुँदा दरबारबाट पनि कुनै विशेष समारोह हुँदा यहाँको पेडा मगाउन थालिएको थियो,’ उनले सम्झे, ‘प्रत्येक कार्यक्रममा ५०–६० किलो पेडा दरबार जाने गरेको थियो।’

यसरी बनाइन्छ पेडा

पेडा दुधबाट बन्छ। दुध तताएर बाक्लो भएपछि चिनी हालिन्छ। त्यसपछि थप तताएर सुकाइन्छ। यसरी बनेको दुधको खुवाबाट पेडा बनाइन्छ। यसमा दुध र चिनीबाहेक अतिरिक्त केही प्रयोग गरिँदैन। विवेकले अरू पसलमा भने अरूथोक पनि हाल्छन् भन्ने गुनासो ग्राहकले गरेको सुनाए। बैजनाथ सुरु–सुरुमा आफैं दुध घोट्थे। व्यवसाय बढ्दै गएपछि उनले कामदार राख्न थाले। ‘दैनिक ठुलो मात्रामा पेडा बिक्न थालेपछि फुर्सद पाउनै गाह्रो हुन्थ्यो,’ विवेक भन्छन्, ‘जीवनको अन्तिम कालसम्म हजुरबुबालाई चित्त नबुझेर दुध घोट्ने काम बेलाबेलामा आफैं गर्नुहुन्थ्यो।’ अहिले खुवा घोट्ने विद्युतीय मेसिन भित्र्याएपछि माग धान्न सहज बनेको छ।

नाम मात्र होइन, सुगाको पनि नक्कल

पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझिया पेडाका लागि प्रसिद्ध छ। पेडा त्यसमा पनि बैजनाथको नाम जोडिएपछि सबैको ध्यान खिचिन्छ। बैजनाथको पेडा पसलअघि ठुला अक्षरमा लेखिएको नामको मात्र नक्कल भएको छैन। उनले सुगा पालेपछि अरूले पनि पाल्न थालेछन्। ‘हामीले सुगा पालेका कारण असली भनेर देखाउन अरूले पनि सुगा पाले,’ विवेक भन्छन्, ‘हाम्रो सुगा त अहिले छैन, केही पसलमा अझै सुगा छ।’

बैजनाथले पेडा बनाउन सुरु गरेको सात दशक बढी भएको छ। बरमझियाका अधिकांश पेडा पसल बैजनाथको पसलमा काम सिकेकाले खोलेका हुन्।

बरमझियालाई देशविदेश चिनाउने काम बैजनाथको पेडा पसलले गरेको छ। बरमझियालाई पेडा ब्रान्डको रूपमा स्थापना गरेका बैजनाथको नाति पुस्ताले पसल धानिरहेको छ। बैजनाथका नाति विवेकले बाजेको पेडा पसल सम्हालिरहेका छन्। पसलको माथिल्लो भागमा ‘श्री बैजनाथ साहको पेडा भण्डार’ लेखिएको बोर्ड राखिएको छ। ब्रान्ड छुट्याउन राखिएको बोर्डको दायाँबायाँ बैजनाथको फोटो पनि छ। पसलभित्र काउन्टर नजिक स्व. बैजनाथ साहको तस्बिर राखिएको छ।

पेडाबाट काम, नाम र दाम

पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेमध्ये सप्तरीको बरमझियाबारे नसुनेका सायदै होलान्। बरमझियाबारे बुझेकाले यहाँको पेडा नचाख्ने कुरै भएन। पेडा किन्नैका लागि यहाँका पसलमा दैनिक सयौं यात्रु ओर्लन्छन्, रोक्किन्छन्। मिठो मानेर पेडा खान्छन् र कोसेलीका रूपमा लैजान्छन्। सय लिटर दुधबाट बढीमा २० किलो पेडा बन्छ। बरमझियाको पेडा गुणस्तरीय हुने ग्राहकको विश्वास छ, यही विश्वासले यहाँको पेडा व्यवसाय राम्रो रहेको विवेकले बताए।

यहाँका पेडा पसलमा दैनिक पाँच हजार लिटरभन्दा बढी दुध खपत हुन्छ। जसका कारण यहाँका व्यवसायीले मात्रै होइन, किसानले पनि रोजगारी पाएका छन्।

काम मात्रै होइन, बरमझियावासीले पेडा व्यवसायबाटै नाम पनि कमाएका छन्। पेडा व्यवसायले बरमझियालाई काम, दाम र नाम दिएको छ। काम, दाम र नामसँगै बरमझियाको पेडाको गुणस्तर जोगाइराख्ने चुनौती पनि थपिएको छ।

बैजनाथ पेडा भण्डारमा पेडासँगै खाजा, खुवा, घिउ, लड्डु, बर्फीसमेत पाइन्छ। यहाँको पेडाजस्तै खाजा र खुवाका पारखी पनि प्रशस्तै रहेको विवेक बताउँछन्। यहाँ पेडा प्रतिकिलो आठ सय, खाजा प्रतिकिलो ६ सय, खुवा प्रतिकिलो आठ सय ५०, लड्डु प्रतिकिलो ६ सय र सुगर फ्री पेडा प्रतिकिलो एक हजार रुपैयाँमा पाइन्छ। बैजनाथको पसलमा मूल्यसूची काउन्टर नजिक झुन्ड्याइएको छ। अहिले यस पसलमा रसभरी, गुलाब जामुन, काजु बर्फी, पिस्ता बर्फीजस्ता परिकार थपिएका छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस