यही साउन २ गते शुक्रबार, घरधन्दा सकेर मेलापात जाने तरखरमा पानी परेपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छोडिन्।
मेलापात जाँदा फोन कसले गर्छ र? विदेशमा मजदुरी गर्ने श्रीमान् र काठमाडौँमा प्लस टु पढ्ने छोरासँग साँझ-बिहान नियमित कुरा हुन्थ्यो। त्यसैले उनले मोबाइल बोक्न जरुरी ठानिनन्।
मेलापात सकेर घर फर्कँदा मोबाइलमा नयाँ नम्बरबाट मिस्डकल देखिन्। काम गर्दागर्दै फोनको घण्टी बज्यो। उनले फोन उठाइन्। फोन काठमाडौँस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको थियो। फोनमा बोल्ने व्यक्तिले उनको परिचय खोतल्न थाले। नाम, ठेगाना र परिवारबारे केही प्रश्न सोधे। उनले सबै जवाफ दिइन्।
एनसेलका प्रतिनिधिले उनलाई सोमबार एनसेल मुख्यालयमा आउन भने। उनले कारण सोधिन्। 'तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, काठमाडौँ आउनुस्,' भन्ने जवाफ आयो। उनले पछि आउने बताइन्। त्यसपछि राम्रो पुरस्कार परेको र सोमबार नै एनसेल कार्यालयमा सम्पर्क गर्न भनियो।
'पुरस्कारको फोन आएपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ,' उनले भनिन्, 'सुरुमा पुरस्कार पाएको कुरा कसैलाई विश्वास लागेन। फोन गरेर कसैले झुक्याएको हो कि भन्ने कुरा भयो।'
तर काठमाडौँमा रहेका देवरले भनेपछि राम्रो उपहार परेको हो कि भन्ने लाग्यो। देवरले एकपटक काठमाडौँ आउन सुझाएपछि उनलाई साँच्चै पुरस्कार हो कि भन्ने लाग्यो।
उनले मेलापातको काम छोडेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबार काठमाडौँका लागि गाडी चढिन्। भोलिपल्ट बिहान उनी छोरा, देवरसहित लैनचौरस्थित एनसेल कार्यालय पुगिन्।
'एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको थाहा थिएन,' शुक्रबार एनसेलको बम्पर उपहार पाएपछि उनले भनिन्, 'अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको जानकारी दिए, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिनँ।'
कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध झण्डै आठ वर्ष पुरानो छ। 'स्थानीय आरुघाट बजारमा सात-आठ वर्षअघि किनेको सिमकार्ड हो, बेलाबेला एनसेलको ९९ को प्याक लिन्थेँ,' उनले भनिन्, 'आज त्यही प्याकले एक करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुख हट्ने भयो भन्ने लाग्छ।'
उनको जीवन धेरै दुख र पीडाले बितेको छ। जीवन सहज बनाउन श्रीमान्सँगै मिलेर कडा सङ्घर्ष गरेको कुरा उनको मनमा ताजै छ। श्रीमान्ले विदेशमा र उनले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रूपमा गाउँमा काम गरेको झण्डै डेढ दशक बितिसकेको छ।
यद्यपि उनलाई अझै भनेजस्तो भएको छैन। 'कहिलेकाहीँ जति गरे पनि केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो भएन, तैपनि कर्म गरिरहेँ,' उनले भनिन्। उनको जीवनमा ठूलो आघात तब आयो, जब बारपाक केन्द्रबिन्दु भएको भूकम्प गयो। विसं २०७२ वैशाखको भूकम्पले सर्न ठिक्क परेको घर भत्कियो, त्यति मात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनुपर्यो।
धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका–६ बाङ्गेपीपल बसेरीमा उनको सानो घर छ। विदेशमा श्रीमान्ले कमाउनेबाहेक अरू आयस्रोत छैन। यद्यपि महिला स्वयंसेविकाका रूपमा थोरै भत्ता आउँछ। त्यसबाहेक मकै, कोदो, धानखेती र सिजनअनुसारको तरकारी फलाउँछिन्।
गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उनले स्कूल छोडिन्। एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो। केही वर्षपछि छोरा जन्मियो। आर्थिक रूपमा कमजोर भएकाले श्रीमान् धन कमाउन विदेश गएपछि घर सम्हाल्ने जिम्मा उनको काँधमा आयो।
खाडीको चर्को गर्मीमा श्रीमान्ले ज्यान जोखिममा राखेर काम गरेर खर्च पठाउँथे। त्यही रकमले घरखर्च चलाउँथिन्। तर विदेशमा पनि भनेजस्तो कहाँ हुन्छ र? कुवेतमा रहँदा एक दिन श्रीमान् बाथरुममा अचेत भएर लडे। साथीहरूले थाहा पाएर अस्पताल लगेपछि ज्यान बाँच्यो। केही वर्ष विदेशमा दुख गरे पनि अपेक्षा गरेजस्तो प्रगति नभएपछि उनले श्रीमान्लाई नेपालमै जागिर गर्न सुझाइन्।
'विदेशमा उनले गरेको दुख थाहा छ, रोगले च्याप्दा पनि काम गरिरहन्थे, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋण गरेर काठमाडौँमा पसल सुरु गर्यौँ,' उनले विगत सम्झिँदै भनिन्। तर भाग्यले त्यहाँ पनि ठग्यो। ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा डुब्यो। लगानी निमेषभरमै खेर गयो।
ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन। नौ लाखमा सुरु गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन। चर्को ब्याजदरको ऋण र बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुगे। तर त्यहाँ पनि भनेजस्तो काम पाएनन्। ऋणको बोझले जागिर छोडेर घर आउन दिएन, त्यसैले उनी अहिले पनि बहराइनमै छन्। 'दुई वर्षपछि आउने भन्नुभएको थियो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ,' उनले भनिन्।
बहराइनमा श्रीमान्को शरीरमा नयाँ रोग थपियो, एलर्जी। कहिले शरीर सुन्निन्छ, कहिले एलर्जीले गाह्रो बनाउँछ। तैपनि काम गरेर महिनामा १५-२० हजार पठाइरहन्छन्। यो रकमले जेनतेन ऋणको ब्याज तिर्न पुगेको उनले बताइन्।
एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम उनको खातामा आएको छ। यो रकम उनको लागि ठूलो हो। यसले जीवन सहज बनाउने उनको विश्वास छ।
प्राप्त रकमले पहिलो काम ऋण तिर्ने योजना छ। लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने सोच्दा उनी खुसी छिन्। 'यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्न रोगी शरीर घोटिनु परेन,' उनले भनिन्।
ऋण तिरेपछि बचेको पैसाले नेपालमै श्रीमान्-श्रीमती मिलेर केही उद्यम गर्ने उनको सोच छ। 'यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमान्लाई नेपालमै राखेर दुवै जना काम गर्छौं,' उनी भन्छिन्। साथमा छोराले प्लस टु पढिरहेको छ। उसको पढाइमा पनि ठूलो खर्च हुन्छ। बाँकी पैसा छोरालाई पढाउन खर्च गर्ने उनको योजना छ। कमलकुमार बस्नेत/रासस