जानकी मन्दिरको गद्दीमा रस्साकस्सी : महन्त अडिग, उत्तराधिकारी सक्रिय
०८ साउन २०८३
•
५ मिनेट पाठ
जानकी मन्दिरको गद्दीमा रस्साकस्सी : महन्त अडिग, उत्तराधिकारी सक्रिय
जनकपुरधामस्थित जानकी मन्दिरमा नयाँ महन्त नियुक्तिका लागि गुठी संस्थानले प्रक्रिया अगाडि बढाएको छ। महन्त रामतपेश्वर दास वैष्णवको पाँच वर्षे नियुक्ति अवधि सकिएपछि संस्थानले पुनः महन्त नियुक्त गर्ने तयारी थालेको हो।




महन्त दासको नियुक्ति अवधि समाप्त भएको लामो समय बितिसक्दा पनि उनले कार्यभार नछाडेपछि गुठी सञ्चालन ऐनअनुसार नयाँ महन्त नियुक्तिको प्रक्रिया अघि बढाइएको हो। करिब २० वर्षदेखि उनी जानकी मन्दिरका महन्तका रूपमा रहेका छन्। तर यसपटक उनलाई विस्थापित गर्दै उत्तराधिकारी महन्त रामरोशन दास मुख्य महन्त बन्ने दौडमा सक्रिय देखिएका छन्।

रामरोशन दासमाथि फर्जी उत्तराधिकारी परिचयपत्र बनाएको आरोप लागेपछि विवाद अदालत पुगेको थियो। केही महिनाअघि अदालतले उत्तराधिकारसम्बन्धी विवादमा फैसला गरेको थियो।

अदालतको फैसला रामरोशनको पक्षमा आएपछि गुठी संस्थानले उनलाई अनुकूल हुने गरी नयाँ मुख्य महन्त नियुक्तिको प्रक्रिया अघि बढाएको हो।

महन्त रामतपेश्वरको नियुक्ति अवधि सकिएको वर्षौं बितिसक्दा पनि संस्थानले त्यसतर्फ खास चासो दिएको थिएन। तर रामरोशनको उत्तराधिकारसम्बन्धी विवाद समाधान भएको केही महिनामै नयाँ महन्त नियुक्तिको प्रक्रिया सुरु भएपछि उनकै पहलमा संस्थान सक्रिय भएको संकेत मिलेको छ।

यसपटक रामरोशन महन्त रामतपेश्वरलाई हटाएर स्वयं मुख्य महन्त बन्ने प्रयासमा छन्। जसरी पनि नियुक्तिपत्र प्राप्त गर्ने उद्देश्यसहित उनी प्रतिस्पर्धामा उत्रिएका छन्। उनीनिकट स्रोतका अनुसार उत्तराधिकार विवाद पहिल्यै समाधान भएको भए उनी यसअघि नै महन्त बनिसक्ने थिए। केही महिनाअघि मात्रै उक्त विवाद टुंगिएपछि उनी अहिले मुख्य लक्ष्यतर्फ केन्द्रित भएका छन्।

महन्त रामतपेश्वरले आफू बिरामी भई उपचारका लागि बाहिर रहेका बेला किर्ते हस्ताक्षर गरी आफूलाई जानकी मन्दिरको उत्तराधिकारी महन्त घोषणा गरिएको आरोप लगाएपछि विवाद अदालत पुगेको थियो। तर उनीमाथि लगाइएका आरोप पुष्टि नभएपछि अदालतले रामरोशनको पक्षमा फैसला सुनाएको थियो।

अदालतको फैसलापछि उत्साहित रामरोशन यसपटक मुख्य महन्त बन्ने तयारीमा छन्। आवश्यक समन्वय र पहलमार्फत महन्त रामतपेश्वरलाई हटाएर गद्दीमा पुग्ने रणनीतिमा रहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार रामरोशनले गुठी संस्थान शाखा कार्यालय, जनकपुरका प्रमुख किशोरकुमार झासँग प्रारम्भिक छलफल गरिसकेका छन्।

जनकपुर शाखाबाट सकारात्मक संकेत पाएपछि उनी गुठी संस्थानको केन्द्रीय कार्यालय काठमाडौंमा समेत सक्रिय भएका छन्। गुरु–शिष्य परम्पराभन्दा गुठी संस्थान ऐनअनुसार महन्त नियुक्त गर्न सर्वोच्च अदालतले निर्देशन दिएपछि उनी संस्थानमा सक्रिय रूपमा दौडधुप गरिरहेका छन्।

स्रोतका अनुसार गुठी संस्थान, जनकपुर शाखाका प्रमुखले पनि रामरोशनलाई महन्त बनाउन चाहेको चर्चा छ। तर शाखा प्रमुख किशोरकुमार झाले आफूले कुनै व्यक्तिको नाम सिफारिस नगरेको बताएका छन्।

उनले भने, “२०७० माघ १७ गते गुठी संस्थानले रामतपेश्वर दासलाई हटाएर जगदीश दास वैष्णवलाई महन्त नियुक्त गरेको थियो। त्यसविरुद्ध रामतपेश्वर सर्वोच्च अदालत जानुभएको थियो। सर्वोच्चले उहाँकै पक्षमा फैसला गरेपछि हालसम्म उहाँ नै महन्त हुनुहुन्छ।”

झाले थप भने, “२०८०–८१ मा सर्वोच्च अदालतले पुजारीलगायत जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार महन्त नियुक्त गर्न आदेश दिएपछि सोहीअनुसार प्रक्रिया अघि बढाइएको हो। रामतपेश्वर दास पुनः महन्त बन्न निवेदन दिनुहुन्छ वा रामरोशन आउनुहुन्छ, त्यो उहाँहरूको विषय हो। हामी गुठी ऐनअनुसार प्रक्रिया मात्रै अघि बढाइरहेका छौं।”

गुठी संस्थानले महन्त नियुक्तिको प्रक्रिया अघि बढाएपछि आफू पनि इच्छुक रहेको उत्तराधिकारी महन्त रामरोशनले बताएका छन्।

उनले भने, “अहिलेका महन्तको उमेर ७५ वर्ष नाघिसकेको छ। उहाँ आफैं हिँड्न सक्नुहुन्न, उठाउन–बसाल्न दुई जना मानिस चाहिन्छ। तपाईंहरू पनि सहयोग गर्नुस्, हामीलाई अवसर दिनुस्, जानकी मन्दिर राम्रोसँग चलाएर देखाउँछु।”

उनले थप भने, “बुढो महन्तबारे पनि समाचार लेख्नुस्। उहाँ जबर्जस्ती लामो समयदेखि महन्त भएर बस्नुभएको छ। सरकारले जानकी मन्दिरमा हस्तक्षेप गरे सरकार तीन टुक्रा हुन्छ भनेर उहाँले बोलेको अडियो पनि सार्वजनिक गर्नुस्।”

जानकी मन्दिरनिकट स्रोतका अनुसार रामरोशन अहिले मुख्य महन्त बन्ने अभियानमा छन्। त्यसका लागि उनले पहिले महन्त रामतपेश्वरलाई विश्वासमा लिने, नभए अन्य विकल्प अपनाएर पनि यसपटक मुख्य महन्त बन्ने प्रयास गरिरहेका छन्।

स्रोतका अनुसार महन्त रामतपेश्वर सहमत नभएपछि गुठी संस्थानको केन्द्रीय कार्यालयका पदाधिकारीलाई आर्थिक प्रभावमा पारेर नियुक्ति लिने प्रयाससमेत भइरहेको चर्चा छ। मन्दिरमा आयोजना हुने विभिन्न कार्यक्रममा पनि रामरोशनको सक्रियता मुख्य महन्तभन्दा बढी देखिन थालेको बताइन्छ।

रामरोशनको प्रभाव बढ्दै गएपछि महन्त रामतपेश्वरले आफूले कसैलाई उत्तराधिकारी महन्त नियुक्त नगरेको र रामरोशनले किर्ते हस्ताक्षर गरी आफूलाई उत्तराधिकारी घोषणा गरेको दाबी सार्वजनिक रूपमा गर्दै आएका थिए। त्यसपछि विवाद अदालत पुगेको थियो। अदालतले हस्ताक्षर किर्ते नभएको ठहर गरेपछि उत्तराधिकारसम्बन्धी विवाद साम्य भएको हो।

महन्त रामतपेश्वर दास र उत्तराधिकारी महन्त रामरोशन दास नाताले मामा–भान्जा हुन्। उनीहरूबीच शक्ति र स्रोतको विषयलाई लिएर लामो समयदेखि आन्तरिक विवाद रहँदै आएको छ। विशेषगरी जानकी मन्दिरमा कुनै ठूलो कार्यक्रम हुँदा उक्त विवाद सार्वजनिक हुने गरेको छ।

सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवका बेला उनीहरूबीचको विवाद सञ्चारमाध्यममार्फत बाहिर आएको थियो। त्यसबेला महन्त रामतपेश्वरले मन्दिरको जिम्मेवारी दिएका रामरोशनमाथि अपारदर्शितासहित विभिन्न आरोप लगाएका थिए। त्यसपछि मन्दिरभित्रको विवाद सार्वजनिक भएको थियो।

महन्त दासले रामरोशनलाई ‘स्वघोषित उत्तराधिकारी महन्त’ भन्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि विवाद थप चर्किएको थियो। तर केही दिनपछि उनले आवेगमा आएर त्यस्तो अभिव्यक्ति दिएको स्वीकार गरेका थिए।

यसअघि गुठी संस्थानले रामतपेश्वर दासले गुठीको जग्गा अतिक्रमण गरेको र नियुक्तिको सर्तअनुसार आय–व्यय विवरण नबुझाएको आरोप लगाउँदै उनलाई हटाएर जगदीश दास वैष्णवलाई महन्त नियुक्त गरेको थियो।

जगदीश दास वैष्णवलाई महन्त नियुक्त गरिएपछि जानकी मन्दिरमा महन्त गुरु–शिष्य परम्पराबाट नियुक्त हुनुपर्ने माग गर्दै रामतपेश्वर पक्षधर आन्दोलनमा उत्रिएका थिए। आन्दोलनका क्रममा गुठी संस्थान, जनकपुर शाखामा तालाबन्दीसमेत गरिएको थियो।

त्यसै क्रममा तत्कालीन गुठी प्रमुख दीपक पाण्डेलाई कालोमोसो दलेको अभियोगमा जिल्ला अदालतले रामतपेश्वर दासलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१५ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस