एकैछिन पानी पर्दैमा किन जलमग्न हुन्छ जमल र माइतीघर ?
२० साउन २०८३
•
१० मिनेट पाठ
एकैछिन पानी पर्दैमा किन जलमग्न हुन्छ जमल र माइतीघर ?
लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ। उनलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन ?’ भन्ने चिन्ताले बढी सताउँछ। घरबाट कार्यालय पुग्ने दैनिक यात्रा नै वर्षायाममा उनका लागि तनावको विषय बनेको छ।




‘पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ। सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको डर। मनसुनभर अफिस जाँदा–आउँदा एउटा मात्रै कामना हुन्छ—पानी परे पनि जमल नडुबोस्।’

यस्तै अनुभव छ मनमैजुकी मलिन न्यौपानेको पनि। वर्षायाममा घर फर्किने बेला उनको पहिलो चासो मौसमभन्दा पनि जमलको सडकको अवस्था हुन्छ। ‘वर्षामा जमल डुबेको त छैन भन्ने चिन्ता लाग्छ’ उनी भन्छन्, ‘अरू ठाउँमा पनि पानी जम्छ तर जमलमा त सडक नै नदीजस्तो हुन्छ। सवारीसाधन चलाउनै गाह्रो हुन्छ, सवारी चापले घण्टौँ अल्झिनुपर्छ।’

उनीहरू त उदाहरणको पात्रमात्रै हुन्। जमल हुँदै दैनिक आवतजावत गर्ने हजारौँ सर्वसाधारणका लागि वर्षा दैनिक जीवनलाई प्रभावित गर्ने अर्को चुनौती बनेको छ।

केहीबेरको वर्षाले सडक जलमग्न हुँदा उनीहरूको यात्रा अनिश्चित, जोखिमपूर्ण र कष्टकर बन्दै गएको छ। माइतीघरपछि जमल पनि काठमाडौंको सहरी डुबानको अर्को संवेदनशील केन्द्रका रूपमा चिनिन थालेको छ।

हरेक मनसुन अवधिमा जलमग्न हुने काठमाडौं उपत्यका विभिन्न स्थानमध्ये एक हो उपत्यकाको मुख्य व्यावसायिक केन्द्रका रुपमा रहेको जमल आसपासको क्षेत्र पनि। वर्षायाममा डुबानको समस्या यस क्षेत्रका लागि पनि नयाँ होइन।

भारी वर्षाबिना नै जलमग्न हुने यस क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि ठोस कदम नचाल्दा समस्या बल्झिएको हो। बर्सेनि मनसुन याममा केही घण्टाको वर्षाले नै सडक नदीजस्तै बन्छ। सवारीसाधन अस्तव्यवस्त भई सवारी चापले सर्वसाधारणहरू हैरान हुन्छन्।

वरपरका व्यापार–व्यवसाय प्रवावित हुन्छ। पैदलयात्रीलाई हिँड्नै कठिन हुन्छ। बर्सेनि जमल क्षेत्र डुबानमा परेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को संयोजकत्वमा काठमाडौं महानगरपालिका सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्राविधिकहरूको संयुक्त टोलीले स्थलगत अध्ययन गरी समस्याको मूल कारण र समाधानका उपायसहित प्रतिवेदन तयार गरेको छ।

असन्तुलित जल प्रवाह र निकास क्षमताको कमीका कारण जमल जलमग्न हुने गरेको प्रतिवेदनको निष्कर्ष रहेको छ।

जमल क्षेत्रमा देखिएको डुबान र ढल निकाससम्बन्धी समस्या पहिचान गर्न गठित प्राविधिक समितिको उक्त प्रतिवेदन जमल डुबानको समस्या काठमाडौंको सहरी पूर्वाधार व्यवस्थापनको गम्भीर चुनौतीका रूपमा औँल्याएको छ।

 मुख्य कारणः असन्तुलित जल प्रवाह

प्राविधिक टोलीले गरेको अध्ययनले जमल क्षेत्रको मुख्य समस्या असन्तुलित जलप्रवाह रहेको देखाएको छ। प्रतिवेदनअनुसार जमल क्षेत्रमा चार फरक दिशाबाट ठूलो परिमाणमा वर्षाको पानी जम्मा हुन्छ।

प्रतिवेदनअनुसार ज्याठातर्फबाट ६० सेन्टिमिटर डाइमिटर पाइप, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर डाइमिटर पाइपमार्फत पानी आउने गरेको छ।

यसैगरी यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर डाइमिटर पाइप, जनप्रशासन परिसरबाट २० सेन्टिमिटर डाइमिटर पाइपबाट पानी आउने गरेको अध्यायन प्रतिवेदनको निष्कर्ष रहेको छ। अन्य मुख्य सडक क्षेत्रबाट सतही पानी जमलतर्फ केन्द्रित हुने गरेको छ।

यी सबै क्षेत्रबाट आउने पानीको कुल इनफ्लो क्षेत्रफल करिब ०.८२६ वर्गमिटर बराबर रहेको छ। तर बाहिर निकास गर्ने पाइपको क्षमता भने ०.२८३ वर्गमिटरमात्रै छ अर्थात् करिब १२० सेन्टिमिटर डाइमिटर बराबरको पानी जम्मा हुने प्रणालीलाई ६० सेन्टिमिटर डायमिटरबराबरको निकास प्रणालीले मात्र धान्नुपर्ने अवस्था छ।

यही क्षमताको असन्तुलन नै डुबानको मुख्य कारण भएको प्रतिवेदनले औँल्याएको छ। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकासेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताइन्।

‘यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि गुरूयोजना बनाएर काम गर्नेछौँ’, उनले भनिन्।  

टुुकुचा खोलासँग जोडिएको अर्को समस्या

प्रतिवेदक तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले टुकुचा खोलाको पानीको सहत र ढल निकासको अन्तिम बिन्दु बीचको तहको भिन्नता न्यून रहेका कारण अविरल वर्षाको समयमा खोलाको पानीको बहावले ढल निकासलाई बाधा पुर्याएको बताइन्।

‘जमलको ढल प्रणाली टुकुचा खोलामा मिसिन्छ। तर टुकुचा खोलाको सतह र ढल निकासको अन्तिम बिन्दुबीच उचाइको अन्तर निकै कम भएकाले खोलामा पानी बढ्नेबित्तिकै ढलको पानी बाहिर निस्कन सक्दैन’, उनले भने, ‘खोलाको बहाव बढ्दा पानी उल्टै ढलभित्र फर्कने अवस्था सृजना हुने भएकाले सडकमा पानी थुप्रिने गरेको देखियो।’

केसीका अनुसार ढल तथा डक वा सार्वजनिक स्थानमा वर्षाको पानी ढल प्रणालीमा पठाउन बनाइएको सानो संरचना (क्याचपिट)हरूमा जमेको फोहर, बालुवा र गेग्रानलाई पनि अर्को मुख्य समस्या रहेको छ।

‘धेरै स्थानका पाइप तथा म्यानहोल नियमित सफा नभएकाले पानीको बहाव अवरुद्ध भएको देखिएको छ । केही स्थानमा ढलभित्र जमेको माटोले पाइपको वास्तविक क्षमता निकै घटाएको छ’, उनले भने, ‘यसका कारण सामान्य वर्षामै पनि पानी सडकमा निस्कने अवस्था बनेको पाइयो।’

यस्ता छन् तत्काल गर्नुपर्ने काम

प्राविधिक समितिले तत्काल कार्यान्वयन गर्नुपर्ने चार प्रमुख उपाय सुझाएको छ। पहिलो, सडक डिभिजन, काठमाडौं महानगरपालिका र केयुकेएलले सबै पाइप लाइन, ढलको पाइप निरीक्षण, मर्मत र सफाइका लागि बनाइएको प्रवेश कक्ष (म्यानहोल) र क्याचपिट नियमित रूपमा सफा गर्नुपर्ने अध्ययनको सुझाव रहेको छ।

जल तथा मौसम विभान विभागबाट प्राप्त वर्षा पूर्वानुमान र डुबान चेतावनीका आधारमा सम्बन्धित निकायले सवारी आवागमनको व्यवस्थापन समयमै गर्नुपर्ने अध्ययनले सुझाव दिएको छ।

यसैगरी जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण गरी सतहमा जम्मा हुने पानीलाई छिटो निकास दिनुपर्ने अध्ययनको सुझाव छ। काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको सतह (बेडलेभल) सफा गरी पानीको बहाव सहज बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

मध्यमकालीन समाधान उपाय

समितिले तत्काल सरसफाइले मात्रै समस्या समाधान नहुने निष्कर्ष निकालेको छ। प्रतिवेदनअनुसार अहिलेको ६० सेन्टिमिटरको मुख्य निकास पाइप हटाएर ठूलो क्षमताको ट्रङ्क लाइन निर्माण गर्नुपर्ने आवश्यकता छ।

यसैगरी जमल क्षेत्रमा केन्द्रित हुने पानीलाई एउटै निकासमा नपठाई केही भागलाई वैकल्पिक मार्गबाट डाइभर्ट गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

यसका लागि काठमाडौंं महानगरपालिका, केयुकेएल र त्रिभुवन विश्वविद्यालयलगायत प्राविधिक निकायको सहकार्य आवश्यक हुने उल्लेख गरिएको छ।

त्यस्तै, क्षेत्रका होटल, विद्यालय, सपिङ मल र निजी भवनहरूमा वर्षाको पानी सङ्कलन तथा भूपुनर्भरण प्रणाली लागू गर्न प्रोत्साहन गर्नुपर्ने सुझाव पनि दिइएको छ। यसबाट ढल प्रणालीमा पर्ने पानीको चाप घटाउन सकिने प्रतिवेदनको निष्कर्ष छ।

यस्ता छन् दीर्घकालीन योजनाका सुझाव

दीर्घकालीन रूपमा भने जमलको समस्या समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडले तयार पारेको कोर सिटी क्षेत्रको ढल पुनःस्थापनासम्बन्धी विस्तृत डिजाइन कार्यान्वयन गर्नुपर्ने प्रतिवेदनले सुझाएको छ।

प्रतिवेदक केसीले वर्षाको पानीलाई सिधै ढलमा मिसाउने अभ्यास अन्त्य गरी छुट्टै स्टर्म वाटर ड्रेनेज नेटवर्क निर्माण गर्नुपर्ने देखिएको बताए।

‘वर्षाको पानीलाई पूर्व–उपचारपछि पुनर्भरण वा जलाशयमा भण्डारण गर्ने सम्भावनाबारे पनि अध्ययन गरी कार्यान्वयन गर्नुपर्ने  देखिएको छ’, उनले भने।

काठमाडौंं  उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालले उपत्यकामा दीर्घकालीन ढल व्यवस्थापन र भूजल पुनर्भरणका लागि त्रिचन्द्र बहुमुखी क्याम्पस लगायतका सार्वजनिक क्याम्पस तथा विद्यालयमा पुनर्भरण प्रणाली स्थापना गरिएको बताए।

त्रिचन्द्र बहुमुखी क्याम्पसको छतबाट सङ्कलन गरिएको वर्षाको पानीलाई पुनर्भरण प्रणालीमार्फत रानीपोखरी क्षेत्रमा पठाउने व्यवस्था गरिएको उनको भनाइ छ।

अन्य डुबानग्रस्त क्षेत्रको पनि अध्ययन हुने

काठमाडौंं उपत्यकामा वर्षायाम सुरु भएसँगै दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधान खोज्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माइतीघरपछि जमल क्षेत्रको पनि प्राविधिक अध्ययन सम्पन्न गरेको छ।

प्राधिकरणले आगामी दिनमा उपत्यकाका अन्य डुबान प्रभावित क्षेत्रको पनि क्रमशः अध्ययन गरी समाधानका उपाय कार्यान्वयन गर्ने जनाएको छ। केही दिनअघि माइतीघर क्षेत्रको ढल निकास, नालाको क्षमता, अतिक्रमण तथा वर्षाको पानी व्यवस्थापनसम्बन्धी अध्ययन सम्पन्न गरेको प्राधिकरणले अहिले जमल क्षेत्रमा पनि त्यही प्रकृतिको अध्ययन सकेको हो।

अध्ययन प्रतिवेदनका आधारमा डुबानका कारण पहिचान गरी तत्काल र दीर्घकालीन दुवै उपाय कार्यान्वयन गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले माइतीघरमा देखिएको समस्या समाधानको काम अघि बढिरहेको र त्यसको अनुभवलाई आधार बनाएर जमललगायत अन्य संवेदनशील क्षेत्रमा पनि सुधारका कार्यक्रम सञ्चालन गरिने बताए।

‘हरेक वर्ष मनसुन सुरु हुनासाथ माइतीघर, जमललगायतका मुख्य प्रशासनिक र व्यावसायिक क्षेत्र नै डुबानमा पर्छ। त्यसबाट व्यवसायी, सवारी चालक र सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको छ। अब दीर्घकालीन समाधानका लागि अगाडि बढ्नुपर्छ’, उनले भने।

उप्रेतीका अनुसार जमल क्षेत्रको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा त्यहाँ देखिएका ढल निकासका समस्या, अवरोध तथा पूर्वाधार सुधारका काम अघि बढाइनेछ।

त्यसपछि पानी जम्ने समस्या दोहोरिने उपत्यकाका अन्य स्थानको पनि क्रमिक रूपमा अध्ययन गरिने उनको भनाइ छ।

बढ्दैछ सहरी डुबानको समस्या

काठमाडौं उपत्यकामा खाली जमिन मासिदा जमल, माइतीघर, पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा सामान्य वर्षामै सडक जलमग्न हुने समस्या बढेको बताउनुहुन्छ, भूगर्भविद् डा सुवोध ढकाल।

‘अव्यवस्थित सहरीकरण, खुला जमिनको तीव्र कमी, भूजल पुनर्भरणमा आएको गिरावट र पुरानो ढल प्रणालीका कारण उपत्यकामा सहरी डुबान बर्सेनि जटिल बन्दै गएको छ’, उनले भने, ‘माइतीघर, जमलजस्ता राजधानीको मुख्य केन्द्रमा डुबानको समस्या बढ्नुको कारण नै पानी जमिनभित्र छिर्ने प्राकृतिक बाटो बन्द हुनु हो।’

ढकालका अनुसार विगतमा वर्षाको ठूलो हिस्सा खुला जमिन हुँदै भूगर्भमा सोसिन्थ्यो, जसले भूजल पुनर्भरण पनि हुन्थ्यो तर अहिले सडक, पार्किङ, घर तथा अन्य संरचनामा कङ्क्रिट र कालोपत्र सतह विस्तार भएसँगै पानी सोसिने प्राकृतिक प्रक्रिया लगभग बन्द भएको उनको भनाइ छ।

ढकालले अधिकांश वर्षाको पानी एकैपटक ढल प्रणालीमा पुग्ने र निकासको क्षमता नाघेपछि जमलजस्ता क्षेत्रमा सडक डुबान हुने गरेको बताए।

‘वर्षालाई रोक्न सकिँदैन तर वर्षाको पानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हाम्रो हातमा हुन्छ’, उनले भने, ‘मनसुन सुरु हुनुअघि नै ढल, नाला र खोलाको नियमित सरसफाइ भएको भए जमल र माइतीघरजस्ता स्थानमा देखिने धेरै डुबान न्यूनीकरण गर्न सकिन्थ्यो।’

खाली जग्गा, सार्वजनिक खुला क्षेत्र र घरको आँगनमा वर्षाको पानी जमिनभित्र पठाउने संरचना निर्माण गर्न सके भूजल संरक्षणसँगै सहरी डुबान नियन्त्रणमा पनि महत्त्वपूर्ण योगदान पुग्ने उनले बताए।

उनका अनुसार नयाँ भवन निर्माण गर्दा सबै जमिन कङ्क्रिटले ढाक्नुको सट्टा केही भाग खुला राख्ने, रेनवाटर हार्भेस्टिङ (वर्षाको पानी सङ्कलन) प्रणाली अनिवार्य गर्ने तथा छतबाट बग्ने पानीलाई सिधै ढलमा पठाउने सट्टा जमिनभित्र पुनर्भरण गराउने व्यवस्था गर्न आवश्यक छ।

यदि प्रत्येक घरले थोरैमात्र पानी पनि आफ्नै परिसरमा व्यवस्थापन गर्न थाल्यो भने त्यसको सामूहिक प्रभाव निकै ठूलो हुन्छ’, उनले भने, ‘सहरीकरणको गतिअनुसार ढल विस्तारमात्र समाधान होइन। पानीलाई सकेसम्म घरघरमै रोक्ने, सङ्कलन गर्ने र जमिनभित्र पठाउने व्यवस्था नगरेसम्म जमल र माइतीघरजस्ता डुबानका समस्या दोहोरिइरहन्छन्।’

उनले भविष्यमा नयाँ बस्ती तथा पूर्वाधार विकास गर्दा खुला क्षेत्र संरक्षण, वर्षाको पानी व्यवस्थापन र भूजल पुनर्भरणलाई अनिवार्य मापदण्डका रूपमा समावेश गर्नुपर्नेमा जोड दिए।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस